नेपाल र जापानबीचका सिधा हवाई उडान हप्तामा १४ वटासम्म गर्न पाइने भएको छ।
२५ वर्ष पुरानो हवाई सम्झौता आज पुनरावलोकन भएसँगै सिधा हवाई उडान थप हुने भएको छ। १९९३ मा पहिलोपटक जापानसँग सम्झौता भएको थियो।
साेमबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्ण देवकोटा नेतृत्वको प्रतिनिधि मण्डलले जापनी अधिकारीसँग छलफल भएकाे थियाे।
छलफलपछि सम्झौतामा हस्ताक्षर भएको नेपाली प्रतिनिधि मण्डलका सदस्य तथा मन्त्रालयका उपसचिव प्रमोद नेपालले जानकारी दिए।
नयाँ व्यवस्थासँगै नेपालका एयरलाइन्सहरुले जापानको हानेदा एयरपोर्ट बाहेकका अरु सबै विमानस्थलमा उडान तथा अवतरण गर्न पाउने उपसचिव नेपालले जानकारी दिए।
यसअघि नेपाली एयरलाइन्सले जापनको ओसाका विमानस्थलमा मात्र यस्तो सुविधा पाउथे। नयाँ सम्झौताअनुसार अवदेखि हप्ताको १४ तथा दैनिक २ उडान नेपालबाट जापानका विभिन्न सहरमा गर्न मिल्ने छ।
सम्झौता नविकरण नहुँदा नेपाल एयरलाइन्सले जापानमा ओसाका बाहेकका विमानस्थलमा उडान अनुमति पाएको थिएन। यही असार १४ गते काठमाडौं आइपुग्ने एयरवस वाइडबडी जहाजबाट जापान तथा युरोपमा उडान गर्ने सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले योजना बनाएको छ।
सम्झौतासँगै नेपाल एयरलाइन्सलाई तत्काल जापानका अन्य विमानस्थलमा उडान प्रक्रिया अगाडि बढाउन बाटो खुल्ला भएको छ।
अवदेखि नेपाली एयरलाइन्सहरुले जापानका विमानस्थलबाट अमेरिका बाहेकका अन्य देशका विमानस्थलमा पनि उडान गर्नसक्ने छन्।
नेपालले लामो समयदेखि जापानका विभिन्न सहरमा उडान गर्न पाउनुपर्ने र त्यसका लागि हप्तामा १४ उडान हुनुपर्ने अडान लिएको थियो।
तर जापान भने हप्तामा ७ सम्म दिनसकिने अडानमा रहँदै आएको थियो।
जापानबाट काठमाडौं प्रत्यक्ष हवाई सम्पर्क छैन। यसअघि नेपाल एयरलाइन्सले चीनको सांघाईबाट ओसाकामा उडान गरेपनि जहाज अभाव कारण बन्द भएको थियो।
जापान तथा युरोपियन पर्यटक नेपाल ल्याउनका लागि पनि हवाई सम्पर्क आवस्यक हुँदै गएपनि सम्झौता नविकरण नहुँदा स्वयम् नेपाल एयरलाइन्सले समस्या भोगिरहेको थियो।
‘यो सम्झौतासँगै जापानले एउटा विमानस्थल बाहेक अन्यत्र हाम्रा एयरलाइन्सलाई उडान अनुमति दिने छ, यसले हाम्रो प्रत्यक्ष हवाई सम्पर्क स्थापित गर्ने छ’ उपसचिव नेपालले सेतोपाटीसँग भने।
अघिल्लो वर्षमात्र २७ हजार जापानीहरुले नेपाल भ्रमण गरेका थिए। यद्यपी प्रत्यक्ष हवाई सम्पर्क नहुँदा जापानबाट नेपाल आउन हवाई भाडा धेरै महंगो भएको गुनासो आउने गरेको छ।
नेपालले हालसम्म ३८ देशसँग हवाई सम्झौता गरेको छ।
सम्भmौता भएपनि कतिपय देशहरुले नेपाली एयरलाइन्सलाई उडान अनुमति दिन आनाकानी गरिरहेका छन्। भारतले हिमालय एयरलाइन्सलाई लामो समयदेखि नयाँ दिल्ली उड्न दिएको छैन। त्यस्तै चीनले नेपाल एयरलाइन्सलाई दिएको छैन।