चैतको हावाहुरीले राजधानीका सडक धुलाम्मे भएृका छन्। सडकमा हिंड्ने जो कोहिलाई यसले समस्या पारेको छ। धुलोबाट संबेदनशील अंग आँखालाई बचाउन चस्माको प्रयोग गर्नु अत्यावश्यक भएको छ।
धुलो मात्रै नभई घामको विकीरणबाट पर्न सक्ने असरलाई समेत चस्माले न्यूनीकरण गर्दछ। आँखाको सुरक्षा मात्र नभई चस्माले सुन्दरता बढाउन पनि उत्तिकै भुमिका खेल्छ।
गर्मी तथा धुवाँधुलोबाट आँखालाई जोगाउन कालो चस्माको प्रयोग उपयोगी मानिन्छ। सामान्यतया चस्माले आँखालाई धुलो, धुँवा, किटाणुबाट बचाउन मद्दत गर्छ। त्यसमा पनि कालो चस्माले आँखा बिगार्ने अल्ट्रा भाइलेट विकीरणबाट समेत सुरक्षा दिने चिकित्सक बताउँछन्।
चिकित्सकका अनुसार चस्माको प्रयोग गर्दा आँखामा अल्ट्राभाइलेट रेको प्रभाव कम हुने र मोतिविन्दु तथा ढकनीको झिल्लीमा हुने क्यान्सर समेत घटाउन मद्दत पुग्दछ। बढि घाम हुने भएकै कारण तराईमा मोतिबिन्दु हुनकोे औसत उमेर ४० वर्ष र पहाडमा ५५ वर्ष। आँखा रोग विशेषज्ञ डा. अजितमान श्रेष्ठ जति गर्मी र घाम बढछ उति धेरै कालो चस्मा उपयोगी हुने र प्रयोग गर्नुपर्ने सुझाउँछन्।
त्यस्तै हिउँ, पानीको सतह, घाम लागेको स्थान लगायत बढी चमक आउने स्थानमा चस्माको प्रयोगले हेर्न सहज बनाउनुका साथै अन्य जोखिमपूर्ण क्षेत्रमा काम गर्दा आँखालाई चोटपटक लाग्नबाट समेत जोगाउने गर्छ।
नेपाली बजारमा फरक मूल्यका रेबन, पोलिस, भोउग, ओकले, गुसी जस्ता विश्व बजारका चर्चित ब्राण्डका चस्माहरु किन्न पाइन्छ। तर माथि उल्लेखित ब्राण्ड मध्ये नेपाली माझ रेबन बढी चर्चित छ। जसको ओर्जिनल चस्माको बजार मूल्य ५ हजार देखि २५ हजारसम्म पर्ने गर्दछ।
अन्य ब्राण्डका चस्मा केही आधिकारीक पसलले मात्र सम्बन्धित कम्पनीबाट ल्याउने हुनाले तिनमा उपभोक्ता ठगिने सम्भावना न्युन रहन्छ। तर नेपालमा रेबन लेखेका चस्मा फुटपाथ देखि महँगा पसलहरुसम्म पाइने गर्छ। जसमा नक्कली र सक्कली छुट्याउन नसक्दा ग्राहक ठगिने गरेका छन्।
दरबारमार्ग स्थित ‘अपसन्स’ पसल सञ्चालन गर्दै आएका अनुज शाक्यका अनुसार नेपाली बजारमा चीन तथा इटालीबाट चस्मा भित्रिने गर्छ। जसमा इटालीबाट आयात हुने चस्मा आधिकारिक ब्राण्डको विक्रेता मार्फत सोझै ल्याइएको हुन्छ। चीनबाट आयात हुने चस्मामा ब्राण्डेड नाम राखेर बनाइन्छ र ग्राहक झुक्याउन ‘मेड इन इटाली’ वा ‘मेड इन युएसए’ भनेर बेचिन्छ।
उनले भने, ‘नेपालमा क्रेज बढे पनि ओर्जिनल चिन्न नसक्दा हाल ७० प्रतिशत मानिस चस्मा किन्ने क्रममा ठगिने गरेको पाएको छु, गुणस्तरमा भन्दा मूल्यमा ध्यान दिने तथा जस्तो पायो त्यस्तै पसलमा चस्मा किन्नाले अधिकाशं मानिस ठगिने गरेका छन्।’
विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वका ४० वर्ष भन्दा मुनिका ४० प्रतिशत तथा ४० वर्ष नाघेका सबै मानिसलाई चस्माको आवश्यकता पर्दछ।
कसरी चिन्ने ओर्जिनल चस्मा?व्यवसायीहरुका अनुसार चस्मा किन्नु भन्दाअघि त्यो प्लास्टिक वा पोलाराइज्ड युभी ग्लास के बाट बनेको भन्ने कुरामा चनाखो हुनुपर्र्छ। त्यस्तै किन्न लागेको चस्माको स्टिकर वा लोगो हेर्ने, ‘ग्लास स्टिकर’मा चस्मालाई परीक्षण गर्ने र ‘ब्राण्ड कन्सेप्ट’ तथा ‘जेन्यून’ ठाउँमा किन्ने गर्नुपर्दछ।
चिकित्सक श्रेष्ठका अनुसार घाम बढी लागेको समयमा आँखाको नानीको आकार तथा व्यास सानो हून्छ। यस्तोमा कमसल चस्मा प्रयोग गर्दा आँखामा अँध्यारोपन बढ्न जान्छ र त्यसले नानी वरपरको व्यास ठूलो बनाउँछ। कमसल तथा नबुझी किनेका चस्मा लगाउँदा आँखाको नानी र पर्दासम्म बढी प्रकाश पुग्ने र त्यसले व्यास ठूलो बनाउने तथा सूर्यको किरणलाई फिल्टर गर्न नसक्ने हुन्छ। यसको कारण हानिकारक प्रकाश भित्र छिरेर आँखालाई झन् नराम्रो असर पुर्याउने गर्छ।
कसरी छान्ने आफूलाई सुहाउने चस्मा?चस्माले मानिसको व्यक्तित्वको पहिचानमा पनि महत्वपूर्ण भूमिका खेल्ने गर्छ। चस्माको बनोट र अनुहारको आकार अनुसार चस्मा छान्नु पर्छ।
दृष्टी विशेषज्ञ किशोर सापकोटाका अनुसार व्यक्तिलाई कस्तो फ्रेम भएको चस्मा सुहाउँछ भन्ने कुरा अनुहारको बनोट, छालाको रङ तथा कपालको शैलीमा निर्भर हुने गर्छ। उनको भनाइमा चारपाटे वा गोलो अनुहार भएका व्यक्तिलाई ‘रेक्टेन्गुलर’ तथा लाम्चो अनुहार भएका व्यक्तिलाई बढी चौडा भएको चस्मा प्रयोग गर्दा सुहाउँछ।
उनका अनुसार लाम्चो (ओभल) आकारको अनुहार भएका व्यक्तिलाई भने प्राय सबै खाले फ्रेमको चस्मा सुहाउने गर्छ। त्यस्तै नाक लामो भएका व्यक्तिलाई लेन्सको बीचको भाग अलि छोटो तथा नाकको तल्लो भागमा अडिने खालको र छोटो नाक भएकाहरुलाई नाकको शिरानमै अडिने खालको चस्मा सुहाउने गर्छ।
चस्माको माथिको भाग र प्रयोगकर्ताको आँखीभौं समानान्तर नभएमा चस्माले आखीँभौं नै ढाक्ने खालको हुनुपर्दछ। कपाल खौरिएको वा छोटो भएका व्यक्तिलाई मसिनो वा हलुका फ्रेम आकर्षक हुन्छ भने लामो कपाल भएकाहरुलाई मध्यम स्तरको फ्रेम र ठिक्क कपाल हुनेहरुलाई ठूलो र गाढा फ्रेमको चस्मा प्रयोग गर्दा सुहाउने उनी बताउँछन्।