फागुन ३ गतेदेखि सुर्खेतमा ‘कर्णाली महोत्सव-२०७५’ हुने भएको छ। चेम्बर अफ कमर्स सुर्खेतको आयोजनामा फागुन ३ देखि ११ गतेसम्म महोत्सव सञ्चालन गर्न लागिएको हो। महोत्सव वीरेन्द्रनगर नगरपालिकाको दक्षिणमा रहेको मैदानमा सञ्चालन हुने आयोजक चेम्बर अफ कमर्स सुर्खेतका अध्यक्ष चिन्तामणि शर्माले बताए।
महोत्सवलाई भव्य र सभ्य रूपमा सफल पार्न सबैको सहयोग अपरिहार्य रहेको उनले बताए। ‘कर्णाली महोत्सव-२०७५’ लाई प्रदेशकै उत्कृष्ट बनाउने प्रयासमा आफूहरू रहेको शर्माले बताए।
वीरेन्द्रनगर नगरपालिकाले तयार पारेको मेला तथा महोत्सवससम्बन्धी निर्देशिकापछिको यो पहिलो महोत्सव हो। नगरभित्र हुने मेला तथा महोत्सवसम्बन्धी विषयलाई लिएर बारम्बार विवाद हुन थालेपछि नगरपालिकाले विभिन्न शर्त तथा व्यवस्थासहित ‘मेला तथा महोत्सव सञ्चालन निर्देशिका–२०७५’ केही समयअघि मात्र तयार पारेको छ।
निर्देशिकामा मेला तथा महोत्सव सञ्चालन गर्नुअघि नगरपालिकाबाट स्वीकृति लिनुपर्ने व्यवस्था छ। स्वीकृति लिने क्रममा निर्देशिकामा उल्लेख भएबमोजिम शर्तहरू पूरा गर्ने प्रतिवद्धता गर्नुपर्ने पनि निर्देशिकामा व्यवस्था गरिएको छ।
कर्णाली महोत्सव स्थानीय तहको निर्देशिका अनुसार नै सञ्चालन गरिने आयोजकले जनाएको छ। अध्यक्ष शर्माका अनुसार निर्देशिका अनुसार महोत्सव सञ्चालनका लागि आफूहरूले पेश गरेको निवेदन अनुसार आइतबार मात्र नगरपालिकाले स्वीकृतिसहितको पत्र आयोजकलाई उपलब्ध गराएको छ। निर्देशिकाअनुसार महोत्सव दैनिक बिहान १२ बजेदेखि बेलुका साढे ७ बजेसम्म मात्र सञ्चालन गर्न पाइने छ।
शर्माका अनुसार महोत्सवमा रहने स्टलहरू बुकिङको लागि स्थानीयसँग आवेदन माग गरिने छ। स्थानीयबाट नै स्टल सबै बुकिङ भएमा बाहिरबाट बुकिङ गर्न दिइने छैन। नगरपालिकाले तयार पारेको निर्देशिकामा स्थानीयलाई प्राथमिकता दिनुपर्ने व्यवस्था गरेअनुसार महोत्सवका क्रममा यस्तो व्यवस्था गर्न लागिएको उनले जानकारी दिए।
महोत्सवबाट भएको आम्दानी मध्येको ५ लाख रूपैयाँ सार्वजनिक शौचालय निर्माणमा खर्च गरिने अध्यक्ष शर्माले बताए। नगरपालिकाले छनोट गरेको स्थानमा महोत्सव आयोजकका तर्फबाट सार्वजनिक शौचालय स्थापना गर्न पाँच लाख रुपैयाँ खर्च गर्ने उनले बताए।
शर्माका अनुसार महोत्सवमा सबै जिल्लाको सहभागिता रहनेगरी विभिन्न प्रदर्शनी राखिने छ भने प्रदेशमा हुने सबै खालका उत्पादन महोत्सवमा प्रदर्शनीका रूपमा रहने छन्। कर्णाली प्रदेश सरकारले घोषणा गरेको ‘कर्णाली रारा पर्यटन वर्ष-२०७५’ लाई पनि महोत्सवले सहयोग पुर्याउने गरी क्रियाकलाप गरिने शर्माले जानकारी दिए।
महोत्सव सञ्चालनका लागि ५० लाख रूपैयाँ खर्च लाग्ने अनुमान आयोजकले गरेको छ। महोत्सव अवधिभर १० करोड रुपैयाँ बराबरको कारोबार हुने र २ लाखभन्दा धेरै दर्शकहरूले अवलोकन गर्ने अनुमान आयोजकको छ।