काभ्रे पनौती नगरपालिका स्थित कुशादेवी विहावर क्षेत्रमा यहि वैशाख १५, १६ र १७ गते वृहत पर्यटन महोत्सव हुने भएको छ।
यी क्षेत्रले तरकारी, फलफुल एवं दुग्धजन्य पदार्थको उत्पादन गरि नजिकका पनौती बजार, बनेपा, भक्तपुर र काठमाडौमा निरन्तर निर्यात गर्दै आइरहेको छ। पर्यटनको सन्दर्भमा यो क्षेत्र प्रचुर सम्भावना युक्त रहेको र यो महोत्सवले थपप्रचार प्रसार गर्न सहयोग पुर्याउने आयोजकले जनाएको छ।
उक्त कार्यक्रमको पर्यटन मन्त्री रविन्द्रप्रसाद अधिकारी र सूचना तथा सञ्चार राज्यमन्त्रीले उद्घाटन गर्ने कार्यक्रम तय भएको बताइएको छ।
आयोजकले पर्यटक आकर्षण गर्न महोत्सवको पहिलो दिन १५ गते विहान ८ बजे हाइकिङ, दिउँसो १२ बजे प्याराग्लाइडिङ कार्यक्रमको आयोजना गरिएको बताएको छ।
१६ गते विहान ८ बजे हाफ म्याराथन, १७ गते विहान ८ बजे पनौतीका विभिन्न ठाउँ हँदै साइक्लिङ हुने कार्यक्रम रहेको आयोजकले बताएको छ।
महोत्सवमा विविध सांस्कृतिक कार्यक्रम तथा स्थानिय र राष्ट्रिय कलाकारहरुको पनि प्रस्तुती रहने बताइएको छ। स्थानिय कला संस्कृतिको समेत प्रवद्र्धन गर्ने उद्धेश्यले बैशाख १५–१७ सम्म ३ दिने विहावर क्षेत्र पर्यटन महोत्सवको आयोजना गरिएको छ।
महोत्सव करिब १ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा राखिएको आयोजकले जनाएको छ। आयोजकले स्थानिय खैंजडी भजन, झाक्रीनाँच, लोकदोहोरी, कन्सर्टका साथमा विविध मनोरञ्जनात्मक कार्यक्रम, स्थानिय कृषि उपज प्रदर्शनी महोत्सवहरु थप आकर्षण रहको बताएको छ।
उक्त महोत्सवमा स्थानीय सामग्रीहरु, कृषि उत्पादन, स्थानिय जडिबुटि तथा घरेलु उत्पादनका स्टलहरु रहने छन्।
कुशादेवी विहावर क्षेत्र आफैमा पर्यटकिय र कृषिको प्रचुर सम्भावना बोकेको क्षेत्र हो। समुन्द्र सतहबाट करिब २ हजार ७ सय मिटर अग्लो फुलचोकी जैविक विविधता, क्लाउड फरेष्ट, २ सय ८० प्रजातिका पंक्षी अवलोकन, चितुवा, बनेल, मृग, सालक, दुम्सी, बन विरालो, मलसाप्रो, चरिबाघ, काठेभालु लगायतका जंगली जनावरले थप रमणीय बनाएको यो ठाउँमा काठमाडौबाट करिब एक डेढ घण्टामा नै पुग्न सकिने बताइएको छ।