रुपन्देहीको कञ्चन गाउँपालिका रुद्रपुरका सुविन सुनारले मानव जस्तै बोल्ने रोबोट बनाएका छन्। कक्षा १० सम्म मात्र अध्ययन गरेका १९ वर्षीय सुविनले एकवर्ष लगाएर बनाएको रोबोटले हात चलाउने, बोल्ने र केही मिटर परसम्म हिँड्न सक्छ।
यसअघि बुटवलका दुई जुम्ल्याहा दाजुभाई लबकुसले रोबोट तयार गरी सार्वजनिक गरेका थिए।
रुपन्देहीको कञ्चन गाउँपालिका वडा नं. ३ का सुविनले बनाएको रोबोट यान्त्रिक मानव जस्तै छ।
यो रोबर्टमा महँगा उपकरण नभइ काम नलाग्ने भनी फालिएका कवाडका सामान र काठका टुक्रा प्रयोग गरिएको छ।
सुविन आर्थिक अभावका कारण कक्षा १० सम्म मात्र अध्ययन गर्न पाए। प्रविधिमा ज्ञान भएको र त्यही ज्ञानलाई प्रयोग गर्दै उच्च शिक्षा पढ्ने आफ्नो चाहनालाई मनभित्रै पोको पारेर उनी रोजगारको लागि भारत गए।
‘०७२ सालमा एसइई गरें तर उच्च शिक्षा पढ्न पैसा भएन,’ सुविनले भने,‘दाजुहरूसँग भारत गएर दुई वर्ष उतै बसें, भारत बस्दा पनि नेपाल फर्किएर रोबोट बनाउँछु भन्ने कुरा मनमा खेलिरहन्थ्यो, फर्केर आएर यो रोबोट बनाएँ।’
रोजगारको क्रममा दुई वर्ष भारत बसेका उनलाई मनभित्रै रहेको आफ्नो सीप र ज्ञानलाई सबैका सामू ल्याउने चाहनाले रोबोट बनाउन प्रेरित गर्यो। घर फर्किएपछि सुविन रोबोट बनाउन लागे।
हातहरूमा मोटर प्रयोग गरिएको यस रोबोट तयार गर्दा सुविनले ४० हजार रुपैयाँ खर्च गरेका छन्। हातखुट्टा चलाउने, आवाज निकाल्ने रोबोटलाई संघसंस्था कसैको सहयोग पाए काम गर्न सक्ने बनाउने उनको इच्छा छ।
कसैको सहयोग पाए इन्जिनियरिङ पढेर प्रविधि विकासमै केही गर्न सक्ने इच्छा भएका सुविनले यसअघि एक मिटर माथिसम्म उड्न सक्ने हेलिकप्टर बनाएका थिए।
‘हेलिकप्टर बनाएर पनि परीक्षण गरेर उडाए, माथिसम्म उड्न नसकेपछि त्यसलाई बीचमै छोडेर रोबोट बनाउन लागेँ’ उनले भने।
७ जना दिदीबहिनी, ४ जना दाजुभाइ र बुवा आमा गरी सुविनको १३ जनाको परिवार छ। उनी परिवारका साइला सदस्य हुन्। दाजुहरूबाट सहयोग नपाए पनि बुवा भने छोराको यो आविष्कारबाट सन्तुष्ट छन्।
‘पढाउनलाई पैसा भएन, भारत जान्छु भन्यो हुन्छ जा भने, अलिअलि पैसा पनि कमाएछ, दाजुलाई दिने गर्दो रहेछ। दाजुले घर पैसा पठाउँदा मेरो तलब भन्ने तर भाइको पठाउँदो रहेछ, यसको पैसा सबै दाइले खाइदिएछ’, बुवा हरिलाल सुनारले भने।
सानो उमेरदेखि नै पढ्न त्यति ध्यान नदिए पनि सुविन विभिन्न आकृति बनाउन धेरै ध्यान दिने गरेको बुवा हरिलाल बताउँछन्।
सुविनले रोबोटसँगै मोटरसाइकल समेत बनाएका छन्। साइकलमा मोटरसाइकलको इन्जिन प्रयोग गरी बनाइएको उनको मोटरसाइकल अहिले त्यहीँ बजारमा दौडिन्छ।
‘साइकलमा मोटरसाइकलका केही इन्जिनहरू प्रयोग गरेर बाइक बनाएको हुँ’, उनले भने,‘यो बाइक बनाउँदा ६ महिना लाग्यो।’
इन्जिनियरिङ ज्ञान नभए पनि सुविनको क्षमता देखेर गाउँपालिकाले पनि सहयोग गर्ने प्रतिवद्धता जनाएको छ।
‘गाउँपालिका भित्र यस्तो प्रतिभा रहेछ भन्ने थाहा भएन, पछि वडा अध्यक्षमार्फत् कुरा आउँदा हामीले उनलाई अनुदान स्वरुप ४० हजार दियौं’, कञ्चन गाउँपालिकाका अध्यक्ष गोकर्ण क्षेत्रीले भने।