राजधानीको भृकुटीमण्डपमा जारी १२ औं इक्यान शैक्षिक मेलामा विद्यार्थी अविभावकको चहलपहल बाक्लो देखिएको छ।
विभिन्न देशमा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई एउटै छानामुनि परामर्श दिने उद्देश्यका साथ मेला सुरु गरिएको नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले जनाएको छ। आइतवारसम्म चल्ने मेलाको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले बिहीबार उद्घाटन गरेका थिए।
नेपाललाई शैक्षिक हवको रुपमा विकास गर्ने सरकारको लक्ष्यलाई साथ दिने इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले प्रतिवद्धता जनाए। मेलाले उच्च शिक्षा हासिलका लागि विदेश जाने नेपाली विद्यार्थीहरुलाई पर्याप्त जानकारी दिने पाण्डेले दावी गरे।
मेलामा भारत, चीन, अमेरिका, जापान, अष्ट्रेलिया लगायत देशका विश्वविद्यालयहरु सहभागी छन्। यस मेलाले विद्यार्थीहरुलाई विभिन्न परामर्शदाताको कार्यालय धाउनुपर्ने वाध्यता हटाएको इक्यानको कोषाध्यक्ष गोबिन्द अधिकारीले दावी गरे।
‘मेलामा विद्यार्थीले एउटै छानामुनि विभिन्न देशका विश्व विद्यालयका प्रतिनिधीबाट परामर्श पाउनुको साथै भिषा प्रोसेसको जानकारी बिना झण्झट पाइरहेका छन्’ अधिकारीले भने।
मेलामा ३०० भन्दा धेरै स्टलमा इक्यानको १२८ सदस्य संस्थाको उपस्थिती रहेको अधिकारीले जानकारी दिए। मेला बिहान १० देखि बेलुका ५ बजेसम्म चल्नेछ। १ लाखले मेलाको अवलोकन गर्ने आयोजकको अनुमान छ।