भूकम्प प्रभावित परिवारको लागि सिड्स इण्डियाले दोलखाको न्यागलमा पाँच वटा पक्की घर हस्तान्तरण गरेको छ । पि.डब्लु.सी. फाउण्डेसनको आर्थिक सहयोगमा उक्त घरहरू निर्माण गरिएको हो । यस क्रममा स्थानीयहरूको सीप विकासका लागि व्यवसायिक कालिगढ तालिम प्रदान गरिएको थियो । घर निर्माणमा उनीहरूको सीपको प्रयोग गरिएको थियो ।
भूकम्प पीडितहरुको पुनःस्थापन कार्यका लागि विभिन्न सरोकारवालाहरुसंग सहकार्य गर्र्दै वित्तीय तथा प्राविधिक सहयोग मार्फत विगत तीन बर्षमा अति प्रभावित क्षेत्रका दश हजारभन्दा बढीको जीवनमा प्रत्यक्ष प्रभाव पार्न सफल भएको पि.डब्लु.सी. इण्डिया फाउण्डेसनका उपाध्यक्ष जयवीर सिंहले बताए ।
त्यस्तै सिड्सका सह संस्थापक एवं कार्यकारी निर्देशक मनु गुप्ताले पि.डब्लु.सी इण्डिया संग आवद्घ भई भूकम्प पीडितहरुका लागि सुरक्षित घर निर्माण गर्न पाएकोमा खुसी व्यक्त गरे ।
पि.डब्लु.सी इण्डिया फाउण्डेसनले २०७२ को भूकम्प पश्चात नेपालमा परोपकारी कार्य गर्दै आएको छ । यस अघि पि.डब्लु.सी इण्डिया फाउण्डेसनको आर्थिक सहयोगमा सिड्स इण्डियाले गोरखा जिल्लामा १०० बढी अस्थायी घरहरु निर्माण गरेको थियो । त्यसैगरी चौधरी फाउण्डेसनको अस्थायी घर निर्माण परियोजनामा पनि पि.डब्लु.सी इण्डिया फाउण्डेसनले प्राविधिक सहयोग प्रदान गरेको थियो ।