भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेड अन्तर्गत सेती नदी हाइड्रो पावर लिमिटेडले तीन वर्षभित्रै विद्युत उत्पादन सुरू गर्ने जनाएको छ।
भिजन लुम्बिनीसँगै एक हजार बढी लगानीकर्ताको सामूहिक लगानी रहेको उक्त कम्पनीले सेती खोला जलविद्युत आयोजनाबाट २५ मेगावाट विद्युत उत्पादन गर्नेछ।
करिब पाँच अर्ब रुपैयाँको लागतमा विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको उक्त आयोजनामा बढीभन्दा बढी लगानीकर्ताको सहभागिता गराउने लक्ष्य लिइएको छ।
कम्पनीले विद्युत खरिदको लागि नेपाल विद्युत् प्राधिकरणसँग हालै सम्झौता गरिसकेको छ।
भिजन लुम्बिनीले मेघा प्रोजेक्टको रूपमा अघि सारेको सेतीखोला जलविद्युत आयोजनाबारे जानकारी दिन आइतवार आयोजित पत्रकार भेटघाटमा भिजन लुम्बिनीका अध्यक्ष जगत बहादुर पोखरेलले विद्युत प्राधिकरणसँग वर्षायाम र हिउँदयाममा फरक/फरक मूल्यमा विद्युत खरिद सम्झौता गरिएको जानकारी दिए।
वर्षायाममा भन्दा हिउँदयाममा पानीको स्रोत कम हुने र विद्युत उत्पादन समेत घट्ने भएकोले विद्युतको दर केही बढी तय गरिएको बताए।
आयोजनाले उत्पादन गरेको विद्युत वर्षायाममा ४ रुपैयाँ ८० पैसा र हिउँदयाममा ८ रुपैयाँ ४० पैसा प्रति युनिटमा विद्युत प्राधिकरणले खरिद गर्ने जानकारी दिए।
कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. २ भराभुरीमा निर्माण हुने उक्त आयोजना निर्माणका लागि स्थानीयसँग गत साउनमै १४ बुँदे सम्झौता भइसकेको थियो।
भिजन लुम्बिनीका अध्यक्ष पोखरेलले संस्थाले बुटवललाई केन्द्र बनाएर जलविद्युत तथा उर्जा, स्वास्थ्य, शिक्षा, अर्थ तथा वित्त, पर्यटन, व्यापार, सञ्चार, अध्ययन तथा अनुसन्धानको क्षेत्रमा विभिन्न योजना सञ्चालन गरिएको जानकारी दिए।
नमूना जलविद्युत परियोजनाको रूपमा स्थापित हुने गरी समयमा नै सम्पन्न गरिने उनले प्रतिवद्वता जनाएका छन्।
प्राविधिक पाटोको काम सम्पन्न भैसकेको र आर्थिक व्यवस्थापनमा कुनै समस्या नरहेकाले परियोजनाको काम समयमा नै सम्पन्न हुने आश्वासन दिएका छन्।
एक हजार सदस्य रहेको भिजन लुम्बिनीले उर्जा कम्पनी लिमिटेडले सेतीनदी हाइड्रोपावरको नामबाट दर्ता गरी वाणिज्य बैंकमा खाता सञ्चालन गरेको छ।
उर्जा संकटलाई निर्मूल पार्ने मुख्य लक्ष्यसहित भिजन लुम्बिनीले माछापुच्छ्रे गाउँपालिका वडा नम्बर २ सँग १४ बुँदे सहमति गरिएको अध्यक्ष पोखरेलले जानकारी दिए।