जिल्ला वन कार्यालय सुर्खेतले संघीय संरचना अनुसार आफ्नो नयाँ खाका तयार पारेको छ।
संघीय संरचना अनुसार वन संगठनको खाका तयार पार्न वन विभागले गरेको परिपत्र अनुसार जिल्ला वन कार्यालय सुर्खेतले जिल्लाभर काम गर्न कार्यालय रहनेगरी खाका तयार पारेको हो।
कार्यालयले तयार पारेको खाका अनुसार सुर्खेतमा दुईवटा डिभिजन वन कार्यालय रहने छन् भने त्यस मातहतमा १२ वटा सव डिभिजन वन कार्यालय रहने छन्।
डिभिजन वन कार्यालयहरुमा वीरेन्द्रनगर नगरापलिका ७ मा ‘सुर्खेत वन डिभिजन कार्यालय’ रहने छ भने पञ्चपुरी नगरपालिका ६ बावियाचौरमा ‘भेरी वन डिभिजन कार्यालय’ रहने छ। संघीय संरचना अनुसार नेपालका सातवटा जिल्लाहरुमा दुई÷दुई वन डिभिजन कार्यलय रहने भएका छन्। तीमध्ये सुर्खेत एक हो।
नयाँ खाका अनुसार एक वन डिभिजन कार्यालयअन्तर्गत ६ वटा सव डिभिजन कार्यालय रहनेछन्। सुर्खेत वन डिभिजन कार्यालयअन्तर्गत वीरेन्द्रनगर–७ मा वीरेन्द्रनगर सव डिभिजन वन कार्यालय, लेकवेशी नगरपालिका–४ मा दशरथपुर सव डिभिजन वन कार्यालय, भेरीगंगा नगरपालिका–१२ मा छिन्चु सव डिभिजन वन कार्यालय, गुर्भाकोट नगरपालिका–८ मा गुर्भाकोट सव डिभिजन वन कार्यालय, सिम्ता गाउँपालिका–६ मा सिम्ता सव डिभिजन वन कार्यालय र चिङ्गाड गाउँपालिका–५ मा चिङ्गाड सव वन डिभिजन कार्यालय रहने छन्।
यसैगरि, भेरी वन डिभिजन कार्यालयअन्तर्गत बराहताल गाउँपालिका–१० मा लेखगाउँ सव डिभिजन वन कार्यालय, वडा नं. २ मा बराहताल सव डिभिजन वन कार्यालय, वडा नं. ५ मा बड्डीचौर सव डिभिजन वन कार्यालय रहने छन्। उक्त सव डिभिजन वन कार्यालयहरुमध्ये ‘लेखगाउँ’को बराहताल गाउँपालिका वडा नं. ८ देखि १०, ‘बराहताल’को बराहताल गाउँपालिका वडा नं. १ देखि ४ र ‘बड्डीचौर’को बराहताल गाउँपालिका वडा नं. ५ देखि ७ सहित पञ्चपुरी नगरपालिकाको १ र २ मा कार्य क्षेत्र रहने छन् ।
सोही वन डिभिजन कार्यालयअन्तर्गत पञ्चपुरी नगरपालिका–६ मा बावियाचौर सव डिभिजन वन कार्यालय रहने छ। जसको कार्यक्षेत्र पञ्चपुरी वडा नं. ३ देखि ११ सम्म रहने छ। यस्तै, चौकुने गाउँपालिका–७ मा चौकुने सव डिभिजन वन कार्यालय रहने छ। त्यसको कार्य क्षेत्र चौकुने गाउँपालिकाको वडा नं. ५ देखि १० सम्म रहने छ। सोही वन डिभिजन कार्यालयअन्तर्गत रहने चौकुने गाउँपालिका–४ को वेतान कर्णाली सव डिभिजन वन कार्यालयको कार्य क्षेत्र चौकुने गाउँपालिकाको १ देखि ४ वडासम्म रहने छ।
सुर्खेत वन डिभिजन कार्यालयअन्तर्गत रहने सव डिभिजन वन कार्यालयहरुको कार्य क्षेत्र भने आफू रहेको स्थानीय तहको पूरै वडा रहनेछन्।
नयाँ खाका अनुसार रहने कार्यालयहरु सबैको लागि आफ्नै भवनहरु नरहेको जिल्ला वन कार्यालय सुर्खेतका अधिकृत हेमराज विष्टले बताए।
उनका अनुसार डिभिजन वन कार्यालयमध्ये वीरेन्द्रनगरमा रहने सुर्खेत वन डिभिजनको आफ्नै भवन छ भने पञ्चपुरीमा रहने भेरी वन डिभिजन भाडामा बस्ने छ।
यस्तै, सव डिभिजन वन कार्यालयहरुमध्ये गुर्भाकोट नगरपालिकामा रहने गुर्भाकोट सव डिभिजन वन कार्यालय, भेरीगंगा नगरपालिकामा रहने छिन्चु सव डिभिजन वन कार्यालय, लेकवेशी नगरपालिकामा रहने दशरथपुर सव डिभिजन वन कार्यालय, बराहताल गाउँपालिकामा रहने बड्डीचौर सव डिभिजन वन कार्यालय र वीरेन्द्रनगरमा रहने वीरेन्द्रनगर सव डिभिजन वन कार्यालयका आफ्नै भवनहरु छन्। बाँकी सातवटा सव डिभिजन कार्यालयहरु भाडामा सञ्चालन गरिने जिल्ला वन अधिकृत विष्टले जानकारी दिए।
तयार पारिएको यो खाका नै अन्तिम बनेर आउने विष्टले बताए। ‘हामीले संघीय संरचना अनुसार सुर्खेतका लागि खाका तयार पारेर विभागमा पठाएका छौँ’ उनले भने, ‘अब यही संरचना अन्तिम भएर आउँछ।’
अधिकृत विष्टका अनुसार डिभिजन वन कार्यालयहरु उप–सचिवको नेतृत्वमा रहने छन् भने सव डिभिजन कार्यालयहरु सहायक वन अधिकृतको नेतृत्वमा सञ्चालन हुने छन्। सुर्खेतमा सव डिभिजनको नेतृत्वका लागि आधा कर्मचारी अपुग रहेको विष्टले बताए।
संघीय संरचनाअनुसार आवश्यक पर्ने अन्य कर्मचारीहरुको संख्या भने कार्यालयको नयाँ संरचना कार्यान्वयनपछि मात्र टुंगो लाग्ने जिल्ला वन अधिकृत विष्टले बताए।