हवाई क्षेत्रका समस्या समाधानका लागि सुझाव दिन भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले गठन गरेको समितिले पाँच वर्षसम्म कुनै पनि आन्तरिक विमानस्थल नबनाउन सुझाव दिएको छ।
पर्यटन मन्त्रीमा नियुक्त भए लगत्तै रविन्द्र अधिकारीले नागरिक उड्डय क्षेत्रका विज्ञको समूह बनाएका थिए। उक्त समितिबाट हवाई क्षेत्रमा देखिएका समस्या, तिनको तत्काल, मध्यकाल र दीर्घकालमा गर्न सकिने समाधानका उपाय सुझाउन भन्दै समिति बनाएका थिए।
समितिले सरकारलाई बुझाएको प्रतिवेदनमा तत्काल काठमाडौं विमानस्थलको चाप कम गर्न अन्य विकल्प अपनानुपर्ने तर, बैकल्पिक विमानस्थल बनाउनतिर सरकार लाग्न नहुने सुझाव छ।
पूर्वसचिव विरेन्द्रबहादुर देउजा, क्याप्टेन पिजे शाह सिभिल इन्जिनियर कमल केसी, सुमन श्रेष्ठ र प्रभा वैद्य सम्मिलित समितिले देशभित्र रहेकै विमानस्थल प्रयोगमा नआएको सन्दर्भमा लहडको भरमा विमानस्थल नबनाउन सुझाव दिएको हो।
मुलुकभर हाल ४८ वटा आन्तरिक विमानस्थल छन्। त्यसमा ३२ विमानस्थल मात्र सञ्चालनमा छन् जसमा ४ वटा मात्र नाफामा छन्।
समितिले तत्काल घाटामै भए पनि चलाउनुपर्ने ठाउँका विमानस्थलको लिस्ट बनाएर सहुलियतमा भए पनि चलाउनुपर्ने र त्यसको सूची बनाउनुपर्ने बताएको छ।
अहिलेकै विमानस्थलमा सामान्य सुधार गर्दा पनि काठमाडौंमा रहेको हवाई चापको समस्या कम हुने भएकोले व्यवस्थापनतिर लाग्नुपर्ने समितिको ठहर छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज पार्किङ गर्ने ठाउँ (पार्किङ वे) को अभाव, छोटो ट्याक्सी समानान्तर ट्याक्सी वे कारण चाप बढ्दै गएको छ। त्यस्तै जथाभावी स्लट (उडान तालिका) दिने, सम्भव भएका ठाउँमा रात्रिकालिन उडान नगर्ने जस्ता कारणले पनि चाप बढेको समितिको ठहर छ।
समितिले यस्तो चाप घटाउन तत्काल आन्तरिक विमानस्थल बनाउनुभन्दा व्यवस्थापनतिर लाग्न सरकारलाई सुझाव दिएको हो।
सस्तो लोकप्रियताको लागि मन्त्रीहरूले नयाँ निर्माणतिर लाग्न नहुने समितिका सदस्य देउजाको भनाइ छ।
‘हरेकपटक नयाँ मन्त्री आउँदा नयाँ विमानस्थल बनाउने भन्ने कुरा त्यति उपयुक्त हुँदैन’, प्रतिवेदन सम्बन्धि छलफल कार्यक्रममा बोल्दै देउजाले भने, ‘सस्तो लोकप्रियताको लागि निर्णय गर्न परेन त्यसैले मन्त्रीले लामो समयको हेर्नुपर्छ।’
समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तारोन्नती कार्य छिटोभन्दा छिटो गर्न पनि सुझाव दिएको छ।
उक्त कार्य ३ वर्ष लागे पनि यो बिचमा तराईका सबै विमानस्थलमा रात्रिकालिन उडान गर्ने, अबदेखि व्यस्त समयमा कसैलाई पनि स्लट नदिने, अहिलेको स्लटलाई हेरफेर गर्नुपर्ने सुझाव दिएको छ।
त्यस्तै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई छिटो सञ्चालनमा ल्याएर केही अन्तर्राष्ट्रिय उडान त्यहाँ सार्नुपर्ने र १० वर्षमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाइसक्नुपर्ने सुझाएको छ।
आन्तरिक तर्फ अब आउने नयाँ जहाजलाई काठमाडौं बाहिर बेस (आधार एयरपोर्ट) दिनुपर्ने पनि समितिको सुझाव छ।
पर्यटन मन्त्रालयले काठमाडौंको हवाई चाप कम गर्न भन्दै काभ्रेको नागिडाँडामा आन्तरिक विमानस्थल बनाउने निर्णय गरेको थियो।
आर्थिक वर्ष २०७५/७८ को बजेटमा पनि उक्त आयोजनाको लागि बजेट विनियोजन भइसकेको छ। पर्यटनमन्त्री जसरी भए पनि उक्त स्थानमा विमानस्थल बनाइछाड्ने अडानमा छन्।
अरू जस्तो बनाएर घाटामा नजाने भएकोले नागिडाँडामा विमानस्थल जसरी पनि बनाउने उनको अभिव्यक्ति छ।
६ सयदेखि १२ मिटरको धावनमार्ग भएको विमानस्थल बनाउन सकिने काभ्रेमा निर्णय भएको मितिले पाँच वर्षको समय लाग्ने अनुमान छ।
विमानस्थल बनेपछि काठमाडौंबाट दुर्गम क्षेत्रमा हुने उडानको ३१ प्रतिशतसम्म ट्राफिक व्यवस्थापन गर्न सकिने प्रारम्भिक अनुमान गरिएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८.५ नटिकल माइल दुरीमा रहेको नागिडाँडामा विमानस्थल बनेपछि लुक्ला, फाप्लु, तुम्लिङटार, भोजपुर र जोमसोममा हुने उडानको २० प्रतिशत हिस्सा व्यवस्थापन हुनेछ।
त्यस्तै १५ देखि २० प्रतिशत हेलिकप्टर उडान पनि नागिडाँडाबाटै अपरेट हुन सक्नेछन्।
तर विज्ञ समितले भने त्यहाँ हुने लगानीमा अहिलेकै पूर्वाधारबाट ट्राफिक व्यवस्थापन हुने भएकोले लहडका भरमा निर्णयमा नपुग्न सुझाव दिएको छ।
यो पनि हेर्नुहोस्