बुटवल उपमहानगरपालिकाले साढे तीन सय बढी युवाहरूलाई सीपमूलक काम सिकाएको छ।
उपमहानगरले एक परिवार एक रोजगार/स्वरोजगार (नगर प्रमुख युवा इलम) कार्यक्रम अन्तर्गत युवाहरूलाई सीपमूलक काम सिकाएको हो।
मेयर युवा इलम नामको नौलो कार्यक्रममार्फत् पहिलो चरणमा बुटवलका १९ वडाका तीन सय ६५ युवाहरूलाई इलम सिकेको प्रमाणपत्रसमेत वितरण गरिएको छ।
इलम सिकेका युवाहरूलाई दक्षताका आधारमा रोजगारादाताहरूको सहकार्यमा रोजगारीसमेत दिने गरी इलम सिकाउने अभियान सुरू गरिएको उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जानकारी दिए।
युवा स्वरोजगार कार्यक्रम यस क्षेत्रको नमूना र स्वागतयोग्य कार्यक्रम मानिएको छ। सोही अभियानस्वरूप पहिलो चरणको प्राविधिक तालिम लिएका दुई सय ३२ जना युवाहरूलाई बुधबार प्रमाणपत्र वितरण गरिएको छ।
सीप विकास तालिम केन्द्रमार्फत् युवाहरूलाई कुक, एसी तथा रेफ्रिजेरेटर मर्मत तथा प्लम्बिङ र फेसन डिजाइनरसम्बन्धी सीप सिकाइएको थियो। कुक तालिम लिएका ८० जना, एसी तथा रेफ्रिजेरेटर मर्मत तालिम लिएका ४६ जना, प्लम्बिङ तालिम लिएका १२ जना र फेसन डिजाइन तालिम लिएका ९४ जनालाई बुधबार सीप सिकेको प्रमाण पत्र वितरण गरिएको उपमहानगरका प्रमुख सुवेदीले जानकारी दिए।
उपमहानगरपालिकाले सुरू गरेको यो अभियानमा यस क्षेत्रका रोजगारदाता र प्राविधिक शिक्षा केन्द्रहरूले सहकार्य गरेका छन्। तालिम लिन इच्छुकको विषय छानेर तिनै तालिम प्रदायककोमा पठाइएको र कम्तीमा तीन महिनासम्म प्रयोगात्मक रूपमै तालिम दिइएको उपप्रमुख गुमादेवी आचार्यले जानकारी दिइन्।
सीप सिकेका युवाहरूलाई रोजगारीका लागि रोजगादाताहरूसँगको समन्वयमा अर्को चरणको कार्यक्रम समेत अगाडि बढाउने बारेमा छलफल भइरहेको उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए।
एसी बनाउने तालिम लिएका बुटवल १६, सेमलारका त्रिभूवन कँडेलले आफूमा आत्मविश्वास र हौसला बढेको बताए। उनले आधारभूत तालिम लिएकालाई अर्को एड्भान्स तालिमको व्यवस्था गर्न जरूरी रहेको बताए ।
कुकको तालिम लिएकी कालिकानगरकी मायादेवी सारु, बेलबासकी सिर्जना पन्थी, पाखापानीकी बेबी रायमाझी तथा फेसन डिजाइनको तालिम लिएकी राधिका घिमिरे लगायतले तालिमले दक्ष बनाउने काम गरेको प्रतिक्रिया दिए।
उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिग्देलका अनुसार युवाहरूलाई हेभी हाइड्रोलिक सिस्टम (स्काभेटर, डोजर, ग्रेडर, रोलर, भाइब्रेटर) का उपकरणहरूको मर्मत गर्नेबारे तालिम दिइएको थियो।
त्यस्तै, अटो मेकानिक्स, जनरल मेकानिक्स, विल्डिङ सोलार इलेक्ट्रिकल, होटल म्यानेजमेन्ट अन्तर्गतको कुक तालिम, तथा एसी, रेफ्रिजरेटर मर्मत लगायतका विषयमा समेत तालिम दिइएको थियो ।