संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अबको ९ महिनाभित्र (२०१९ को अगस्ट/सेप्टेम्बरमा) पूरा गर्ने दाबी गरेका छन्।
लुम्बिनी बौद्ध विश्वविद्यालयको १४ औं वार्षिकोत्सवको अवसरमा लुम्बिनीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले सो अवधिसम्म भैरहवा लुम्बिनी सडकको काम समेत पूरा हुने बताएका हुन्।
सरकारले धेरै देशसँग हवाई सम्झौता गरिसकेको र ती देशहरूलाई लुम्बिनीसम्मको हवाई अनुमति समेत दिएको उल्लेख गर्दै मन्त्री अधिकारीले अबको एक डेढ वर्ष पछाडि लुम्बिनीमा धेरै कुरा परिवर्तन हुने बताए।
प्रत्येक महिना लुम्बिनीमा २८ प्रतिशत पर्यटक संख्यामा वृद्धि भएको उल्लेख गर्दै मन्त्री अधिकारीले पर्यटकको बसाई लम्बाउने गरी यहाँको विकास गर्न सके सन् २०२० मा १८ लाख पर्यटक लुम्बिनी भित्रिने दाबी गरे।
साथै, मन्त्री अधिकारीले लुम्बिनीमा गत वैशाखमा शिलान्यास भएको ५ हजार क्षमताको सभा भवन २०७७ साल वैशाख पूर्णिमाको दिन उद्घाटन गर्ने जिकिरसमेत गरे।
उनले केन्जियो टांगेले बनाएको गुरुयोजनाको बाँकी रहेको ३० प्रतिशत कामको लागि एकैपटक ग्लोबल टेण्डरमा गई ३ वर्षभित्र सम्पन्न गर्ने दाबी गर्दै त्यसको लागि आवश्यक पर्ने करिब ६ अर्ब बजेट सरकार र लुम्बिनी विकासकोषले व्यवस्थापन गर्ने बताए।
‘नेपालको सबैभन्दा धेरै पर्यटक आउने स्थान लुम्बिनी भएको छ,’ उनले भने ‘लुम्बिनीलाई कसरी शान्ति ज्ञानको केन्द्र बनाउन सकिन्छ त्यसतर्फ दत्तचित्त हुन आग्रह गर्दछु ।’
उनले संसारका विश्वविद्यालयसँगको प्रतिस्पर्धामा आफूलाई खरो रूपमा स्थापित गर्दै बुद्ध दर्शन अध्ययन मात्र होइन टुरिजम र इन्जिनियरिङ अध्ययनको लागि पनि योजना अघि बढाउन विश्वविद्यालयलाई आग्रह गरे।