बंगलादेशको राजधानी ढाकाबाट नेपालका लागि दुईवटा बस छुटेका छन्।
बंगलादेशको पत्रिका ‘बंग्लादेश इन्फो’ को अनलाइन सस्करणले जनाएअनुसार सोमबार ढाकाबाट छुटेका यी बस भारतको सिलगुडीहुँदै काठमाडौंसम्म आइपुग्नेछन्।
सन् २०१५ को जुनमा नेपाल, भारत र बंगलादेशबिच मोटर भेहिकल (एमभिए) सम्झौता भएको थियो। तीन राष्ट्रलाई सिधा यातायात सञ्जालमार्फत जोड्ने योजनासहित एमभिए सम्झौता भएको थियो।
यसअघि भुटानलाई समेत प्रत्यक्ष यातायात सञ्जालमा जोड्ने भनिएपनि भुटानले अनिक्षा प्रकट गरेपछि तीन देशबिच सम्झौता हुन लागेको हो।
तीन राष्ट्रबीच नियमित यातायात सेवा सञ्जालमा जोडिँदा यात्रुलाई सहज हुने, पर्यटकको आगमन बढ्ने तथा ढुवानी थप सजिलो हुने अपेक्षा गरिएको छ।
यसै सम्झौता अन्तर्गत दुई बस परिक्षण सवारीका लागि काठमाडौं आउन लागेका हुन्। तीन देशका ८० अधिकारी सवार यी बस शुक्रबार काठमाडौं आइपुग्ने बताइएको छ।
पत्रिकाले आउँदो शनिबार तीनै देशका अधिकारीबीच ‘लेटर अफ एक्सचेन्ज’ (एलओइ)मा हस्ताक्षर हुने बताएको छ।