प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले कृषिलाई नै लक्षित गरी आयोजना गरिएको कृषि मेलाले समेत किसानलाई जोड्न नसकेको र मेलाको तयारी समेत नगरिएको भन्दै मेला आयोजकप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
प्रदेश नम्बर ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र बुटवल उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा बुटवल मण्डपमा सञ्चालित कृषि मेलाको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले कृषि मेला भएकोले आयोजकले पर्याप्त तयारी समेत नगरेको गुनासो गरे।
‘मलाई बिहान ११ बजेको लागि निमन्त्रणा गरिएको थियो, ११ बजे मेलास्थलमा आइपुग्दै गर्दा तयारी पूरा नभएको भन्ने जानकारी पाएपछि फर्किएर गए, उनले भने, ‘१ घण्टापछि आउँदा पनि तयारी उस्तै रहेछ।’
भव्य तयारीसहित बुटवल मण्डपमा वर्षेनी हुने राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेलाहरू जस्तै भव्य होला भन्ने आशासहित मेलास्थलमा पुगेका मुख्यमन्त्री पोखरेलले मेलामा राखिएका १ सय २६ वटा स्टलको सामान्य अवलोकन गर्दा नै कृषि मेला भनिए पनि वास्तविक किसानहरूको सहभागिता नदेखिएको बताए ।
मुख्यमन्त्री पोखरेलले मन्त्रालय आफैं सहभागी भएर पनि तयारीबिना मेला आयोजना गरेको भन्दै अबका दिनमा आफूसँग सल्लाह नगरी मेला सञ्चालन नगर्न कृषि मन्त्री आरती पौडेललाई निर्देशन दिए।
‘म आउँदै गर्दा यहाँको दृश्य यस्तो आंकलन गरेको थिइनँ, मुख्यमन्त्रीले भने, ‘अर्को वर्ष कस्तो मेला आयोजना गर्ने भन्ने प्लानिङ मेरो आफ्नै हुन्छ, मसँग सल्लाह नगरी मेला गर्न पाइँदैन।’
मुख्यमन्त्री पोखरेलले कृषि क्षेत्रको विकास र कृषकको स्तर माथि उकासिदासम्म उद्योग, व्यापार, पर्यटन कुनै क्षेत्रको पनि विकास सम्भव नहुने भन्दै सबभन्दा पहिले कृषि क्षेत्रलाई बलियो बनाउनुपर्ने बताए।
‘उद्योगबाट उत्पादित वस्तुको उपभोग गर्न पनि कृषकहरू आर्थिक रूपमा बलियो बन्नु पर्छ, पर्यटनको लागि पनि कृषक बलियो भन्नुपर्छ, सबै क्षेत्रको विकासको जग कृषक हो त्यसैले कृषि क्षेत्रको प्रवर्द्धनमा सबै लागौं,’ उनले भने।
मुख्यमन्त्री पोखरेलले व्यापार व्यवसायबाट बचत गरेको एउटा हिस्सा व्यवसायिक कृषि फर्ममा लगाउन उद्योगी व्यवसायीलाई आग्रह समेत गरे।
प्रदेश पाँचमा कृषि क्षेत्रको पर्याप्त सम्भावना रहेको भन्दै कृषि क्षेत्रलाई व्यवसायिक र आधुनिकीकरण गर्न सके कृषिको हिसाबले प्रदेश पहिलो बन्न सक्ने दाबी गरे।
नेपालको उद्योग, व्यापार र कृषि सबै क्षेत्र निर्वाहमुखी भएको भन्दै निर्वाहमुखी रूपमा चलेका सबै व्यवसायलाई व्यवसायिक र प्रतिस्पर्धी बनाउनुपर्ने बताए।
‘हाम्रो उद्योग क्षेत्रमा कर्पोरेट कल्चर बसेको छैन, कृषि व्यवसायिक बन्न सकेको छैन, व्यापार प्रतिस्पर्धी बन्न सकेको छैन,’ मुख्यमन्त्री पोखरेलले भने, ‘अबको राजनीति यिनै क्षेत्रको विकासको लागि हो।’
उनले प्रदेशको ५० प्रतिशत भूभाग ओगटेको वन क्षेत्रलाई पनि व्यवसायिक बनाउनुपर्ने बताए।
मुख्यमन्त्री पोखरेलले वन पैदावार सडाएर बाहिरबाट काठ आयात गरेर ‘हाम्रो वन हाम्रो धन’ बन्नु नसक्ने भन्दै निजी क्षेत्रसँग सहकार्य गरेर वन क्षेत्रलाई व्यवसायिक बनाउनुपर्ने बताए।
‘हाम्रो वनले जनतालाई आम्दानी दिनसक्नुपर्छ, अहिले हाम्रो वनले बाहिरी मुलुकले उत्सर्जन गरेको कार्वन सोस्ने काममात्र गरेको छ,’ उनले भने।
मेला आयोजक बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिम बहादुर हमालले मेलामा एक सय २६ स्टलको सहभागिता रहेको जानकारी दिए।
मेलाका अवसरमा ६ दिनसम्म बुटवलमण्डपमा कृषि केन्द्रित प्रतियोगिता, अन्तर्क्रिया गोष्ठी र सचेतना कार्यक्रम समेत आयोजना गरिने उनले जानकारी दिए ।
मेलामा प्रदेश नम्वर ५ को उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ, बुटवल उपमहानगरपालिका र किसानका लागि उन्नत बिउबिजन कार्यक्रम प्रवर्द्धनको भूमिकामा रहेका छन् ।