सरकारले नागरिक उड्डयनको नियमक र सेवाप्रदायक छुट्टै बनाउने भएको छ। नागरिक उड्डयन ऐनको प्रस्तावित मस्यौदाले हवाई सेवाको नियमन र विमानस्थल निर्माण, संचालन गर्ने छुट्टै संरचना बनाउन लागेको छ।
मस्यौदामा नागरिक उड्डयन प्राधिकरण र एयरपोर्ट सेवा प्राधिकरण भन्ने दुईवटा संस्था गठन गर्ने व्यवस्था गरिएको छ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार पारेर विभिन सरकारी निकायमा सहममतिका लागि पठाइएको मस्यौदामा दुवै प्राधिकरणलाई स्वायत्त बनाइने व्यवस्था गरिएको छ।
यसमा नागरिक उड्डयन प्राधिकरण नियमकको हैसियतमा हुने छ। यसले सेवा प्रदायकहरुलाई लाइसेन्स, सुरक्षा अनुगमनजस्ता काम गर्ने छ।
एयरपोर्ट सेवा प्राधिकरणले भने विमानस्थलको निर्माण, संचालन गर्ने छ। यसले नागरिक उड्डयन प्राधिकरणले तोकेको नियमको अधिनमा रही सेवा प्रवाह गर्नुपर्ने छ। विमानस्थल बनाउने अधिकार सरकार र निजी क्षेत्रमा पनि हुने छ।
नागरिक उड्डयन प्राधिकरणको कार्यकारी नेतृत्वमा महानिर्देशक हुने छन्। यसको बोर्ड अध्यक्ष संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुने छन्।
एयरपोर्ट सर्भिस अथोरीटीको कार्यकारी नेतृत्वमा महाप्रबन्धक हुने छन्। यसको बोर्ड अध्यक्ष संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हुने व्यवस्था प्रस्ताव गरिएको छ।
अहिले भएको भौतिक सम्पत्ति नागरिक उड्डयन प्राधिकरणलाइ आवस्यक भएको बाहेक सबै एयरपोर्ट सर्भिस अथोरीटीको हुने छ। यो संस्थासँले नागरिक उड्डयन एकेडेमी पनि संचालन गर्ने छ।
हवाई भाडा र महसुल भने मन्त्रालयले निर्धारण गर्ने छ।
अहिलेको नागरिक उड्डयन प्राधिकरणमा काम गरिरहेका कर्मचारीलाइ ऐन जारी भएपछि संस्था छनौटको अवसर दिइने छ। ६० दिनको उक्त अवधिमा कर्मचारीले संस्था छनौ गरिसकेपछि अहिले खाइपाइ आएको तलब सुविधामा कुनै असर नपर्ने व्यवस्था मस्यौदामा गरिएको छ।
नागरिक उड्डयनका क्षेत्रमा नियमक र सेवाप्रदायक एउटै हुने व्यवस्थाले उड्डयन सुरक्षाको सही नियमन हुन नसकेको भन्दै अन्तर्राष्ट्रिय संस्थाहरुले असहमति जनाउँदै आएको हालको प्राधिकरणका अधिकारीहरुले बताउँदै आएका छन्।
यसअघि ऐनको मस्यौदा बनाइएको भएपनि सरकारले फेरि नयाँ ऐनको मस्यौदा बनाएको छ। अन्य सरकारी निकायहरुबाट सहमति आएपछि मन्त्रालयले मन्त्रिपरिषदमा लिने छ। त्यहाँबाट स्वीकृत भएपछि संसदमा जाने छ।
संसदबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ऐनको रुपमा लागू हुनेछ। त्यसपछि नागरिक उड्डयन टुक्र्याउने काम शुरु हुने छ।