काठमाडौं महानगरपालिका क्षेत्र भित्रका कुनै पनि सार्वजनिक जग्गामा भवन, मन्दिर वा सामाजिक कामका नाममा भवन निमार्ण गर्न नपाइने भएको छ।
सोमबार काठमाडौं महानगरका मेयर विद्या शुन्दर शाक्यले वडा नम्बर ३ को वडा भवनसँगै जोडिएको साढे ६ आना जग्गा र सो जग्गामा बनेको एकतले भवन, निजी उपयोगबाट सार्वजनिक सम्पत्ति घोषणा गरेका हुन्।
सार्वजनिक जग्गालाई खुल्ला स्थानका रुपमा राखिने शाक्यले प्रतिवद्धता जनाए।
‘टोल या समाजमा हुने सामुहिक हितका काम स्थानीय विद्यालय वा पाटी प्यालेसमा गरे पनि हुन्छ’ उनले भने ‘सहरी सुन्दरता कायम गर्न, हरियाली बचाउन र आपत् विपतमा आश्रय लिन पनि खुल्ला स्थानको संरक्षण गर्न जरुरी छ’।
कार्यक्रमका अवसरमा मेयर शाक्यले सार्वजनिक जग्गामा निर्मित भवन भत्काउने कामको शुरुवात समेत गरेका छन्।
अभियान थालनी हुनु अघि नागरिकको भेलालाई सम्बोधन गर्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत धनिराम शर्माले सहरी जीवन व्यवस्थापन सहजताका लागि थालिएको अभियानलाई सकारात्मक लिन र अभियानमा सहभागी हुन सहरबासीलाई आग्रह गरे।
महानगर क्षेत्रभित्र प्रशस्त सार्वजनिक जग्गा छन्। वडा नम्बर ३ मा मात्र पनि २०० रोपनी भन्दा बढी जग्गा छ। त्यसमध्ये आज व्यक्तिगत उपयोगबाट सार्वजनिक उपयोगमा साढे ६ आना जग्गा फिर्ता भएको हो।
सोमबार फिर्ता भएको जग्गा करीव ७ करोड मूल्य बराबर भएको वडा नम्बर ३ का वडाध्यक्ष दीपक के. सी.ले जानकारी दिए।
‘यससँगै विश्व हिन्दू महासंघले प्रयोग गरेको २२ रोपनी र गायत्री समाजले प्रयोग गरिरहेको ४२ आना जग्गा पनि तत्काल फिर्ता ल्याउँदैछौ’ के.सीले थपे।
चालु आर्थिक बर्षमा वडा नम्बर ३ ले १ अर्व मूल्य बराबरको सार्वजनिक जग्गा फिर्ता गराउने लक्ष्य राखेको छ।