नेपाल टेलिकमले विभिन्न अस्पताललाई कम्बल उपलब्ध गराउनुका साथै केही सामुदायिक विद्यालयमा आइसिटि सेन्टर स्थापना गरिदिएको छ।
कम्पनीले आफ्ना ६ वटा क्षेत्रीय निर्देशनालय अन्तर्गत कोशी अञ्चल अस्पताल विराटनगर, नारायणी अञ्चल अस्पताल वीरगञ्ज, भक्तपुर क्यान्सर अस्पताल, भेरी अञ्चल अस्पताल नेपालगञ्ज र महाकाली अञ्चल अस्पताल महेन्द्रनगरलाई २५ २५ थान कम्बल उपलब्ध गराएको बताएको छ।
त्यस्तै लुम्बिनी अञ्चल अस्पताल बुटवलमा पनि छिट्टै कम्बल वितरण कार्यक्रम हुने टलिकमले जनाएको छ। यस्तै कम्पनीले उदयपुर जिल्लाको उदयपुर गढी गाउँपालिकाको वडा नम्बर ६ का अग्निपीडित स्थानीय वासिन्दालाई पनि हालै २५ थान कम्बल वितरण गरेको बताएको छ।
नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले हालै एक कार्यक्रमकाबीच भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा.ऋषिकेशनारायण श्रेष्ठलाई कम्पनीको तर्फबाट २५ थान कम्बल हस्तान्तरण गराएका थिए। ती कम्बल अस्पतालका विरामीहरुका लागि उपयोग गरिने बताइएको छ।
त्यसैगरी भूकम्पबाट अति प्रभावित जिल्लाहरुलगायत अन्य ६ वटा जिल्लाका एक एक वटा सामुदायिक विद्यालयमा आइसिटि सेन्टर स्थापना गरिदिने कार्यक्रम अनुसार भूकम्प प्रभावित ११ वटा जिल्लामा कार्य सम्पन्न भइसकेको कम्पनीले बताएको छ।
त्यस्तै लमजुङ, डडेलधुरा, उदयपुर, जुम्ला र रुकुम जिल्लाका एक एक सामुदायिक विद्यालयमा निकट भविष्यमा नै आइसिटि सेन्टर स्थापनाका लागि तयारी अन्तिम चरण पुगेको कम्पनीले बताएको छ।
उक्त सेन्टरका लागि कम्पनीले ५ थान कम्प्युटर, ५ थान ‘वेब क्याम’, ५ थान ‘माइक्रो फोन’सहितको ‘हेडसेट’ र १ थान ‘थ्री इन वान प्रिन्टर’ उपलब्ध गराएको छ।
सो प्रयोजनका लागि १ लाइन ‘वाइम्याक्स डाटा कनेक्सन’, ‘वाइफाई राउटर’ र ‘ओडियू सेट’ समेत उपलब्ध गराउनुको साथै इन्टरनेट चलाउनका लागि दुई वर्षसम्म मासिक रुपमा ३० जीबी डाटा निःशुल्क उपलब्ध गराएको छ।