आधारभूत स्वास्थ्य सबैका लागि नि:शुल्क प्रदान गर्ने सरकारको लक्ष्य रहे पनि प्रदेश नम्बर ५ का तीन सय २२ वटा वडा स्वास्थ्यसँग सम्बन्धित संरचनाविहीन रहेका छन्।
प्रदेश ५ का एक सय नौ स्थानीय तहका नौ सय ८३ वटा वडामध्ये झण्डै एक तिहाइ वडा स्वास्थ्य संरचनाविहीन रहेका हुन्।
प्रदेशका १२ जिल्लामा चार उपमहानगरपालिका, ३२ नगरपालिका र ७३ गाउँपालिका गरी एक सय नौ स्थानीय तहका नौ सय ८३ वडामध्ये ६ सय ६१ वडाका नागरिकले मात्र आफ्नै वडाबाट आधारभूत स्वास्थ्य सेवा पाएका छन्।
प्रदेश ५ सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका एक तिहाइ नागरिक आधारभूत स्वास्थ्य सेवाको लागि अरु वडामा जान बाध्य छन्।
‘स्वास्थ्यका कुनै पनि संरचना नभएका वडाका सेवाग्राही तथा बिरामीहरूलाई अन्यत्र जानुपर्ने बाध्यता रहेको छ,’ प्रदेश ५ सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत शैलेन्द्र पाण्डेले भने।
‘स्वास्थ्य चौकी, हेल्थपोष्ट वा कुनै पनि सरकारी क्लिनिक नहुँदा ती वडाका बासिन्दाहरू सिटामोल लिन समेत अन्य वडामा जानुपर्ने बाध्यता छ,’ उनले भने।
यसै वर्षदेखि स्वास्थ्य संरचना नभएका वडामध्ये एक सय ४५ वटा वडामा संघीय सरकारले स्वास्थ्य चौकी निर्माणका लागि निर्णय गरिसकेको अधिकृत पाण्डेले जानकारी दिए। त्यसपछि पनि एक सय ७७ वडा स्वास्थ्य संरचनाविहीन नै रहने छन्।
प्रदेशका १२ जिल्लामध्ये रुपन्देही सबभन्दा बढी वडामा स्वास्थ्य चौकी वा स्वास्थ्यका कुनै पनि संरचना नहुने जिल्लाको रूपमा रहेको छ। पाल्पा भने सबभन्दा कम वडामा स्वास्थ्य संरचना नहुने जिल्लामा परेको छ।
सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार रुपन्देहीका ७६ वडा स्वास्थ्य संरचनाविहीन छन्।
एक उपमहानगरपालिका, पाँच नगरपालिका र १० गाउँपालिका रहेको रुपन्देहीमा एक सय ५५ वडा रहेका छन्। पाल्पाका ८१ वडा मध्ये ११ वडामा स्वास्थ्य संरचना छैनन्।
प्रतिशतको हिसाबले दाङ पनि स्वास्थ्य संरचना नहुने वडाहरूको हिसाबले हेर्दा रुपन्देहीकै नजिक देखिएको छ। एक सय वडा रहेको दाङमा ५० वडामा स्वास्थ्य संरचना छन् भने ५० वडा स्वास्थ्य संरचनाविहीन देखिएका छन्।
त्यस्तै, प्रदेश ५ को नवलपरासीका ७४ वडामध्ये ३५ वडा, कपिलवस्तुका ९६ वडामध्ये १६ वडा र अर्घाखाँचीका ६१ वडामध्ये २० वडामा स्वास्थ्य संरचना छैनन्। गुल्मीमा पनि ९३ वडामध्ये १३ वडा, बाँकेका ८१ वडामध्ये २६, बर्दियाका ७५ वडामध्ये २७ र रुकुमका ३१ वडामध्ये १५ वडामा स्वास्थ्य संरचना छैनन्।
त्यस्तै, रोल्पाका ७२ वडामध्ये २१ वडा र प्युठानका ६४ वडामध्ये १२ वडामा स्वास्थ्यका कुनै पनि संरचना नभएको सामाजिक विकास मन्त्रालयको तथ्यांकले देखाएको छ।