दुर्घटना बढ्दै गएपछि साहसिक खेल प्याराग्लाइडिङको नियमनको जिम्मा नेपाल हवाई खेलकुद संस्थालाई दिइएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल हवाई खेलकुद संस्थालाई प्याराग्लाइडिङ नियमन गर्ने जिम्मा दिएको हो।
क्यानले नेपाल हवाई खेलकुद संस्थालाई व्यवस्थापन, पाइलटको लाइसेन्स, नियमन तथा प्रवर्द्धनसम्बन्धी कार्यका लागि आधिकारिक संस्था तोकेको प्रमाणपत्र बुधबार हस्तान्तरण गरेको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले नेपाल हवाई खेलकुद संस्थाका कार्यबाहक अध्यक्ष कृष्ण भण्डारीलाई नियमनको जिम्मा तोकेको प्रमाण पत्र हस्तान्तरण गरे।
नेपाल हवाई संस्थाले प्याराग्लाइडिङ, ह्याण्डग्लाइडिङ लाइसेन्स जारी गर्ने, नियमविपरीत सञ्चालन हुने कम्पनी र पाइलटलाई कारबाही गर्ने, एकल प्याराग्लाइडिङ गर्ने प्यारापाइलटलाई उडान अनुमतिको सिफारिस दिने, सुरक्षित उडानका लागि व्यवस्थापन गर्ने लगायतको जिम्मेवारी दिएको क्यानका प्रबन्धक देवेन्द्र प्रसाद पाण्डेले जानकारी दिए। नियमअनुसार नचलेमा कम्पनी र पाइलटको दर्ता खारेजीसमेत गर्ने अधिकार नेपाल हवाई खेलकुद संस्थालाई छ।
प्याराग्लाइडिङ कम्पनीहरूले संस्थाको नविकरण नागरिक उड्डयन कार्यालय पोखराले गर्दै आएकोमा अब नेपाल हवाई खेलकुद संस्थाले गर्ने छ। पछिल्लो समयमा पोखरामा प्याराग्लाइडिङ दुर्घटना बढेसँगै नियमन, अनुगमन प्रभावकारी नभएको गुनासो आएपछि संस्थालाई क्यानले जिम्मा दिएको हो।
संस्थाले गरेको कामको अनुगमन भने नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्नेछ।