रुपन्देहीको तिलोत्तमा नगरपालिकाको कुल जनसंख्याको १०.५ प्रतिशत जनसंख्या वैदेशिक रोजगारमा रहेको एक तथ्यांकले देखाएको छ। नगरपालिकामा रहेको कुल एक लाख २४ हजार जनसंख्यामध्ये १३ हजार १४ जना रोजगारको लागि विभिन्न मुलुकमा रहेका छन्।
बुधबारदेखि तिलोत्तमामा सञ्चालित रोजगार तथा सामाजिक सुरक्षाको वर्तमान अवस्था र अबको बाटो विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख बासुदेव घिमिरेले उक्त जानकारी गराएका हुन्।
वैदेशिक रोजगारमा रहेकाहरूमा सबभन्दा धेरै खाडी मुलुकमा रहेको तथ्यांकले देखाएको छ।
खाडी मुलुकमा पाँच हजार चार सय ५१ अर्थात ४१.८८ प्रतिशत रहेका छन्। त्यसैगरी विकसित मुलुकमा चार हजार ६ सय १० तथा छिमेकी मुलुक भारतमा दुई हजार नौ सय ५३ जना रहेका छन्।
वैदेशिक रोजगारमा गएकाहरूमा दुई हजार चार सय ८५ महिला छन् भने १० हजार पाँच सय २८ पुरुष रहेका छन्। त्यसमा एक जना तेस्रो लिंगी रहेका छन्।
कार्यक्रममा बोल्दै नगरप्रमुख घिमिरेले सरकारले वैदेशिक रोजगारमा जाने युवाहरूलाई सीपयुक्त बनाउनेसँगै स्वदेशमा रोजगारीका अवसर सृजना गर्नुपर्ने बताए।
कार्यक्रममा बोल्दै प्रदेश पाँच सरकारका सामाजिक विकासमन्त्री सुदर्शन बरालले श्रम, प्रविधि र पुँजीलाई एक ठाउँमा रोक्न नसकिए पनि त्यसलाई दक्ष, सीपयुक्त, व्यवस्थित र सहज बनाउने दायित्व सरकारको रहेको बताए।
उनले वैदेशिक रोजगारबाट फर्किएका युवाहरूले ल्याएको पुँजीलाई व्यवस्थित गर्ने वातावरण तयार गर्न जरुरी रहेको बताए।
वैदेशिक रोजगार बोर्डका निर्देशक दिनबन्धु सुवेदीले संघीय संरचना अनुरूप केन्द्रमा भएका अभ्यासहरू प्रदेशस्तरमा पनि सञ्चालन गर्न थालिएको बताए।
कार्यक्रममा प्रदेश पाँच पत्रकार महासंघका उपाध्यक्ष भरत केशी, रुपन्देही उपाध्यक्ष दिनेश पाण्डे, भेषराज बस्नेत लगायतले बोल्दै वैदेशिक रोजगारलाई व्यवस्थित बनाउनुपर्ने बताए।
प्रदेश पाँचका ३० जना बढी पत्रकारहरूको सहभागिता रहेको कार्यक्रम बिहिबारसम्म चल्नेछ ।