गत हप्तादेखि नै देशभर सार्वजनिक सवारी साधनको भाडा वृद्धि भए पनि रुपन्देहीको सिद्धार्थ यातायात प्रालिले भने मंसिरसम्म भाडा नबढाउने जनाएको छ।
चाडपर्वको मुखमा वृद्धि गरिएको भाडाले सर्वसाधारणलाई व्ययभार थपिने भन्दै चाडपर्वको अवधिभर प्रालिले भाडा वृद्धि नगर्ने जनाएको हो।
प्रालिका अध्यक्ष सुर्य कुमार सारुमगरले चाडपर्व पनि नजिकिएको र सरकारले मंसिरभित्रै नयाँ भाडादर समायोजन गर्न समिति गठन गरिसकेकोले त्यतिञ्जेल पुरानै भाडा लिने निर्णय गरिएको बताए।
‘नेपालीहरूका मुख्य चाडहरू दसैँ तिहारमा सर्वसाधारणले किनमेलमा खर्च गर्नुपर्ने हुन्छ, दसैँ तिहारमा यात्रुहरूको आवतजावत पनि बढी हुन्छ, धेरै आवतजावत हुने समयमा भाडा वृद्धि गरेर व्ययभार नथप्न यस्तो निर्णय गरेका हौं,’ उनले सेतोपाटीसँग भने।
यातायात व्यवसायी र सरकारबीच असोज ६ गते भएको १० प्रतिशत भाडा वृद्धि गर्ने सहमतिसँगै मंसिर २९ गतेभित्र नयाँ र वैज्ञानिक भाडादर समायोजनको लागि समिति गठन गरेको र त्यतिन्जेलसम्म आफूहरूले पर्खने उनले बताए।
अहिले भाडा वृद्धि गरेर फेरि दुई/तीन महिनामै भाडा वृद्धि गर्दा सर्वसाधारण मारमा पर्ने भन्दै यस्तो निर्णय गरिएको उनले बताए।
मंसिरसम्म भाडा वृद्धि नगर्ने प्रालिको निर्णयलाई अरु यातायात व्यवसायीले भने सस्तो लोकप्रियताको लागि गरिएको निर्णय भनेका छन्।
‘थोरै संख्यामा सवारी साधन रहेको प्रालिले पुरानै भाडा लिँदा आर्थिक रूपमा त्यति धेरै नोक्सान नपर्ने तर चर्चा धेरै हुने भएकोले यस्तो निर्णय गरिएको होला,’ एक व्यवसायीले भने।
अध्यक्ष सारु मगरले भाडा नबढाउने प्रालिको निर्णयपछि कतिपय व्यवसायीले सरकारको नीति नियमभित्र रहेर सेवा सञ्चालन गर्ने तर सरकारले तोकेको भाडा नलिने भन्दै फोन गर्ने गरेको बताए । उनले सरकारले तोकेभन्दा बढी भाडा लिन नपाइने तर यात्रुहरूको सुविधालाई मध्यनजर गरी कम भाडा लिन पाइने बताए।
त्यसैगरी, प्रालिले दसैँ तिहारको बेलामा भारतीय सीमाक्षेत्रमा लुटिएका नेपालीलाई आफ्नो सेवाक्षेत्र भित्र नि:शुल्क पुर्याउने जनाएको छ । अध्यक्ष सारु मगरले चाडपर्वको समयमा सीमाक्षेत्रमा हुने लुटपाटका घटनालाई मध्यनजर गरी बेलहियामा स्थापना गरिएको नागरिक सहायत कक्षको सिफारिसको आधारमा लुटिएर वेखर्ची भएकालाई बस सञ्चालन हुने स्थानसम्म निःशुल्क पुर्याउने व्यवस्था मिलाउने बताए ।
प्रालिले भैरहवा बुटवल खण्डमा १७ वटा बस दैनिक रूपमा सञ्चालन गर्दै आएकोछ । त्यसैगरी दैनिक २ वटा बस भैरहवा काठमाडौं रुटमा सञ्चालनमा रहेको सारुमगरले जानकारी दिए ।