राष्ट्रिय गौरवको योजना अन्तरगतको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन निर्माण कार्य सुरू भएको छ।
बुधबार पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले टर्मिनल भवन निर्माण कार्यको शिलान्यास गरेका हुन्। टर्मिनल भवन १४ हजार स्क्वायर मिटरमा बन्ने छ।
८ हजार स्क्वायर मिटर अन्तर्राष्ट्रिय उडान र ६ हजार स्क्वायर मिटर आन्तरिक उडानका लागि गरी १४ हजार स्क्वायर मिटरको टर्मिनल भवन निर्माण गरिने नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ। टर्मिनल भवन वार्षिक ५ लाख क्षमताको हुनेछ।
यात्रुहरू जहाजमा जनाका लागि टर्मिनल भवन प्रयोग गर्नुपर्ने हुन्छ। विमानस्थलको निर्माणका काम अहिलेसम्म १५ प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ। विमानस्थलको डिजाइन पनि टुंगो लागेको छ। सोही अवसरमा डिजाइन सार्वजनिक गरिएको थियो। मन्त्री अधिकारीले विमानस्थलको रन वेका लागि थप जग्गा आवश्यक नभएको बताए।
उनले पोखराको भौगोलिक अवस्था अनुसार १९२ सिट क्षमताको जहाज मात्र उड्ने र त्यसका लागि अहिलेको २ हजार ५ सय मिटरको रन वे नै पर्याप्त रहेको बताए। केही दिन पहिले थप जग्गा अधिग्रहण गर्ने भन्दै विमानस्थलले सर्वेका लागि सूचना निकालेको थियो। मन्त्री अधिकारीले एक महिनापछि रन वे निर्माणको काम सुरू हुने र सन् २०१९ को जुन/जुलाईसम्म सम्पन्न गर्ने बताए।
विमानस्थलका लागि पेट्रोल भण्डारण र हृयांगरका लागि जग्गा अधिग्रहण गर्ने भन्दै ४ सय रोपनी जग्गा अधिग्रहण गर्ने भन्दै सूचना प्रकाशन गरेपछि स्थानीय आन्दोलित भएका थिए । तर, मन्त्री अधिकारीले अब कुनै पनि कामका लागि तत्काल जग्गा अधिग्रहण गर्न आवश्यक नरहेको बताए। उनले थप जग्गा चाहिए स्थानीयलाई चित्त बुझाएर खरिद गर्ने बताए।
सरकारले सन् २०१४ मे १२ मा चिनियाँ ठेकेदार कम्पनी सिएएमसीलाई ठेक्का दिएको थियो। निर्माण गर्ने र निर्धारित समयमा नसके क्षतिपूर्ति समेत सरकारलाई दिनुपर्ने सर्त भएको इपीसी मोडलमा सिएएमसीले ठेक्का लिएको हो।
निर्माण कम्पनीले २०२१ को जुलाई १० मा विमानस्थल सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने छ । झन्डै २२ अर्ब रुपैयाँ ऋण चिनियाँ एक्जिम बैंकले नेपाल सरकारलाई विमानस्थल निर्माणका लागि दिएको र त्यसैले विमानस्थल निर्माणको काम भइरहेको छ ।
३७ सय रोपनीमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य भइरहेको छ। सरकारले २०३१ र हालै गरी दुई चरणमा त्यति जमिन अधिग्रहण गरेको थियो। ११ अगस्ट २०१७ बाट निर्माण सुरू गरेको चिनियाँ निर्माण कम्पनी सिएएमसीले २०२१ जुलाईमा निर्माण सम्पन्न गर्नुपर्ने छ।