गएको असारमा नेपाल र भारतका नागरिक उड्डयन अधिकारीबीच भएको सहमतिअनुसार भारतले नेपाल प्रवेश गर्ने जहाजलाई थप रुट दिन अस्वीकार गरेको छ। भारतको नयाँ दिल्लीमा भएको प्राविधिक समितिको बैठकमा भारतीय पक्षले नेपाललाई आवस्यक पश्चिम क्षेत्रका रुट दिन अस्वीकार गरेको बैठकमा सहभागी अधिकारीहरुको जानकारी दिएका छन्।
कुटनीतिक मामिलासँग जोडिएको भन्दै औपचारिक प्रतिक्रिया दिन नमानेका नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुकाअनुसार भारतीय पक्षले महेन्द्रनगर र नेपालगंजबाट जहाज प्रवेश गर्ने विन्दु दिन भारतीय पक्षले अस्वीकार गरेको छ।
असारमा भएको सम्झौताअनुसार भारत महेन्द्रनगर रुटलाई दुईतर्फी बनाउने, नेपालगंजलाई नयाँ प्रवेश विन्दु दिनको लागि प्राविधिक अध्ययन तयार भएको थियो। उक्त प्राविधिक अध्ययन पश्चात भारतीय पक्षले नेपालगंजमा आर्मी ब्यारेक भएको र महेन्द्रनगरबाट दिनलाई व्यस्त भारतीय आकाशको कारण दिन नसकिने राय राखेको बैठकमा सहभागी एक अधिकारीले जानकारी दिए।
गएको बिहीबार नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक दिपक बरालको नेतृत्वमा गएको नेपाली पक्षसँग भारतीय एयरपोर्ट अथिरिटीका अधिकारीहरुले महेन्द्रनगर र नेपालगंज रुट दिन नसकिने बताएका थिए।
‘हामीलाई चाहिएको रुट उनीहरुले दिन नमानेपछि बाँकी छलफलको आवस्यकता रहेन’वैठकमा सहभागी एक अधिकारीले भने,‘यो विषय फेरि राजनीतिक तहमै फर्किएको छ।’
केपी ओली प्रधानमन्त्री भएपछि नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई थप हवाई रुट दिन प्राविधिक तहलाई निर्देशन दिने प्रतिबद्धता जनाएका थिए। सोहीअनुसार आसरमा दुई देशका अधिकारीबीच छलफल भएको थियो।
उक्त छलफलबाट भारतले नेपाललाई थप ४ हवाई प्रवेश विन्दु उपलब्ध गराउने सहमति गरेको थियो। नेपाल आउने जहाजलाई महेन्द्रनगर, नेपालगंज, जनकपुर र विरगंजबाट पनि आउन दिने उक्त समयमा सहमति भएको थियो। हवाई रुटको बारेमा प्राविधिक अध्ययन गरी सन् २०१८को सेप्टेम्बरसम्म कार्यान्वयनको तहमा जाने सहमति भएको थियो।
दुई देशका प्राविधिकहरुले सयुक्तरुपमा रुट निर्धारण, सुरक्षा मूल्यांकन(सेफ्टी एसिसमेन्ट) गर्ने त्यसमा नेपालले सबै प्रस्तावित रुटको डिजाइन, अध्ययन तथा मूल्यांकको रिपोर्ट सन् २०१८ को जुनसम्म भारतीय पक्षलाई बुझाइसक्नुपर्ने थियो।
यी सबै तयारीपछि भारतको नयाँ दिल्लीमा भएको वार्ताबाट फेरि पुरानै अवस्थामा पुगेको अधिकारीहरुको बताएका छन्। यो विषयमा प्राधिकरणका अधिकारीहरुले खुलेर कुरा गर्न चाहेका छैनन्।
भारतीय आकाशबाट आएका जहाज अहिले सिमराबाटमात्र नेपालभित्र प्रवेश गर्न पाउछन्। नेपाल बाहिर जानको लागि महेन्द्रनगर, भैरहवा, विराटनगर र जनकपुरबाट विन्दु प्रयोग गर्छन्।
नेपालले नेपालगन्ज, भैरहवा, जनकपुर, विराटनगर बाट क्रसबोर्डरु उडान तथा पश्चिमा देशबाट आएका जहाजले महेन्द्रनगर, नेपालगंज र भैरहवाबाट प्रवेश गर्नपाउनेगरी रुट उपलब्ध गराउन विगतदेखि अडान लिंदै आएको थियो।
एकमात्र रुट हुँदा पूर्वी क्षेत्र बंगलादेश, भारतको कोलकात्ता, थाइल्यान्ड , सिंगापुर, मलेसियालगायत देशबाट आउने र पश्चिम दिल्ली, युरोप तथा अमेरिकाबाट आउने जहाजले एउटै क्षेत्रमा दुई रुटमा (रोमियो ५८१ र गल्फ ५८९ रुट) विभाजन गरेर प्रवेश गराउने गरिएको छ।
नयाँ रुट लागू भएपछि भारतको दिल्ली तथा पश्चिम क्षेत्रबाट आउने जहाजलाई सिमराको तुलनामा नेपालगंज वा महेन्द्रनगरबाट आउँदा १४ नटिकल माइल(२५ किलोमिटर) छिटो हुन्छ। त्यस्तै भैहवा ६९ नटिकल माइल, पोखरा ६५ नटिकल माइल नजिक पर्छ।
त्यसतै महेन्द्रनगर रुटबाट प्रवेश गर्न नेपालले पाएमा त्यहाँबाट युरोप अमेरिकाबाट हंककङ, थाइल्यान्ड लगायतका गन्तव्यमा जाने रुट बनाउन पनि पाउछन्। यसो हुँदा नेपाले आम्दानी पनि गर्नसक्छ।
तर भारतले नेपालगंज र महेन्द्रनगरबाट प्रवेश विन्दु नपाउँदा निर्माणाधिन पोखरा र भैरहवा विमानस्थल आर्थिक र प्राविधिकरुपमा सम्भाव्य नहुने संस्कृति पर्यटन तथा नागरिक उडु्डयन मन्त्रालयको निष्कर्ष रहेको छ।
मन्त्रालयले केही समय अघि गरेको अध्ययनअनुसार पश्चिमका रुट नपाए भैरहवा र पोखरा विमानस्थल व्यावासायिकरुपमा सम्भाव्य हुने छैनन्।
भैरहवा र पोखरा विमानस्थल के हुन्छन्?
दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोग आयोजना अन्तर्गत बनिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सन् २०१९ भित्र संचालनमा ल्याउने लक्ष्य सरकारको छ।
भैरहवाबाट पश्चिमका रुट नेपालले नपाएमा भैरहवा विमानस्थल व्यावसायिक रुपमा सम्भव नहुने हवाई संचालकहरु बताउँछन्। उडान र अवतरण समस्या नभएपनि हवाई दुरी लामो र गन्तव्य महँगो हुने भएकोले विमानस्थल आर्थिकरुपमा सम्भाव्य नहुने खतरा रहेको उनीहरुको भनाई छ।
पश्चिम क्षेत्रबाट रुट एक्सेस नपाएपछि दिल्लीबाट आएको जहाज सिमरा आएरमात्र भैरहवा जानुपर्छ। जसले गर्दा १० देखि १५ मिनेट थप दुरी पार गर्नुपर्ने हुन्छ। परिणामस्वरुप यात्रा महँगो हुने छ। त्यस्तै पोखर विमानस्थल पनि त्यही समस्या हुने छ।