नेपालमा हवाई क्षेत्रको नियमन, विमानस्थल निर्माण तथा नियमन गर्ने नागरिक उड्डयन प्राधिकरणले यो वर्षका लागि ४५ अर्बको बजेट पारित गरेको छ।
बजेट बारेको पत्रकार सम्मेलनमा प्राधिकरणका महानिर्देशक संजिव गौतमले तयारी अवस्थामा नभएका आयोजनाको लागि थप बजेट विनियोजन नहुने बताए।
बजेटको नीति अनुरुप नै अध्ययन अनुसन्धान बाहेक अन्य शिर्षकमा नयाँ आयोजनाको लागि बिनियोजन नहुने उनले प्रष्ट पारे। तयारी अवस्थामा नभएका आयोजनालाई बजेट विनियोजन गर्ने, अन्तिममा खर्च नभई रकमान्तर गरेर बजेटको दुरुपयोग हुने क्रम बढेको भन्दै अर्थमन्त्री डा. युवराज खतिवडाले पनि कडाइ गरेको बताउँदै आएका छन्।
तर प्राधिकरणको नीति, बजेटकै नीति तथा कार्यक्रममा त्यसो भनिएको भएपनि एउटा आयोजनाको लागि भने थप बजेट विनियोजन भएको छ।
पूर्व विस्तृत सम्भाव्यता अध्ययन नभएको आयोजना नागिडाँडा विमानस्थलको लागि प्राधिकरणले यो वर्षका लागि २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। जग्गा अधिग्रहणका लागि भन्दै प्राधिकरणले बजेट विनियोजन गरेको हो।
आयोजनाको सम्भाव्यता नै अध्ययन भएको छैन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान कार्यविधिअनुसार वा त्यसलाई असर गर्छ कि गर्दैन भनेर प्राधिकरण अध्ययनमै रहेको गौतमले जानकारी दिए। यद्यपी गौतमले बजेटको नीतिभन्दा बाहिर गएर कतै पनि विनियोजन नभएको बताए।
‘हामीले नीतिभन्दा बाहिर गएर बजेट खर्च गर्दैनौँ’ उनले भने, ‘नागिडाँडाको विमानस्थलमा प्रविधिक पक्षको अध्ययन गरिरहेका छौँ त्यसको टुंगो लागेपछि मात्र हामीले जग्गा अधिग्रहणको काम अघि बढाउँछौँ।’
आयोजना प्राविधिक रुपमा सम्भव नभएसम्म एक रुपैयाँ पनि बजेट खर्च नहुने उनले प्रष्ट पारे। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने आन्तरिक उडानको चापलाई कम गर्न भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले काभ्रेको नागिडाँडामा विमानस्थल बनाउने प्रक्रिया अघि बढाएका थिए।
मन्त्रीकै जोडबलमा विमानस्थल निर्माणको काम अघि बढेपनि उनले बनाएको अध्ययन कार्यदलले नागिडाँडामा तत्काल विमानस्थल बनाउनु उपयुक्त नहुने सुझाव दिएको थियो।
नागिडाँडामा एयरपोर्ट बनाउन १० अर्बसम्म लागत लाग्ने प्रारम्भिक अनुमान छ। त्यहाँ बढीमा १२ सय मिटर लामो धावनमार्ग भएको विमानस्थल बन्ने छ। यति सानो धावनमार्गमा अहिले आन्तरिक उडान गरिरहेका एटिआर र त्यस्तै ठूला जहाजले उडान र अवतरण गर्न सक्दैनन्।
त्यो एयरपोर्ट दुर्गममा उडान गर्ने ट्विनअटर साइजका जहाज र हेलिकप्टरले मात्र प्रयोग गर्न सक्छन्। यस्तो अवस्थामा उक्त ठाउँमा विमानस्थल बनिहाले पनि काठमाडौंबाट लुक्ला, तुम्लिङटार र पूर्वका पहाडी जिल्लाका उडान मात्र सार्न सकिनेछ।
यो पनि हेर्नुहोस् :
नागीडाँडामा वैकल्पिक विमानस्थल लहड कि आवश्यकता?