महिलाहरूले मात्रै सञ्चालन गरेको रेडियो दिदीबहिनी पर्वतले एघारौं गण्डकी प्रदेशस्तरीय महिला महोत्सव तथा रेडियोको नवौं वार्षिकोत्सव गर्ने भएको छ। अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा पारेर महोत्सव गर्न लागेको रेडियोले जनाएको छ।
महोत्सवको सन्देश बाँड्न बुटवल आएको रेडियोको टोलीले पत्रकार सम्मेलन गर्दै आउँदो फागुन १७ देखि २५ गतेसम्म पर्वतको कुस्मामा महोत्सव आयोजना गर्न लागेको जानकारी गराएको हो।
त्यसअवसरमा बोल्दै रेडियोका अध्यक्ष कल्पना चापागाईंले महिलाहरूको प्रतिभाको उजागर र सीपको प्रदर्शनका लागि महोत्सव गर्न लागिएको बताइन्। पूर्व सांसद समेत रहेकी चापागाईंले महिलाहरूले सञ्चालन गरेका संघसंस्थाहरूले गरेका सकारात्मक सन्देशहरू प्रचारप्रसार गर्नको लागि पनि महोत्सव सञ्चालन गर्दै आएको बताइन्।
२०६६ साल फागुन २४ गते स्थापना भएको रेडियोले स्थापना कालदेखि नै हरेक वर्ष महिला महोत्सव आयोजना गर्दै आएको र यस वर्ष पनि त्यसैलाई निरन्तरता दिइएको अध्यक्ष चापागाईंले बताईन् ।
महोत्सवमा पशु, कृषि, महिला उद्यमलगायतको प्रदर्शनसँगै कलासंस्कृतिको संरक्षण र विभिन्न प्रतियोगिता समेत आयोजना हुँदैछन्। महोत्सवको अवसरमा तेस्रो रेडियो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुँदै छ।
प्रतियोगितामा प्रथम हुने टिमले २ लाख, द्वितियले १ लाख र तृतिय हुने टिमले ५० हजार पुरस्कार प्राप्त गर्ने छन्। त्यसैगरी ५० हजार पुरस्कार राशीको दिदीबहिनी डान्स आइडल प्रतियोगिता, २५ हजार राशीको खुला दौड प्रतियोगिता, २५ हजार राशीको रत्यौली, १५ हजार राशीको भजन लगायतका प्रतियोगिताहरू आयोजना गरिने अध्यक्ष चापागाईंले जानकारी दिइन्।
प्रतियोगितामा दोस्रो र तेस्रो हुने समूहलाई पनि नगद पुरस्कार प्रदान गरिने छ भने महोत्सवको अवसरमा निकालिने र्यालीमा झाँकीसहित सहभागिता जनाउने उत्कृष्ट समूह तथा संघसंस्थालाई समेत नगदसहित पुरस्कृत गरिने चापागाईंले बताईन् । र्यालीमा पर्वत, बाग्लुङ र कास्कीका समेत गरी १ सय ५० बढी संघसंस्थाले सहभागिता जनाउने उनले दाबी गरिन्।
महोत्सवममा तेस्रो दिदीबहिनी कप राष्ट्रिय महिला भलिवल प्रतियोगिताका साथै प्रथम दिदीबहिनी डान्स आइडल प्रतियोगित, खुला दौड प्रतियोगिता, रत्यौली प्रतियोगिता, भजन प्रतियोगिता, उत्कृष्ट र्याली तथा झाँकी प्रदर्शन प्रतियोगिता, पर्वतका सातवटै पालिकामा निःशुल्क स्वास्थ्य शिविर, विभिन्न राष्ट्रियस्तरका लोक गायकगायिकाको सांगीतिक प्रस्तुती, हाँस्यव्यङ्गय प्रस्तुती, जनचेतनामूलक कार्यक्रम प्रस्तुती र जेष्ठनागरिक, अनाथ बालबालिका, एकल महिला, अपाङ्गता भएका व्यक्तिहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।
त्यसैगरी पशु प्रदर्शनी, कृषि प्रदर्शनी साथै महिला उद्यमी र विशिष्ट व्यक्तित्वहरूलाई सम्मान कार्यक्रम सञ्चालन हुने छ। महोत्सवका अवसरमा तेस्रो दिदीबहिनी कप राष्ट्रिय महिला भलिवल प्रतियोगिता हुने छ।
उक्त प्रतियोगितामा विभागीय टिमसहित अन्य समूहको सहभागिता हुनेछ। उक्त प्रतियोगितामा प्रथम हुनेले २ लाख पुरस्कार पाउने छन्। रेडियो दिदीबहिनी २०६६ साल फागुन २४ गते १०० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा स्थापना भएको थियो।