कालिकोटको तिलागुफा नगरपालिका–११ कामखेतकी कलशा शाहीका ५ सयभन्दा बढी स्याउका बिरुवा छन्। मौसमले साथ दिँदा एक सिजनमा उनको बगैंचामा कम्तिमा २ सय क्विन्टल स्याउ फल्छन्।
उनको गाउँबाट सडकसम्म पुग्न करिब ३ किलोमिटर ओरालो झरेर खोला तर्नुपर्छ । तर पछिल्लो समय सोही गाउँबाट सडक भएको ठाउँ गाल्जेसम्म सामान ढुवानी गर्नका लागि ‘ग्राविटी रोप–वे’ निर्माण भएको छ।
स्याउ बजारसम्म पुर्याउनका लागि यातायात पुग्ने ठाउँ गाल्जेसम्म पुर्याउन पहिले प्रति किलो १२ रुपैयाँ ढुवानी खर्च तिर्ने गरेकी किसान कलशाले अहिले ३ रुपैयाँ मात्र तिर्नुपर्छ।
तिलागुफा नगरपालिकामा पर्ने गाल्जे र कामखेत जोड्ने ‘ग्राभिटी रोप–वे’ निर्माण भएपछि स्थानीयलाई सामान ढुवानी गर्न सहज हुने गरेको छ। रोप–वे बनेपछि बोकेर सामान ढुवानी गर्नुपर्ने बाध्यता अन्त्यसँगै ढुवानी खर्चमा निकै सस्तो पर्ने गरेको छ ।
पहिले स्याउ ढुवानी गर्दा मानिसले बोकेर गाडी आउने ठाउँसम्म पुर्याउनुपर्ने र त्यसबापत १२ रुपैयाँ ढुवानी खर्च तिर्नुपर्ने कलशाले बताइन् ।
‘हामी स्याउबाटै सबै खर्च धान्ने परिवार हौं, त्यसलाई जसरी पनि बजारसम्म पुर्याउनैपर्छ,’ उनले भनिन्, ‘डोरीबाट ल्याउने, लिने बताएपछि स्याउ ढुवानी गर्न पहिले जस्तो समस्या अहिले छैन।’
उक्त रोप–वे बनेपछि कामखेतबाट ४ घण्टामा गाल्जे आइपुग्ने स्याउ तथा अन्य सामान रोप–वेमार्फत् १ मिनेट २५ सेकेण्डमा आइपुग्छ। १ हजार ६ सय मिटर लम्बाई रहेको रोप–वेमार्फत् एक पटकमा ३ क्विन्टलसम्म सामान ढुवानी गर्न सकिन्छ।
आफ्नो बारीमा आलु तथा स्याउ खेती गरिरहेका कामखेतकै श्रीबहादुर शाहीले रोप–वे निर्माण भएपछि निकै सहज भएको बताए।
‘पहिले एकातिर भारी बोकेर हिँड्न गाह्रो, एकातिर महँगो तिनुपर्ने,’ उनले भने, ‘अब यो तारबाट सस्तोमा सजिलै सामान ल्याउन र लिन सकिएको छ।’ पहिले बाटोमा खसेर सामान बिग्रने समस्या पनि रोप–वेले समाधान गरिदिएको शाहीले बताए।
कामखेत–गाल्जे ‘ग्राविटी रोप–वे’ निर्माण भएपछि तिलागुफा नगरपालिकाका ६, ९, १० र ११ का बासिन्दाहरू २ हजार ५ सयभन्दा बढी घरधुरी लाभान्वित बनेका छन्।
उक्त क्षेत्रमा पर्ने लामखेत, रुडु, तल्लो रुडु, रोकायवाडा, जुविथालगायतका स्थानीयले रोप–वे प्रयोग गर्दै आएका छन्।
रोप–वेमार्फत् स्याउ, आलु, सिमी, चामललगायतका खाद्य सामग्रीसँगै दाउरा, काठलगायतका सामान समेत ओसार्ने गरिएको स्थानीय बसन्ती शाहीले बताइन् ।
३५ लाख रुपैयाँ लागतमा निर्माण भएको ‘रोप–वे’का लागि उच्च मूल्य कृषि वस्तु विकास आयोजनाले ३१ लाख रुपैयाँ सहयोग गरेको छ भने कृषि विभागबाट २ लाख र ३ लाख बराबरको स्थानीयले श्रमदान गरेका छन् ।
६ महिना अघिदेखि सुरू भएको उक्त रोप–वेमा २ जनाले प्रत्यक्ष रोजगारी समेत पाएका छन् ।