चावहिलका सन्तोष तिमल्सिना लाइसेन्स रि-न्यु गर्न विहान १० बजे यातायात व्यवस्था कार्यालयमा चावहिल पुगे।
उनी पुगेको केही समयमै आज काम नहुने भन्दै सुचना टाँसियो। तिमल्सिना काम नगरि फर्कनु पर्यो ‘अरु काम छोडेर लाइसेन्स रि-न्यू गर्न आइयो, सरकारी कार्यालयको ताल भने यस्तो छ’, उनले भने।
कार्यालयका अनुसार सर्भरमा आएको समस्याको कारण रि–ट्रायल, नविकरण, नयाँ दर्ता, तथा राजश्व लिने लगायतका सम्पुर्ण सेवा ठप्प भएको हो।
तिमल्सिना प्रतिनिधी पात्र मात्र हुन्। आज यातायात व्यवस्था कार्यालय पुगेका देशका अधिकांशको हालत तिमल्सिनाको जस्तै हो।
विहान २० जना सेवाग्राहीको काम गरेपछी सर्भरमा समस्या आएर काम गर्न नसकिएको सवारीचालक अनुमतिपत्र कार्यालय एकान्तकुनाका शाखा अधिकृत भुपाराज दाहालले जानकारी दिए।
गत विहीवार अनामनगरमा तार चुडिएको र त्योे समस्या तत्काल समाधान गरेपनी आज फेरी त्यही समस्या देखिएको यातायात व्यवस्था विभागका अईटी प्रमुख राजकुमार महर्जनले जानकारी दिए।
‘बन्न धेरै समय पनि लाग्न सक्ने भएकोले सेवा बन्द भएको सुचना टाँस गरिएको हो तर चाडै नै बन्यो’ उनले भने।
विभागले सर्भर बनेको जनाए पनि निकै सुस्त चलेको यातायात कार्यालयका कर्मचारीहरुले बताएका छन्।