सरकारी कर्मचारीको तलबबाट अब पेन्सनका लागि ६ प्रतिशत रकम काटिने भएको छ। साउन १ गतेपछि नियुक्त हुने सेना, प्रहरी, शिक्षक तथा निजामति कर्मचारीहरुमा यो व्यवस्था लागू हुने अर्थ मन्त्रालय स्रोतले जनाएको छ।
चालु आर्थिक वर्षदेखि योगदानमा आधारित निवृत्तिभरण लागू गर्ने तयारी गरिरहेको सरकारले कर्मचारीबाट ६ प्रतिशत योगदान हुनेगरी रकम कटौती गर्ने भएको हो।
साउन १ अघि नियुक्त भएका कर्मचारीको तलबबाट भने पेन्सनका लागि कुनै रकम कटौती हुने छैन।
यसअघि १० प्रतिशत रकम कटौती गरी त्यति नै रकम सरकारले जम्मा गरिदिने प्रस्ताव अर्थले गरे पनि यसलाई मन्त्रिपरिषद बैठकले संशोधन गरी स्वीकृत गरेको हो।
‘मन्त्रिपरिषद बैठकबाट यो स्वीकृत भइसकेकाले अब छिट्टै विधेयकका रुपमा संसदमा प्रस्तुत हुन्छ’ स्रोतले भन्यो ‘संसदबाट पास भएपछि लागू हुनेछ। ।’
यो व्यवस्था लागू भएपछि कर्मचारीबाट कटौती भएको ६ प्रतिशत रकम बराबर नै सरकारले थपेर कोष बनाउने छ। सोही कोषबाट कर्मचारीलाई पेन्सनको व्यवस्था हुनेछ।
सो कोषमा जम्मा भएको रकम विभिन्न क्षेत्रमा लगानी समेत गर्न सकिने भएकाले यसबाट आर्थिक विकासमा समेत टेवा पुग्ने सरकारको विश्वास छ।
हालसम्म सरकारले नै पेन्सनको सम्पूर्ण रकम व्यवस्था गर्दै आएको थियो। जुन व्यवस्थाले आर्थिक भार थेग्नै नसक्ने अवस्था आउन थालेपछि योगदानमा आधारित निवृत्तिभरण व्यवस्था लागू गर्ने तयारी भएको हो।
यसअघि बजेट वक्तव्यमार्फत सरकारले योगदानमा आधारित निवृत्तिभरण व्यवस्था लागू गर्ने घोषणा गरेको थियो। वर्षेनि पेन्सनका लागि जाने रकममा ठूलो बृद्धि हुँदै गएपछि सरकारले नयाँ व्यवस्था गर्ने भएको हो।
गत आर्थिक वर्षमा पेन्सनका लागि ४० अर्ब १४ करोड रुपैयाँ खर्च भएको छ। साढे २ लाख कर्मचारीले सो रकम बुझेका छन्। अघिल्लो वर्षमा ३७ अर्ब ९ करोड रुपैयाँ खर्च भएको थियो।