भैरहवा विमानस्थल संचालनको जिम्मा नागरिक उड्डयन प्राधिकरण(क्यान) लाई नै दिने तयारी सुरु भएको छ। राष्ट्रिय योजना आयोग, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले क्यानले विमानस्थल संचालन गर्न सक्नेमा प्रश्न उठाइरहेको सन्दर्भमा उसलाई नै दिने तयारी सुरु भएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल राम्रोसँग चलाउन नसकेको, एकमात्र एकाधिकार रहेको विमानस्थलको व्यवस्थापन र बजारीकरण राम्राेसँग गर्न नसकेको भन्दै राष्ट्रिय योजना आयोगले क्यानको क्षमतामाथि प्रश्न उठाएको थियो।
संचालन मोडालिटीमाथि राय दिँदै आयोगले यदि अहिले त्रिभुवन विमानस्थलमा देखिएका कमजोरी र अभाव पूरा गर्न क्यान सक्षम भए आफैंले चलाउन विकल्पसहितको सुझाव दिएको आयोगले अहिलेकै अवस्थामा कुनै अनुभवी विदेशी कम्पनीसहितको निजी क्षेत्रलाई संचालनमा सहभागी गराउनुपर्ने सुझाव दिएको थियो।
क्यान संचालन बोर्ड उच्च स्रोतका अनुसार संचालन मोडालिटीमा ठोस प्रस्ताव नल्याएर अल्झाएर अन्तिममा गएर क्यान आफैंले विमानस्थल चलाउने खेलमा लागेको छ।
‘अहिलेसम्म धेरैको निष्कर्ष क्यानले भैरहवा विमानस्थल चलाउन सक्दैन भन्ने रहेको छ तर क्यानका उच्च अधिकारीहरु आफैं विमानस्थल चलाउनेगरी लागिपरेका छन्’ स्रोतले सेतोपाटीसँग भन्यो।
तर मन्त्रालयका अधिकारीहरु भने विमानस्थल संचालनमा निजी क्षेत्रको सहभागिता ढिलो चाँडो हुने बताउछन्। तत्काल मोडालिटी तय नभएकोले क्यान आफैंलेमात्र चलाउनुपरे पनि भविष्यमा गएर निजी क्षेत्रलाई सहभागी गराउनुको विकल्प नभएको बताउँछन् मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने।
‘विमानस्थल संचालनमा बहुमति हिस्सा त राज्यकै निकायको हुन्छ, तर त्यसको व्यवस्थापन र संचालनमा निजी क्षेत्रको पनि सहभागिता हुनुपर्छ भन्नेमा कसैको विमती छैन ढिलो चाँडाको कुरामात्र हो त्यो समिकरण पूरा हुन्छ’ लामिछानेले भने।
तर तत्काल निजी क्षेत्रको सहभागिता हुनेमा उनकै आशंका छ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पटकपटक निजी क्षेत्रलाई सहभागी गराइने सार्वजनिक अभिव्यक्ति दिएका छन्। तर उनले त्यसको विस्तृत मोडालिटीको बारेमा छलफलमात्र भइरहेको बताए।
‘अहिले त्यसको मोडालिटीमो छलफलमा छौं हामी, यसमा छिटोभन्दा छिटो निष्कर्षमा पुगेर चुस्त, दुरुस्त व्यवस्थापन हुनेगरी तय गर्छौं’ अधिकारीले सेतोपाटीसँग भने।
२०७६ को साउनदेखि व्यावसायिक उडान गर्नेगरी भौतिक संरचना तयार हुने विमानस्थलमा व्यवस्थापनका अन्य धेरै तयारी रोकिएका छन्। विशेषगरी कसले चलाउने? कसरी चलाउने भन्ने बारे निर्णय हुननसक्दा कतिपय तयारी रोकिएका छन्।
मोडालिटी तय भएपछि जनशक्ति व्यवस्थापनदेखि बजारीकराणकका काम अहिले अघि बढ्न सकेका छैनन्।
विमानस्थलका सबै भौतिक काम २०७६ को जेठसम्म सकिने भएकोले तत्काल व्यवस्थापनको काम सुरु गर्नुपर्ने आयोजना प्रमुख ओम शर्माको भनाइ छ।
‘सबै भौतिक संरचना सन् २०१९ को जुनसम्म सकिन्छन् तर अब अरु व्यवस्थापनको काम सुरु अब गर्नुपर्ने हुन्छ’ शर्माले सेतोपाटीसँग भने।
विमानस्थलमा जहाज पार्किङ एरियाको ढलान सकिएको छ। धावनमार्गको पिचको काममात्र बाँकी छ। पिच गर्न चारदेखि छ महिनाको समय लाग्ने शर्माले जानकारी दिए।
कन्ट्रोल टावरको काम चलिरहेको र ढिलामा आगामी फागुनसम्म उक्त काम सकिने उनको भनाइ छ।
टर्मिनल भवनमा एउटा तलाको ढालान कार्य भइरहेको छ भने सँगै छानाको लागि फ्रेब्रिकेशनको काम भइरहेको छ। भारतको नयाँ दिल्लीमा त्यो काम भइरहेको शर्माले जानकारी दिए।
‘सात महिना जतिमाछानाको काम सक्छु भनेको छ धावनमार्गसँगै छानाको काम पनि सकिन्छ’ शार्माले भने।