सन् २०१९ जुन भित्रै जहाज अवतरण गराउने लक्ष्यसहित निर्माण कार्यलाई तीव्र पारिएका बखत आयोजना प्रमुखलाई सरुवा गरिएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समयमा निर्माण सम्पन्न हुनेमा आशंका उब्जिएको छ।
डिसेम्बर २०१७ मा निर्माण सम्पन्न गर्ने गरी १३ नोभेम्बर २०१४ मा सम्झौता गरिएको विमानस्थलको निर्माण कार्य जनवरी २०१५ मा सुरू गरिएको थियो।
नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना प्रमुख इन्जिनियर ओम शर्मालाई बाराको निजगढ विमानस्थल आयोजनामा सरुवा गरेको छ।
मधेश आन्दोलन, नाकाबन्दी, भूकम्प तथा स्थानीय पेटी ठेकेदार र जग्गाधनीको आन्दोलनका कारण सुस्त बनेको विमानस्थलका सबै समस्या समाधान भइ निर्माण कार्यले गति लिएका बेला आयोजना प्रमुख शर्माको सरुवा भएको हो।
विभिन्न समयमा आएका अवरोधहरूलाई पन्छ्याउँदै विमानस्थलको निर्माण कार्यलाई गति दिइरहेका बेला आयोजना प्रमुख इन्जिनियर शर्माको सरुवा गरिएकोप्रति स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन्।
सरकारले नियमित रकम उपलब्ध नगराएको बखत समेत चाइनिज कम्पनीलाई काममा निरन्तरता दिन समन्वय गर्दै आएका शर्माको सरुवाले विमानस्थल समयमा सम्पन्न हुनेमा आशंका उब्जिएको भैरहवाका व्यवसायी कृष्ण शर्मा बताउँछन्।
विभिन्न अवरोधका कारण सुरूका दुई वर्ष सन्तोषजनक काम नभएको भन्दै एशियाली विकास बैंकले ऋण र अनुदान रोकेको थियो।
पछिल्लो समय सबै अवरोधलाई छिचोल्दै गत असार मसान्तसम्म ५० प्रतिशत प्रगति पूरा गर्न दिएको लक्ष्य पूरा गरेपछि रोकिएको ऋण र अनुदान रकम एडिबीले फुकुवा गरेको थियो।
विमानस्थल निर्माणको क्रममा देखिएका अवरोध पार गरिसकेको र निर्माणका अप्ठ्यारा कामहरू भने सम्पन्न भइसकेकोले आयोजना सम्पन्न नहुँदा प्रमुखको सरुवा गर्न नहुने भैरहवाका भरत पोखरेल बताउँछन्।
प्राधिकरणको नियामवलीमा २ वर्ष अवधिमा सरुवा गर्ने भए पनि शिलान्यासदेखि नै कार्यरत रहेका प्रमुखको विमानस्थलको निर्माण कार्य तीव्र गतिमा भइरहेको अवस्थामा सरुवा गरिएको छ ।
‘आयोजनाको सबै अप्ठ्यारो र ६५ प्रतिशत भन्दा बढी काम पूरा भएको छ, सन् २०१९ जुन भित्रै भैरहवामा अन्तर्राष्ट्रिय उडान भर्ने लक्ष्य अनुरुप काम भइरहेको बेला प्रमुखको सरुवा गरिनुको रहस्य के त ?’ उनले प्रश्न गरे ।
नयाँ आउने आयोजना प्रमुखलाई केही समय त्यहाँको वस्तुस्थिति र वातावरण बुझ्न समय लाग्ने भएकोले समयमा सम्पन्न हुँदैन कि भन्नेमा स्थानीयले आशंका गर्नु स्वभाविक रहेको उनी बताउँछन् ।
अहिले विमानस्थलको टर्मिनल भवनको माथिल्लो छत ढलान र धावनमार्ग कालोपत्रे गर्न तयार भएको छ। साउन महिनामै धावनमार्ग कालोपत्रे गर्ने गरी तयार गरिएकोमा लगातारको वर्षाको कारण गर्न नसकिएको प्रमुख शर्माले जानकारी दिए।
एशियाली विकास बैंकको ६ अर्ब २२ करोड ५१ लाख २० हजार रुपैयाँ ऋण तथा अनुदान सहयोगमा चिनिया ठेकेदार कम्पनी नर्थ वेष्ट सिभिल एभिएशनले विमानस्थल निर्माणको काम गरिरहेको छ ।
विमानस्थलको २०७१ साल माघ १ गते तत्कालीन प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाले शिलान्यास गरेका थिए।