पोखरामा नेपाल-भारत ऊर्जा बैठक बुधबारदेखि सुरू भएको छ।
बुधबार भएको सहसचिवस्तरीय बैठकले पारित गरेका विषयलाई बिहिबार हुने सचिवस्तरीय बैठकमा छलफल हुनेछ।
बैठकमा नेपाल-भारत सीमापार विद्युत प्रसारण लाइन निर्माण र इनर्जी बैंकिङका बारेमा छलफल भएको ऊर्जा मन्त्रालयका सहसचिव प्रवीणराज अर्यालले जानकारी दिए।
बैठकमा सन् २०१७ को फेब्रुअरीमा काठमाडौंमा भएको सचिवस्तरीय र गत १६ अप्रिल २०१८ मा नयाँ दिल्लीमा भएको पाचौं सहसचिवस्तरीय (जेडब्लूजी) बैठकका निर्णयमाथि समीक्षा हुने अर्यालले जानकारी दिए । बैठकमा ढल्केबर (नेपाल)-मुजफ्फरपुर (भारत) ४०० केभी प्रसारण लाइनलाई २२० केभी र ४०० केभीमा सञ्चालन गर्ने, कटैया कुसाहा १३२ केभी प्रसारण लाइन र रक्सौल परवानीपुर १३२ केभी प्रसारणबारे छलफल गर्ने, न्यू बुटवल गोरखपुर (न्यू) ४०० केभी प्रसारण लाइन निर्माणको मोडालिटीमा सहमति गर्ने लगाएतका बारेमा छलफल भएको सहसचिव अर्यालले जानकारी दिए। अघिल्लो महिना नयाँ दिल्लीमा भएको नेपाल भारत ऊर्जा आदानप्रदान समितिको १३ औं बैठकले दुई देशबीच इनर्जी बैंकिङका लागि सहमति जनाएको थियो।
सहमतिलाई पोखरा बैठकले अनुमोदन गरेपछि कार्यान्वयनमा आउने उनले बताए।
बैठकमा दुवै देशको उर्जा सचिव, सहसचिव, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतको सहभागिता रहेको छ। बैठकमा भाग लिनका लागि भारतीय उर्जा सचिव अजय भल्लाको नेतृत्वमा टोली पोखरा आएको छ ।