सुर्खेतमा निर्माणाधीन ‘भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना’ को सुरुङ खन्ने काम आधाभन्दा बढी सकिएको छ। सुरुङ खन्न सुरु गरेयता ९ महिनामै ७ किलोमिटर खनियो। जम्मा खन्नुपर्ने १२ किलोमिटर।
नेपालमै पहिलोपटक ‘टनेल बोरिङ मेसिन’ (टिबिएम) प्रयोग गरेर यो सुरुङ खनिएको हो। दैनिक कम्तिमा ३० मिटर खनिँदैछ। मेसिन भित्र लैजान सुरुको १ सय ५० मिटर मान्छेले खनेका थिए। यही गतिमा काम भए सम्झौता मितिअघि नै सकिने आयोजनाले जनाएको छ।
आयोजनाको गति सुरुदेखि यस्तो थिएन। भइदिएको भए अहिलेसम्म सुरुङ निर्माण सकिसकेको हुन्थ्यो। थप काम अघि बढिसक्थ्यो।
प्रारम्भिक दिनमा यसले जुन नियति भोग्नुपर्यो, त्यसलाई सम्झने हो भने अरू आयोजना कार्यान्वयनमा पाठ हुनसक्छ।
आज द्रुत गतिमा काम भइरहेको यो आयोजना खासमा निर्धारित अवधिभन्दा ढिला छ। यो सन् २०१३ बाटै निर्माण सुरु भइसक्नुपर्थ्यो। त्यतिबेला अनेकथरी विरोधले सुरु हुन सकेन। सम्झौताधरि भएन। दुई वर्षपछि २०१५ जुलाई ४ मा बल्ल निर्माण कम्पनीसँगको सम्झौताले अन्तिम रूप लियो। त्यसपछि झन्डै एक वर्ष सुरुङ खन्ने काम सुरु नै भएन।
चीनको ‘चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप लिमिटेड’ (कोभेक) ले आयोजना निर्माण गर्दैछ। यसअघि अनुभव नभएको कम्पनीलाई जिम्मा दिन लागेको भन्दै सरकारको विरोध भएको थियो। त्यही विरोधले समयमै सम्झौता हुन सकेन।
२०१३ देखि २०१५ को बीचमा तीनपटक बोलपत्र आह्वान गरिए। सुरुका दुइटा बोलपत्र प्राविधिक कारणले स्थगित भए। २०१४ अन्त्यतिरको बोलपत्रमा कोभेक छनौट भयो। अनुभवहीन निर्माण कम्पनी छानेको भन्दै उजुरी पर्यो।
कोभेकसँग ‘टनेल बोरिङ मेसिन’ प्रविधिमा काम गरेको अनुभव छैन भन्ने उजुरीकर्ताको दाबी थियो। यसले आयोजना विवादमा तानियो। कार्यान्वयनमा अन्यौल छायो।
अन्ततः २०१५ मा आएर आयोजनाको पछिल्लो निर्णय नियमअनुरुप भएको ठहर गर्दै सरकारले कोभेकसँगै सम्झौता गर्यो।
यो आयोजना २०२० सम्म सक्ने लक्ष्य छ। अहिलेको निर्माण गति हेर्दा २०१३ मा सुरु भइदिएको भए यतिबेला लगभग अन्तिम चरणमा हुन्थ्यो।
आयोजनाअन्तर्गत बबई नदी नजिकको हात्तीखालदेखि भेरी नदीको चिप्लेसम्म १२ किलोमिटर सुरुङ खनेर भेरीको पानी बबईमा खसालिनेछ। यसबाट बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य छ। यही पानीबाट ४८ मेगावाट विद्युत उत्पादन गरेर राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ।
आयोजना प्रमुख शिवकुमार बस्नेत सम्झौताअघिका अवरोधलाई सामान्य रूपमा बुझ्नुपर्ने बताउँछन्। जोखिमयुक्त ठूलो आयोजना भएकाले सरकार अल्झनु, प्राविधिक कमजोरी आउनु, विरोध हुनु सामान्य घटना भएको उनको भनाइ छ।
‘राष्ट्रिय गौरवको आयोजना, त्यही पनि जोखिमयुक्त भएकाले २०१५ अघिका दुईवटा बोलपत्र आह्वान प्राविधिक कारणले रोकिएका हुन्,’ आयोजना प्रमुख बस्नेतले भने, ‘त्यसपछि पनि केही विरोध भए, तर यी समस्यालाई आयोजना ढिला हुनुको कारणका रूपमा नलिँदा हुन्छ।’
आयोजनाको कुल लागत १६ अर्ब ४५ करोड रुपैयाँ छ। यसमध्ये सुरुङ निर्माणमा मात्रै १० अर्ब ५५ करोड बजेट विनियोजन गरिएको छ।
सुरुङबीचको ‘रिक्स–जोन’ कट्यो
भेरी बबई डाइभर्सन आयोजनाको सुरुङ निर्माण क्रममा बीचको ‘तोली खोला’ लाई जोखिमयुक्त क्षेत्र मानिएको थियो। मेसिनले त्यसलाई पार गरेपछि जोखिम नभएको पत्ता लाग्यो। उक्त क्षेत्र नकाटिँदासम्म आयोजना नै सफल हुने/नहुने दोधार थियो।
तोली खोलादेखि सुरुङसम्मको दुरी (गहिराई) २ सय १० मिटर मात्र छ। त्यहाँबाट पानी बग्ने र लेदो खालको माटो भए आयोजना असफल हुने अनुमान गरिएको थियो। टिबिएमले उक्त भाग पार गरेपछि अनुमान गरिएजस्तो जोखिम देखिएन। त्यसपछि सुरुङ निर्माण तीव्र पारिएको आयोजनाका सिनियर डिभिजनल इञ्जिनियर रुक्मांगद खनालले बताए।
‘जोखिमयुक्त क्षेत्र पार गरेर मेसिन अगाडि गइसकेको छ,’ इञ्जिनियर खनालले भने, ‘अब सुरुङ निर्माणको काम सम्झौता मितिभन्दा अगाडि नै सकिन्छ।’
तोलीखोला आसपासको क्षेत्र सुरुङको सबैभन्दा जोखिमपूर्ण भूगोल मानिएको थियो। त्यही भएर एक किलोमिटर सुरुङ खन्न करिब ३ महिना लागेको उनले बताए। मेसिनले दैनिक सरदर ३३ मिटर खन्ने भए पनि उक्त भागमा दैनिक १०/११ मिटर मात्र खन्ने गरिएको थियो।
आयोजना सफल हुने देखिएपछि विद्युतगृह र भेरीमा हेड निर्माणका लागि पनि ठेक्का प्रक्रिया सुरु भएको उनले जानकारी दिए ।