ऋण सम्झौताअनुसार नेपाल सरकारले काम गर्न नसकेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षमता विस्तार परियोजनामा नयाँ सम्झौता हुने भएको छ।
यसअघिको सम्झौतालाई खारेज गरेर नयाँ सम्झौताबाट परियोजना अघि बढाउन ऋणदाता एसियाली विकास बैंक तयार भएको छ।
लामो समयदेखि काम हुन नसकेपछि उक्त आयोजनाको सन्दर्भमा असन्तुष्ट रहेको एडीबीले ऋण सम्झौता भंग गर्ने निष्कर्षमा पुगेको थियो।
१० वर्ष अघिको मोडालिटीमा रहेको आयोजना अब काम नलाग्ने र नयाँ मापदण्ड तय गरेर आयोजना विकास गर्न नेपाल सरकारले आग्रह गरेको थियो। सो कुरामा एडीबी सहमत भएको अर्थ सम्बद्ध उच्च स्रोतले जानकारी दिएको छ।
सन् २००९ म एडिबीसँग ऋण सम्झौता भएको थियो । उक्त परियोजनामा एडिबीले ८ करोड अमेरिकी डलर उपलब्ध गराएको थियो। सन् २०१६ मा सम्पन्न हुनुपर्ने आयोजनाको अहिलेसम्म कुनै पनि उल्लेख्य काम अघि बढ्न सकेको छैन।
सन् २०१३ मार्च १६ मा स्पेनको सान्जेसो कम्पनीसँग तीन वर्षमा आयोजना सम्पन्न गर्ने गरी सम्झौता भएको थियो। आयोजना सम्पन्न गरिसक्नुपर्ने मसय सन् २०१६ सम्म जम्मा १६ प्रतिशत काममात्र गरेपछि नागरिक उड्डयन प्राधिकरणले ठेक्का सम्झौता रद्ध गरेको थियो।
सम्झौता रद्ध भएको दुई वर्षसम्म ठेक्का गर्न नसकेपछि एडिबीले असन्तुष्टि व्यक्त गर्दै आएको थियो। लामो समयसम्म काम नभएपछि संसारमा नयाँ प्रविधिको विकास भएको र त्यही अनुसार आयोजनाको डिजाइन र मापदण्ड पनि नयाँ बनाएर अघि बढ्नुपर्ने सरकारी योजना रहेको छ।
सोहीअनुसार बजेटरी साहयता स्वरुप ऋण लिएर सरकारले विमानस्थलमा क्षमता विस्तारको काम अघि बढाउने बताएको छ।
सान्जेसँग ठेक्का रद्ध भएपछि प्राधिकरणले चारवटा प्याकेज बनाएको थियो। जसमा तीनवटाको टेन्डर भइसकेको छ भने मुख्य काम रहेको अन्तिम प्याकेजको टेन्डर हुनसकेको छैन।
भएको टेन्डरमा पुरानै सम्झौताअनुसार रकम उपलब्ध गराउन बैंक सहमत भएको छ भने बाँकी कामका लागि भने नयाँ सम्झौताअनुसार काम हुने छ।
२०७३ मंसिरमा सान्जोसेसँग ठेक्का रद्द भएपछि विभिन्न प्याकेजमा स्वदेशी कम्पनी पनि सहभागी हुनेगरी टेन्डर गर्ने प्राधिकरणले योजना बनाएको थियो।
सोही योजनाअनुसार अन्तर्राष्ट्रिय टर्मिनल भवनको क्षमता विस्तार, र टर्मिनल भवनभित्रको युटिलिटीको काम गर्न स्वदेशी कम्पनीले ठेक्का पाएर काम गरिरहेका छन्। त्यस्तै दक्षिणतिर ३ सय मिटर धावन मार्ग विस्तारको काम पनि टेन्डर भएको छ।
चिनियाँ कम्पनीले जिम्मा पाएको उक्त धावनमार्ग विस्तारको अझैसम्म सुरु भएको छैन।
विमानस्थलमा यात्रु क्षमता थेग्न नसक्ने टर्मिनल भवन, पर्याप्त पार्किङ वे नभएको भन्दै एसियाली विकास बैंकको ऋण सहयोगमा विमानस्थलको क्षमता विस्तार आयोजना अगाडि बढाइएको थियो।
धावन मार्गसँगै समानन्तर ट्याक्सी वे बनाउने, १९ वटा पार्किङ वे बनाउने, टर्मिनल भवनको क्षमता विस्तार गर्ने उक्त आयोजनाको उद्देश्य रहेको थियो।
जहाज होल्ड हुने मुख्य कारण मध्येको एक पार्किङ वे अभाव हो, त्यस्तै धावनमार्ग बराबरको समानन्तर ट्याक्सी वे नहुँदा उडान तथा अवतरणले समय बढी लिने गरेको प्राविधिकहरूले भनाइ छ।
यस्ता पूर्वाधार निर्माण भएपछि हालको भन्दा २० देखि ३० प्रतिशत ट्राफिक क्षमता बढ्ने अधिकारीहरूको अनुमान छ। यो कामका लागि अब नयाँ डिजाइन बन्ने छ।