त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार परियोजनामा ऋणदाता एसियाली विकास बैंक(एडीबी) असन्तुष्ट बनेको छ। सन् २००९ मै ऋण सम्झौता भएर ठेकेदार विवादका कारण लम्बिएको उक्त परियोजना असारमै ठेक्का लगानइसक्नुपर्ने भएपनि मंसिरमा नागरिक उड्डयन प्राधिकरणले टेन्डर आव्हान गरेको थियो।
टेन्डर आव्हान गर्दा कुनै पनि सल्लाह नगरेको भन्दै बैंकका अधिकारीहरुले असन्तुष्टि व्यक्त गरेका छन्। प्राधिकरणले पुस २४ गते उक्त ग्लोबल टेन्डर आव्हान गरेको थियो। अन्तर्राष्ट्रिय जहाज एप्रोनको विस्तार, नयाँ अन्तर्राष्ट्रिय रिमोट एप्रोनको निर्माण ट्याक्सी वे पहुँचमार्ग बनाउनका लागि आव्हान गरिएको टेन्डरमा एसियाली विकास बैंकबाट वित्तीय लगानी हुने उल्लेख गरिएको छ।
अघिल्लो ठेक्का रद्ध भएको लामो समयसम्म कुनै पनि प्रगति हुन नसकेको भन्दै ऋणदाता एडीबीले ऋण सम्झौता नविकरण नगर्ने निष्कर्षमा पुगिसकेको थियो। तर उक्त कुराको जानकारी टेन्डर आव्हान भएपछिमात्र प्राधिकरणलाई जानकारी भएको महानिर्देशक संजिव गौतमले जानकारी दिए।
ऋण सम्झौता नविकरण गर्ने बैंकले सुनाएपछि अर्थमन्त्रालयले बजेटरी साहयताबाट लगानी जुटाउने छलफल अघि बढाएको थियो। सोही क्रममै टेन्डर आव्हान भएपछि एडिबी, प्राधिकरण र अर्थ मन्त्रालयका अधिकारीहरु सम्मिलित बैठकमा विवाद उत्पन्न भएको सहभागी एक अधिकारीले जानकारी दिए।
टेन्डर नै एडिबीको लगानी भनेर प्रकाशित भएपछि अब उक्त काम के हुन्छ? भन्ने प्रश्नमा प्राधिकरणका महानिर्देशक गौतमले भने,‘काम अघि बढ्छ यसमा लगानीको कुनै पनि कमी हुनेछैन।’
उक्त परियोजनामा एडिबीले ८ करोड अमेरिकी डलर उपलब्ध गराउनले सम्झौता भएको थियो। सन् २०१६ मा सम्पन्न हुनुपर्ने आयोजनाको अहिलेसम्म कुनै पनि उल्लेख्य काम अघि बढ्न सकेको छैन।
सन् २०१३ मार्च १६ मा स्पेनको सान्जेसो कम्पनीसँग तीन वर्षमा आयोजना सम्पन्न गर्ने गरी सम्झौता भएको थियो। आयोजना सम्पन्न गरिसक्नुपर्ने मसय सन् २०१६ सम्म जम्मा १६ प्रतिशत काममात्र गरेपछि नागरिक उड्डयन प्राधिकरणले ठेक्का सम्झौता रद्ध गरेको थियो।
सम्झौता रद्ध भएको दुई वर्षसम्म ठेक्का गर्न नसकेपछि एडिबीले असन्तुष्टि व्यक्त गर्दै आएको थियो। लामो समयसम्म काम नभएपछि संसारमा नयाँ प्रविधिको विकास भएको र त्यही अनुसार आयोजनाको डिजाइन र मापदण्ड पनि नयाँ बनाएर अघि बढ्नुपर्ने सरकारी योजना रहेको छ।
सान्जेसँग ठेक्का रद्ध भएपछि प्राधिकरणले चारवटा प्याकेज बनाएको थियो। जसमा तीनवटाको टेन्डर भइसकेको छ भने मुख्य काम रहेको अन्तिम प्याकेजको टेन्डर हालैमात्र भएको हो।
२०७३ मंसिरमा सान्जोसेसँग ठेक्का रद्द भएपछि विभिन्न प्याकेजमा स्वदेशी कम्पनी पनि सहभागी हुनेगरी टेन्डर गर्ने प्राधिकरणले योजना बनाएको थियो।
सोही योजनाअनुसार अन्तर्राष्ट्रिय टर्मिनल भवनको क्षमता विस्तार, र टर्मिनल भवनभित्रको युटिलिटीको काम गर्न स्वदेशी कम्पनीले ठेक्का पाएर काम गरिरहेका छन्। त्यस्तै दक्षिणतिर ३ सय मिटर धावन मार्ग विस्तारको काम पनि टेन्डर भएको छ।
चिनियाँ कम्पनीले जिम्मा पाएको उक्त धावनमार्ग विस्तारको अझैसम्म सुरु भएको छैन।
विमानस्थलमा यात्रु क्षमता थेग्न नसक्ने टर्मिनल भवन, पर्याप्त पार्किङ वे नभएको भन्दै एसियाली विकास बैंकको ऋण सहयोगमा विमानस्थलको क्षमता विस्तार आयोजना अगाडि बढाइएको थियो।
धावन मार्गसँगै समानन्तर ट्याक्सी वे बनाउने, १९ वटा पार्किङ वे बनाउने, टर्मिनल भवनको क्षमता विस्तार गर्ने उक्त आयोजनाको उद्देश्य रहेको थियो।
जहाज होल्ड हुने मुख्य कारण मध्येको एक पार्किङ वे अभाव हो, त्यस्तै धावनमार्ग बराबरको समानन्तर ट्याक्सी वे नहुँदा उडान तथा अवतरणले समय बढी लिने गरेको प्राविधिकहरूले भनाइ छ।
यस्ता पूर्वाधार निर्माण भएपछि हालको भन्दा २० देखि ३० प्रतिशत ट्राफिक क्षमता बढ्ने अधिकारीहरूको अनुमान छ। यो कामका लागि अब नयाँ डिजाइन बन्ने छ।