भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको आधाभन्दा बढी सुरुङ खनिएको छ।
आयोजनाको जम्मा १२ किलोमिटर सुरुङमध्ये हालसम्म ६ हजार ५४० मिटर सुरुङ खनिसकिएको छ।
सुरुङ निर्माणका लागि नेपालमै पहिलो पटक प्रयोग गरिएको टनेल बोरिङ मेसिन (टिबीएम)ले दैनिक कम्तिमा ३० मिटर सुरुङ खनिरहेको छ।
हालसम्म खनिएको सुरुङमध्ये १५० मिटर भने मानिसले खनेका थिए । टनेल बोरिङ मेसिनभित्र लिनका लागि उक्त दूरी आवश्यक पर्ने भएकाले मानिसले १५० मिटर सुरुङ खनेका हुन्।
२०१७ नोभेम्बर ६ बाट सुरू गरिएको सुरुङ निर्माण कार्य ९ महिनाको अवधिमा आधा खनिएको छ।
सुरुङ निर्माण कार्य २०२० मार्च २८ सम्म सक्ने गरि सम्झौता भएको छ। यही गतिमा सुरुङ खन्ने कार्य भैरहेमा र बीचमा कुनै अवरोध नभएमा सम्झौता मितिभन्दा अगावै काम सकिने भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाका सिनियर डिभिजनल इन्जिनियर रुक्मांगत खनालले बताए।
सुरुङ निर्माणका क्रममा बीचमा पर्ने ‘तोली खोला’लाई जोखिमयुक्त मानिएको थियो। उक्त खोलादेखि सुरुङसम्मको दूरी (गहिराई) २१० मिटर मात्र भएकाले त्यहाँबाट पानी बग्ने र लेदो खालको माटो भएमा आयोजना असफल हुने अनुमान गरिएको थियो। तर, टिबिएमले उक्त भाग पार गरेसँगै अनुमान गरिएजस्तो जोखिम नभएकाले अब सुरुङ निर्माण कार्य लगातार तीव्ररूपमा अघि बढ्ने उनले बताए।
‘जोखिमयुक्त क्षेत्र पार गरेर मेसिन अगाडि बढिसकेको छ ,’ आयोजनाका सिनियर डिभिजनल इन्जिनियर खनालले भने, ‘अब सुरुङ निर्माणको काम सम्झौता मितिभन्दा अगाडि नै सकिन्छ।’
बबई नदी नजिकको हात्तीखालदेखि भेरी नदीको चिप्लेसम्मको १२ किलोमिटर सुरुङमार्फत् भेरी नदीको पानी बबईमा खसालेर बाँके र बर्दिया जिल्लाका ५१ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्याउने आयोजनाको लक्ष्य छ। यस्तै, उक्त पानीबाट ४८ मेगावाट विद्युत उत्पादन गरिने छ।
भेरीको पानी बबईमा खसाल्न चुरे पर्वतभित्र १२ किलोमिटर सुरुङ खन्ने काम जारी छ।
आयोजना निर्माणका लागि चीनको ‘चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप लिमिटेड (कोभेक)’सँग सन् २०१५ को जुलाई ४ मा सम्झौत भएको थियो। हालसम्म सुरुङ निर्माणको काम ५३ प्रतिशत सम्पन्न भएको खनालले बताए।
तोलीखोला आसपासको क्षेत्र सुरुङ क्षेत्रको सबैभन्दा जोखिमपूर्ण भूगोल मानिएकाले त्यस आसपासको एक किलोमिटर सुरुङ खन्न करिब ३ महिना लागेको थियो। मेसिनले दैनिक सरदर ३३ मिटर खन्ने भए पनि उक्त भाग अध्ययनका लागि दैनिक १०/११ मिटर मात्र खन्ने गरिएको थियो।
अमेरिकी कम्पनी रोबिन्सले निर्माण गरेको टिबिएम चीनबाट ल्याइएको हो। टिबिएम सञ्चालनका लागि ९० जना चिनियाँ प्राविधिक र झण्डै ५ सय नेपाली कामदार खटिएका छन् । सुरुङको चौडाइ ५.६ मिटर रहेको छ।
१२ किलोमिटर सुरुङ निर्माणका लागि ३४ हजार सेग्मेन्ट आवश्यक पर्छ। टिबिएमले सुरुङ खन्दा जम्मा भएको माटोलाई बाहिर ल्याउन तठा सेग्मेन्ट भित्र लिन ‘मोनो रेल’को प्रयोग गरिएको छ।
आयोजना सफल हुने देखिएसँगै विद्युत गृह र भेरीमा हेड निर्माणका लागि ठेक्का प्रक्रिया सुरू भएको इन्जिनियर खनालले जानकारी दिए।