भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक निर्माणको काम असारसम्म सम्पन्न गर्ने आयोयोजनाको लक्ष्य छ। दुईपटक म्याद थप गरेर सन् २०१९ को जुनसम्म सम्पन्न गर्ने लक्ष्य लिइएको उक्त विमानस्थलमा अहिले धमाधम काम भइरहेको छ।
धावन मार्ग कालोपत्रे, टर्मिनल र टावरका भवन बनाउने काम अहिले भइरहेको छ।
आयोजना प्रमुख इन्जिनियर प्रवेश अधिकारीले २०७५ को बैशाखसम्म टावर,टर्मिनल, एप्रोन(जहाज पार्किङ),धावन मार्ग र समानन्तर ट्याक्सी वेको काम सकिने बताए।
चार तहको कालेपत्रे हुने धावनमार्गके कालोपत्रेमा अहिले दोस्रो तहको २३ सय मिटरसम्म सकिएको छ। धावनमार्ग ३ हजार मिटरको छ। तेस्रो तहको पिचका लागि डिजाइन स्वीकृत हुने क्रममा रहेको छ। दैनिक २ सय मिटरका दरले कालेपत्रेको काम भइरहेको अधिकारीले बताए।
'यद्यपी ट्याक्सी वे पनि सँगै लिएर जानुपर्ने भएकाले हामी साढे तीन महिनामा एप्रोनसहित पूर्वाधार बनाउछौं' अधिकारीले भने।
टावरको काम तीव्र गतिमा भइरहेको बताउँदै उनले टर्मिनलको रुफ ट्रस(छाना) भन्सारमा आइसकेको जानकारी दिए। कालोपत्रे र अन्य कामका लागि पर्याप्त निर्माण सामग्री भएको र व्यापक साथ र समर्थन पाएकाले भौतिक निर्माण समयमै सम्पन हुने अधिकारीको भनाइ छ।
मौसमले साथ दियो, प्रदेश सरकारको उल्झन
विमानस्थल निर्माणमा धेरै कुराको साथ र समर्थन रहेको छ। यतिसम्म किन मौसमले पनि साथ दिएको आयोजना प्रमुख अधिकारीले बताए।
'हामीलाइ मौसमले पनि साथ दियो यो पाली नत्र हामीले पुसदेखि काम रोक्नुपर्ने हुनसक्थ्यो शितलहर चलेको भए तर यो पाली त्यस्तो भएन' उनले भने।
तर यहाँ अर्को समस्या छ त्यो हो माटोमा बढेको कर।
विमानस्थलका मुख्य पूर्वाधार निर्माणमा आवस्यक पर्ने सामग्री पर्याप्त भएपनि धावनमार्ग र ट्याक्सी वे को छेउ(स्ट्रिप वे) मा चाहिने माटोको अभाव देखिन थालेको छ।
स्ट्रिप वे सुरक्षाका लागि माटो राख्नुपर्ने हुन्छ। त्यसमा आवस्यक पर्ने माटोमा सरकारी करले असर परेको अधिकारीले जानकारी दिए। पहिले प्रति क्वफिट ५० पैसा रहेको माटोको कर अहिले बढेर अहिले ३ रुपैयाँ पुगेको छ।
यतिसम्म कि निजी जमिनको माटो किनेर ल्याउँदा पनि यही कर लागेको छ। पहिले स्थानीय तहले सार्वजनिक जग्गाबाट ल्याएको माटोमा वातावरण शुल्कको नाममा ५० पैसा उठाउथ्यो।
अहिले २ रुपैयाँ प्रदेश सरकारले लगाएको छ भने १ रुपैयाँ स्थानीयले लगाएका छन्।
यसबाट माटो आपूर्तिकर्ताले माटो ल्याउन कठिन भएको बताएको र सहजीकरणका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा जानकारी गराएको अधिकारीले जानकारी दिए।
'यो समस्या समनधान होला भन्नेमा हामी आशावादी छौं मन्त्रालयले पहल गरिरहेको भन्ने हामीले सुनेका छौं' उनले भने।
माटोमा करको बारेमा केही दिन अघि सिंहरदरबारमा सम्पन्न राष्ट्रिय विकास समस्या समाधानको बैठकमा पनि उठेको थियो। उक्त बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्ण देवकोटाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।
उक्त बैठकमा प्रदेश पाँचका मुख्य मन्त्री शंकर पोखरेलले स्थानीय तहले कर लगाएको र समस्या भए समाधान गर्न आफूले पहल गर्ने बताएका थिए।