बुटवल उपमहानगरपालिका वडा नं. ८ की सीता खनालले केही महिना अगाडि बुटवल हाटबजारबाट किनेर ल्याएको चुक राखेर अचार बनाइन्।
उपमहानगरपालिका कार्यालयको प्रवेशद्वार अगाडि नै रहेको उक्त हाटबजारबाट ल्याएको उक्त चुक राखेर अचार मोल्दै गर्दा हात नै च्यापच्याप भयो।
सुरूमा अचारमा राखिएको तिल, मसलाको कारण च्यापच्याप लागेको होला भन्ठानेकी सीताले अचार खाँदा अमिलोको स्वाद नै फरक पाइन्। पछि थाहा भयो हाटबजारबाट किनेर ल्याएको चुकमा अखाद्य वस्तु मिसाइएको रहेछ।
बुटवल ८ सुन्दरचोककी कमला गौतमले हाटबजारबाट लौका किनेर ल्याइन्। हाटबजारबाट ल्याएर फ्रिजमा राखेको एक किलो बराबरको लौका भोलिपल्ट दोब्बर ठूलो भइसकेको थियो। साँझ फ्रिजमा सजिलैसँग राखिएको लौका रातभरिमा बढ्दै गएपछि बिहान फ्रिजको ढोका नै लगाउन नमिल्ने गरी ठूलो भएको थियो।
राख्दा पाखुरा बराबर साइजको लौका भोलिपल्ट मोटाउँदै गएर फ्रिजको ढोका नै लगाउन नमिल्ने गरी मोटो र लामो भइसकेको थियो। कमलासँगै लौका किनेकी मना क्षेत्रीले पनि अघिल्लो दिन तरकारी खाएर राखेको आधा लौका समेत दोब्बर लामो भएको थियो।
बुटवल ८ कै गीता खनालले गएको गर्मी मौसममा चिसो पेय नखाएरै बिताइन्। गतवर्ष बजार डुल्दै थिइन्। अत्यन्त गर्मी भएपछि रेष्टुरेण्टमा फ्याण्टा खाँदै थिइन् बोतल सकिनै लाग्दा बाक्लो ढिक्कासहितको लेदो स्वात्तै मुखभित्र छिर्यो । थुक्न नपाउँदै घाँटीभित्र पसेपछि उनले वान्ता गरिन् । त्यसपछि कसैले चिसो खाउँ भन्यो भने पनि उनलाई वान्ता आउला जस्तो हुन्छ।
यी माथिको घटना त प्रतिनिधि घटनामात्र हुन्। नेपाली उपभोक्ताहरू हरेक दिन हरेक वस्तुमा ठगिएकै हुन्छन्। चाहे त्यो गुणस्तरमा होस् वा मूल्यमा । वस्तुको बजार मूल्य र गुणस्तरबारे अनुगमन र नियमन गर्ने निकाय मौसमी अनुगमनमा मात्र सीमित रहँदा उपभोक्ताहरू हरेक वस्तुमा ठगिने गरेका छन्।
चाडपर्व आउँदा सक्रिय देखिने अनुगमन समिति केही पसलहरूमा मात्र अनुगमन गरी वर्षभरिको काम देखाउने गर्छ। रुपन्देहीका विभिन्न स्थानमा दैनिक दर्जनौं स्थानमा साप्ताहिक हाटबजार लाग्ने गर्दछन्। दैनिक दशौं हजार उपभोक्ताले तरकारी, फलफूल, तेल दालदेखि माछामासु समेत किनमेल गर्ने हाटबजारहरुमा अनुगमन समितिको ध्यान पुग्न सकेको छैन ।
बुटवल ९ का कृष्णप्रसाद पाण्डे सरकारले विक्रीवितरणमा प्रतिबन्ध गरेको लतरीको दाल, चक्र तेल लगायत माछामासु समेत खुल्ला स्थानमा विक्री हुंदा पनि अनुगमन समितीको ध्यान नपुगेको बताउंछन् । ‘उपभोक्ताहरु सुनदेखि नुन सम्म र होटलको भातदेखि लत्ताकपडा सम्म नै ठगिने गरेका छन् ।’ उनले भन्छन् ।
चाड पर्व सूरु भएपछि मात्र गरिने बजार अनुगमनलाई ब्यापारीहरु समेत केहि समयको त्रासको रुपमा लिन्छन् । दशैं नजिकएपछि जिल्ला अनुगमन समितीले बल्ल अनुगमन गर्न शुरु गरेको छ । त्यस्तो अनुगमन प्रति उपभोक्ताहरु समेत बिश्वस्त हुन सकेका छैनन् ।
व्यापारीहरुले गर्ने कालोबजारी र मिसावट बाह्ै महिना गर्ने भएकोले दशैको मुखमा गरिने अनुगमनको कुनै अर्थ नरहने उपभोक्ता बताउंछन् । तिलोत्तमा १४ का सुमन नेपाली बताउंछन् ।
वस्तुको बजारमूल्य तथा गुणस्तरबारे नियमित अनुगमनमको लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बजार अनुगमन समिती रहने गरेको छ । तर नियमित बजार अनुगमन हुन नसक्दा व्यापारीहरुले वस्तुको मूल्य र गुणस्तरमा मनपरी गर्दै आएका छन् ।
रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद पाण्डे प्रशासनिक कामको व्यस्तताले नियमित अनुगमनमा कठिनाई हुने गरेको दावी गर्छन् ।
जिल्लामा बाणिज्य कार्यालय, खाद्य तथा गुण नियन्त्रण, गुणस्तर तथा नापतौल कार्यालय, स्थानीय सरकार र उपभोक्ता मञ्च समेतको सहभागितामा नियमित अनुगमन गर्ने बैधानिक व्यवस्था छ । तर यि निकायहरुका बिचमा पनि समन्वयको अभाव हुंदा अनुगमन नियमित र प्रभावकारी हुन नसकेको बाणिज्य कार्यालयका प्रमुख बेद प्रसाद उपाध्याय स्वीकार्छन् ।
अरु समयभन्दा चाडपर्वको समयमा उपभोग्य वस्तुको खपत पनि धेरै हुने मौका छोपी व्यापारीहरुले कम गुणस्तरको वस्तुलाई चर्को मूल्य असुल्ने तथा कृतिम अभाव श्रृजना गर्ने भएकोले पनि चाडपर्वमा अनुगमनलाई अलि बढि व्यापक गर्ने गरिएको उनी बताउंछन् ।
यता उपभोक्ताहरु भने बजार अनुगमन गर्ने तर कालोबजारी र कृत्रिम अभाव गर्ने व्यापारीहरुलाई कडाईका साथ कार्वाही नगर्दा बजार अनुगमन प्रति बिश्वस्त हुन सकेका छैनन् ।
गत असोज १० गते पूर्व वरिष्ठ प्रहरी उपरीक्षक योगेश्वर रोमखामीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १ बेलहियास्थित नवजिवन आयल स्टोरबाट गाडीमा पेट्रोल हाले ।
बेलहियादेखि काठमाण्डौ जाने क्रममा बा १३ प १९८५ नम्बरको सुजुकी डिजायर गाडीमा पेट्रोल हालेपछि गाडी अगाडी बढ्न सकेन । पेट्रोल राखेको केही बेरपछि नै गाडी पटकपटक रोकिएपछि ग्यारेज लगेर परीक्षण गराउँदा पेट्रोलमा पानी मिसिएको पाईयो ।
रोमखानीले तुरुन्तै प्रहरीलाई खबर गरे । उनले गाडीमा ३ हजार ६ सय रुपैयाको पेट्रोल हालेका थिए । पानी मिसिएको पेट्रोल निकाली अर्को पेट्रोल हालेपछि मात्र गाडी अगाडी बढ्यो । अनुगमन समितीले उक्त पेट्रोलपम्पमा सिलबन्दी गरेपनि व्यवसायीलाई कुनै कारवाही नगर्दा अरु व्यवसायीलाई पनि गलत काम गर्न प्रोत्साहन मिल्ने गरेको भैरहवाका अशोक श्रेष्ठ बताउंछन् ।