माछापालक किसान भन्दा बाहिरकालाई अध्यक्ष बनाएपछि कपिलवस्तु माछा जोनमा असन्तुष्टि बढेको छ।
प्रधानमन्त्री आधुनिक कृषि परियोजना अन्तर्गत तयार भएको कपिलवस्तु माछा जोनको अध्यक्षमा रामचन्द्र शाह (बिष्णु शाह) लाई अध्यक्ष बनाएपछि किसानहरूमा असन्तुष्टि बढेको हो ।
वार्षिक करिब साढे २ करोड बजेट रहेको उक्त समितिमा शाहलाई जबर्जस्ती अध्यक्ष बनाउने चलखेल सुरू भएपछि अधिकांश माछा पालक कृषकहरूले माछा जोनले आयोजना गरेको बैठक बहिष्कार गरेका थिए ।
नेकपाका नेता शाह पछिल्लो समय गठित नेकपाको कपिलवस्तु जिल्ला कमिटीका प्रस्तावित सचिव हुन् भने प्रदेश कमिटीमा सदस्य छन्। शाह संघीय सरकारका कृषि मन्त्री चक्रपाणि खनाल (बलदेव) का नजिकका आफन्त समेत हुन् ।
माछा जोनले कपिलवस्तु जिल्लामा ५० हेक्टरमा माछा पोखरी खन्ने कामका लागि एक करोड ५० लाख रुपैयाँ र बाँकी रकम कार्यालय व्यवस्थापन गर्ने गरी व्यवस्था गरिएको छ।
‘विष्णु शाहले परियोजनाका लागि आफूले बजेट ल्याएको भन्दै आफैंलाई अध्यक्ष बनाउन दबाब दिएपछि हामीले माछा पालनसँग असम्बन्धितलाई अध्यक्ष नबनाउन आग्रह गर्यौं, हाम्रो कुरा नसुनेपछि हामीले बहिष्कार गरेका हौं,’माछा पालक इलियास मुसलमानले सेतोपाटीसँग भने।
‘तलबबाहेक किसानका लागि डेढ करोड भन्दा बढी बजेट छ, त्यो सबै उपकरण र अनुदानमा बाँड्ने हो त्यसैमा चलखेल गर्न अध्यक्ष नभई छोडेनन्। उनको कहीकतै माछा पोखरी नै छैन किन अध्यक्ष हुन खोजे आफैं बुझ्नुस्’, पूर्व विधायकसमेत रहेका ईलियासले भने ।
माछा जोनका परियोजना प्रमुख घनश्याम चौधरीले किसानहरूले बहिष्कार गरेको नभई केही किसानले आफूहरू अध्यक्ष हुन नपाएकोले असन्तुष्टि पोखेको बताए ।
यता किसानहरूले अध्यक्ष शाहले अरुको कागजातमा मिलाएर आफू अध्यक्ष बनेको र उनले भनेको बुद्धभूमि भन्ने स्थानमा बिष्णु शाहको नाममा कहि कतै माछा पोखरी समेत नभएको दाबी गरेका छन्। शाहको बसोबास वाणगंगा नगरपालिकामा रहेको छ ।
मुसलमानका अनुसार ६० जना किसानहरूमध्ये निर्वाचित भएका ३ जना र पोखरी ठेक्कामा लिएका केहीबाहेक अरु निजी माछा पोखरी भएका सबै किसानले बैठक बहिष्कार गरेका थिए ।