दसैँ पर्वको प्रयोजनका लागि रुपन्देहीको बेलहिया नाकाबाट यस वर्ष खसीबोकाको आयात बढेको छ। देशको प्रमुख भन्सार नाका बेलहिया हुँदै पछिल्लो तीन महिनामा करिब ४१ हजार बढी खसीबोका भारतबाट नेपाल भित्रिएका छन्।
भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत कालिराम पौडेलका अनुसार विगतको वर्षहरूमा भन्दा यो पटक दसैँको समयमा खसीबोकाको आयात बढेको हो।
‘रेड मिट’ भनेर चिनिने खसीबोकाको मासु स्वास्थ्यका लागि लाभदायक नहुने चिकित्सकहरू बताउँछन्। तर, खसीबोकाको आयात भने हरेक वर्ष बढिरहेको छ।
२०७३ सालको साउन र भाद्र महिनामा ११ करोड १४ लाख ५२ हजार मूल्य बराबरको १८ हजार ७ सय ३७ गोटा खसीबोका आयात भएका थिए। गतवर्ष २०७४ को साउनदेखि असोजसम्म १२ करोड ८८ लाख ८७ हजार रुपैयाँ मूल्यका २१ हजार १ सय १५ गोटा खसीबोका आयात भएका थिए। यसवर्ष भने तीनमहिनाको अवधिमा ४१ हजार खसीबोका भित्रिएका छन्।
आर्थिक वर्ष २०७४/७५ को १२ महिनामा बेलहिया नाका हुँदै १ लाख ३७ हजार २ सय ३१ गोटा खसी बोका आयात भएको पशु क्वारेन्टाइन चेकपोष्ट बेलहियाले जनाएको छ। अहिले गत वर्षको तुलनामा तीन महिनामा नै करिब ३० प्रतिशत खसी बोका आयात भइसकेका छन्।
बेलहिया नाका हुँदै आयात हुने खसीबोकाहरू अधिकांश रुपन्देही साथै काठमाडौं, चितवन, पोखरामा खपत हुने गर्छन्। भन्सार कार्यालयका अनुसार अन्य समय भन्दा चाडपर्व सुरू भएसँगै खसीबोका र माछाको आयात अत्यधिक बढेको छ।
वर्षैभरि माछामासुको प्रयोग हुने भए पनि प्रमुख चाडपर्वको समय साउनदेखि असोजसम्म अत्यधिक हुने गर्दछ। बेलहिया नाका हुँदै घटस्थापना लागेसँगै दैनिक २ हजारका हाराहारीमा खसीबोका आयात भइरहेको पशु क्वारेन्टाइन कार्यालयले जनाएको छ।
दसैँको महाअष्टमीमा दुर्गामन्दिर, कोतघर तथा शक्तिपिठहरूमा पशुबलि दिने गर्छन्। सर्वसाधारणले फूलपातीसम्म खसीबोका र मासुको जोहो गरिसक्ने भएकोले फूलपातीपछि भने आयात खासै नहुने कार्यालयले जनाएको छ।
हेरेकै र छामेकै भरमा क्वारेण्टाइन पास
भैरहवास्थित पशु क्वारेन्टाइन चेकपोष्टले हेरेकै आधारमा नेपाल भित्रिने खसीबोका क्वारेन्टाइन पास गर्ने गरेको पाइएको छ। खसीबोकाको निरोगिता चेकजाँच गर्ने उपकरणहरू नहुँदा हेरेको र छामेको आधारमा क्वारेन्टाइन पास गर्ने गरिएको हो।
भारतका विभिन्न स्थानबाट नेपाल आयात गरिने पशु स्वस्थ छ/छैन भनेर पत्ता लगाउन क्वारेन्टाइनमा जाँच गर्ने गरिन्छ ।
अन्य मुलुकहरूमा क्वारेन्टाइन कार्यालयमा ल्याबसहितको सेवा अनिवार्य गरिएको हुन्छ ।
तर यहाँ भने उपकरण नहुँदा सामान्य शारीरिक जाँच गरेर मात्रै क्वारेन्टाइन पास गर्ने गरिएको हो।
सामान्यतः शारीरिक तथा क्लिनिकल जाँचमा रोगी/निरोगी पत्ता लाग्ने बताइए पनि यसैका आधारमा क्वारेन्टाइन पास गरिनु राम्रो नहुने पशु चिकित्सकहरू बताउँछन्। यसरी जाँचपास गरेका पशु गम्भीर प्रकृतिको रोगी भए यसले उपभोक्ताको स्वास्थ्यमा नराम्रो असर पार्न सक्छ।
भैरहवास्थित क्वारेन्टाइनमा ल्याब नहुँदा खसीबोकामा लाग्ने पिपिआर जस्ता गम्भीर प्रकृतिका रोगको परीक्षण गर्न निकै समस्या हुने गरेको छ। यस्ता रोगको जाँच गर्नुपरे नमूना संकलन गरी पशु अस्पताल तथा पशुविज्ञ सेवा केन्द्रमा पठाउने गरिएको छ।
त्यहाँ पनि उपकरण अभावमा पिपिआर जस्ता गम्भीर प्रकृतिका रोगहरू पत्ता लगाउन निकै मुश्किल पर्छ। त्यसैले अधिकांश नमूनाको परीक्षण गर्न क्षेत्रीय पशुरोग अन्वेषण प्रयोगशाला पोखरा र काठमाडौं पठाउने गरिएको पशु क्वारेन्टाइन चेकपोष्ट बेलहियाका प्रमुख प्रवेश शर्माले बताए।
यसरी पठाइएका नमूना समयमै चेकजाँच भएर आउँदैनन्। छिटो आए पनि कम्तीमा एक हप्ता लाग्छ । यसले आयातकर्ताको लगानी निकै महंगो पर्न जान्छ। जसको प्रत्यक्ष मारमा भने उपभोक्ता नै पर्ने गरेका छन्।
‘हामीले यहाँ सामान्य चेकजाँच गर्ने र आयातकर्ताको कागजात सक्कली हो/होइन हेर्ने मात्रै गरेका छौं’, चेकपोष्ट कार्यालय प्रमुख शर्माले भने, ‘दक्ष कर्मचारी भए पनि ल्याबजस्ता उपकरणहरू नहुँदा समस्या छ।’
उनले हेराइका आधारमा खसीबोका लगायत अन्य पशुको सामान्य रोग पत्ता लगाउन सकिने भए पनि गम्भीर रोग ल्याब परीक्षणबाट मात्रै थाहा हुने बताए।
कार्यालयका अनुसार पशुको शारीरिक जाँच अन्तर्गत हिँडाइ, छालाको रङ, चिल्लोपना र झोक्र्याएको छ/छैन भन्ने मात्रै हेरिन्छ। क्लिनिकल अन्तर्गत तापक्रम, आँखाको अवस्था, किर्ना–जुम्रा, गिजा, जिव्रो, नाकको ओसिलो पना, मुटुको धड्कन, स्वासप्रस्वास दर मात्रै जाँच गरिन्छ। यीमध्ये तापक्रम नाप्ने थर्मोमिटर र धड्कन चेकजाँच गर्ने आलाबाहेक कार्यालयमा अन्य उपपकरण उपलब्ध छैनन्।
पशु चिकित्सकका अनुसार पिपिआर खसीबोकामा देखिने खतरनाक रोग हो। यो रोग लागेका सिगान आउने, मुखबाट र्याल आउने, गिजामा सेता दाना देखिने हुन्छ। यस्तो अवस्थामा तुरुन्त ल्याब परीक्षण गर्नुपर्ने हुन्छ।
प्रमुख शर्माले चाडपर्वका समयमा र नेपालकै ठूलो नाका भएकाले यहाँ पिपिआर जाँच गर्ने उपकरण अनिवार्य भएको बताए। उनले ल्याबसहित परीक्षण किट भएमा आयातकर्ताहरू लामो समय सीमामै रोकिनुपर्ने अवस्था हट्ने जनाए।
‘टेष्ट किटले तुरुन्त रोग पत्ता लगाउन सकिन्छ, किट मात्रै यहाँ भए पनि धेरै सजिलो हुन्छ’, उनले भने।
निरोगिता जाँच्ने उपकरण नै नहुँदा शुद्ध किटाणुरहित मासु खान पाउने उपभोक्ताको अधिकार पनि कुण्ठित भएको छ।
खसीबोकाको आयातसँगै मूल्यांकनमा पनि वृद्धि
यसैबीच भारतबाट आयात हुने खसीबोकाको मूल्यांकनमा वृद्धि भएको छ। साउन महिनासम्म प्रति खसीबोकाको मूल्यांकन भारतीय रुपैयाँ ४ हजार ५ सय रहेकोमा भदौ महिनादेखि वृद्धि गरी ५ हजार भारतीय कायम भएको छ।
खसीबोकाको भन्सार शुल्क कृषि सेवाशुल्कबापत ५ प्रतिशत मात्र लाग्दै आएकोमा यो वर्षदेखि भन्सार विन्दुमै व्यवसायीले अग्रिम आयकरबापत ५ प्रतिशत राजस्व बुझाउनुपर्ने प्रावधान रहेको छ।
विगतमा कृषि सेवा शुल्क मात्रै लाग्दै आउँदा व्यवसायीहरूले नक्कली फर्म खडा गरी आयकर नै नबुझाउने र हरेकपल्ट नयाँ फर्मबाट आयात गर्न थालेपछि यो पटकदेखि भन्सार विन्दुमै सरकारले अग्रिम आयकरको व्यवस्था गरेको हो।
अहिले भन्सारमा कृषि तथा अग्रिम आयकरबापत खसीबोका आयात हुँदा २ करोड ७० लाख ४ सय ६ रुपैयाँ संकलन भइसकेको सूचना अधिकृत पौडेलले बताए। मासु व्यवसायीका अनुसार भारत उत्तर प्रदेश राज्यको विभिन्न सहरबाट खसीबोका आयात हुन्छ ।