श्वेतपत्र ल्याएपछि अर्थमन्त्री युवराज खतिवडाले सम्भाव्यता अध्ययन नभएका आयोजनामा बजेट विनियोजन नगर्ने बताएका थिए। विगत वर्ष सम्भाव्यता अध्ययन नभएका आयोजनामा जथभाबी बजेट विनियोजन हुने तर काम नहुने प्रवृत्ति रहेको भन्दै उनले यो सरकारले त्यस्तो नगर्ने घोषणा गरेका थिए।
अर्थमन्त्रीको यस्तो घोषणाविपरित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सम्भाव्यता अध्ययनै नभएको आयोजानाका लागि जग्गा अधिग्रहण गर्न भन्दै २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
पर्यटन मन्त्री आफैंले गठन गरेको विज्ञ समूहले पाँच वर्षभित्र कुनै पनि आन्तरिक विमानस्थल नबनाउन सुझाव दिएको छ। यसको बेवास्ता गर्दै काभ्रेमा आन्तरिक उडान गर्ने वैकल्पिक विमानस्थल बनाउने भन्दै सम्भाव्यता अध्ययन नभएको आयोजनालाई २५ करोड विनियोजन गरिएको हो।
आधिकारिक रुपमा विमानस्थल निर्माण हुने ठाउँ यकिन गर्न नसकेका मन्त्री अधिकारीले नागरिक उड्डयन प्राधिकरणमाथि हस्तक्षेप गर्दै जग्गा अधिग्रहणका लागि बजेट विनियोजन गरेका हुन्।
विमानस्थल बनाउन नागरिक उड्डयन प्राधिकरणले बजेट विनियोजन गर्छ। उसले यो वर्ष काभ्रेमा वैकल्पिक आन्तरिक विमानस्थलको सम्भाव्यता अध्ययन गर्न १ करोड रुपैयाँ बजेट माग गरेको थियो। मन्त्रालयले भने जग्गा अधिग्रहण निम्ति २५ करोड रुपैयाँ विनियोजन गरेको छ।
विमानस्थल निर्माण, सञ्चालन र नियमन गर्ने प्राधिकरणले यो वर्ष गर्न सकिने कामका आधारमा बजेट विनियोजन गरे पनि राजनीतिक तहबाट छुट्टै दबाब आएको एक अधिकारीले जानकारी दिए।
कुनै पनि आयोजनामा सम्भाव्यता अध्ययन भएर सबै कोणबाट बन्ने निश्चित भएपछि मात्र जग्गा अधिग्रहण तथा निर्माणको काम सुरु हुन्छ।
मन्त्रालयका सहसचिव तथा प्रवक्ता घनश्याम उपाध्याय भने सरकारको प्राथमिकतामा परेको आयोजनामा यही वर्ष सम्भाव्यता अध्ययन सकिने विश्वासका साथ बजेट विनियोजन भएको बताउँछन्।
‘यही वर्ष सम्भाव्यता अध्ययन सकेर अरु कामका लागि रकम अभाव नहोस् भनी बजेट विनियोजन गरिएको हो,’ उनले सेतोपाटीसँग भने, ‘सम्भाव्यता अध्ययन नभई जग्गा अधिग्रहण हुँदैन।’
उनले यसो भने पनि आयोजनाको अध्ययन सकिन कम्तिमा २/३ वटा मौसमी अवस्थाको जानकारी लिनुपर्छ। यसअघि मन्त्री अधिकारीले नै बनाएको समितिले सबै मौसमी जानकारी लिएपछि मात्र यकिनका साथ भन्न सकिने बताएको थियो।
सम्भाव्यता अध्ययन नभई बजेट विनियोजन गर्न खोजिए पनि अर्थ मन्त्रालयले सहमति दिएपछि मात्र लागू हुन्छ। मन्त्री अधिकारीले भने छिटो विमानस्थल बनाउने नाममा बजेट विनियोजन गर्न लगाएको मन्त्रालय स्रोतको दाबी छ।
‘प्रणाली, व्यवस्था तथा नीतिका आधारमा बजेट विनियोजन गर्दा पहिले सम्भाव्यता अध्ययन भएपछि मात्र हुने हो,’ मन्त्रालय सम्बद्ध स्रोतले भन्यो, ‘तर यो राजनीति हो, प्रणाली र राजनीतिको फरक यही हो।’
मन्त्री अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हवाई चाप कम गर्न भन्दै काभ्रेको नागिडाँडामा विमानस्थल बनाउने घोषणा गरिसकेका छन्।
पर्यटन मन्त्रीमा नियुक्त भएलगत्तै अधिकारीले नागरिक उड्डयन क्षेत्रका विज्ञको समूह बनाएका थिए। उक्त समितिबाट हवाई क्षेत्रमा देखिएका समस्या, तिनको तत्काल, मध्यकाल र दीर्घकालमा गर्न सकिने समाधानका उपाय सुझाउन भन्दै समिति बनाएका थिए।
समितिले सरकारलाई बुझाएको प्रतिवेदनमा तत्काल काठमाडौं विमानस्थलको चाप कम गर्न अन्य विकल्प अपनाउनुपर्ने, तर वैकल्पिक विमानस्थल बनाउनतिर सरकार लाग्न नहुने सुझाव दिएको थियो।
पूर्वसचिव वीरेन्द्रबहादुर देउजा, क्याप्टेन पिजे शाह, सिभिल इन्जिनियर कमल केसी, सुमन श्रेष्ठ र प्रभा वैद्य सम्मिलित समितिले देशभित्र रहेकै विमानस्थल प्रयोगमा नआएको सन्दर्भमा लहडको भरमा विमानस्थल नबनाउन सुझाव दिएको छ।