बुटवलको राजमार्ग चौराहदेखि गोलपार्कसम्मका सडक किनारका घरधनीहरूले व्यापारिक मार्ग विस्तार आयोजनाले घर भत्काउने भएपछि उद्योग वाणिज्य संघमा असन्तुष्टि पोखेका छन्।
सडक सीमा मिचेर घर टहरा निर्माण गरी व्यवसाय गर्दै आएकाले आयोजनाले मागेको कागजात पूरा गर्न नसकेपछि उद्योग वाणिज्य संघसँग हारगुहार गरेका हुन् ।
बुटवलको सडक चौडा गर्ने कामको विगत देखिनै विरोध गर्दै आएको उद्योग वाणिज्य संघले बुटवलको विकास शिर्षकमा छलफल आयोजना गरेर मुख्यतः सडक विस्तारको एजेण्डामा केन्द्रित रह्यो।
उद्योग वाणिज्य संघले कार्यक्रमका अतिथिहरूलाई सडक विस्तारको विषय नभनी बुटवलको विकासको सन्दर्भ भन्दै प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ, प्रदेश योजना आयोगका उपाध्यक्ष डाक्टर प्रकाश श्रेष्ठ, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी लगायतलाई निमन्त्रणा गरेको थियो ।
कार्यक्रममा निम्त्याइएका प्रदेश योजना आयोगका उपाध्यक्ष प्रकाश श्रेष्ठले आफूलाई निमन्त्रणा गर्दा सडक विस्तारको विषयमा छलफल हुँदैछ भन्ने जानकारी नगराइएको बताए। त्यसै पनि बेलहिया बुटवल ६ लेन सडक राष्ट्रिय योजना अन्तर्गत निर्माण भइरहेकोले उक्त विषय आफ्नो अधिकार क्षेत्रभित्रको नभएको बताए।
छलफल कार्यक्रममा प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ र बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी भने सहभागी भएनन्।
कार्यक्रममा सहभागी नेपाली कांग्रेसका नगर सभापति खेलराज पाण्डेले भने सडक विस्तार गर्ने कार्यको खुलेर विरोध गरे। उनले बुटवल बजारभित्र ८२ फुट सडक सीमा कायम गर्दा झण्डै १ सय घर नरहने भन्दै सडक विस्तारको नाममा बजार विस्थापित गर्ने विषयमा आफ्नो विमति रहेको बताए।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिम बहादुर हमालले सडक विस्तारको विषय बुटवलको विकासको विषय बन्ने हुँदा संघको छलफलको एजेण्डा बन्न गएको बताए।
उनले सडक चौडा गर्ने कार्यले बुटवलका व्यवसायी विस्थापित हुने भन्दै खुलेरै विरोध गरे ।
सडक विस्तार कार्य रोक्न नेतृत्व गर्दै आएका चोपनारायण श्रेष्ठले आफूहरूको विपक्षमा समाचार लेखेको भन्दै सञ्चारमाध्यम र पत्रकारप्रति आक्रोश पोखे।
श्रेष्ठलाई घरधनीहरूसँग रकम संकलन गरी सडक विस्तार रोक्न आर्थिक प्रलोभनमा पारेको आरोप लाग्दै आएको छ।
छेउछाउका घर भत्काउँदा पनि सडक विस्तार गर्न सहयोग नगरेको आरोप लागेका नेकपाका सांसद सोमप्रसाद पाण्डेले संसद र पार्टीको व्यस्तताका कारण व्यवस्थापन गर्न नसकेको भन्दै आफूले यथासक्य छिटो घर भत्काउने बताए।
‘म सडक विस्तारको विरोधमा छैन, संसद र पार्टीको व्यस्तताको कारण सडक सीमा खाली गराउन ढिलाइ भएको हो, यथाशक्य छिटो सडक सीमा मिचिएको संरचना भत्काउन लगाउँछु,’ उनले सेतोपाटीलाई भने।
सांसद पाण्डेको बुटवलको मिलनचोकस्थित सडक किनारमा ५ तले पक्की घर रहेको छ।
त्यसैगरी बुटवल उपमहानगरपालिका वडा नं ३ का अध्यक्ष लालप्रसाद बस्याल र वडा नं. ४ का अध्यक्ष टंक पराजुलीको पनि सडक सीमा मिचिएर बनेका घरजग्गा रहेका छन्।
वडा नं. ४ का अध्यक्ष पराजुलीले आफ्नो घरको पेटी सडक सीमामा रहेको भन्दै त्यसलाई आफैंले हटाउने बताए।
वडा नं. ३ का अध्यक्ष बस्यालले पनि सडक सीमा मिचिएको घर भत्काएर सडक सीमा खाली गरिदिने बताए ।
केही दिनअघि बेलहिया बुटवल व्यापारिक मार्ग विस्तार आयोजनाले सडक सीमाभित्र अनधिकृत ढंगले बनाइएका घर टहरा भत्काउन र कानुनी रूपमा आफ्नो नाममा लालपुर्जा भएको भए प्रमाणसहित मुआब्जाका लागि निवेदन दिन सूचना जारी गरको थियो।
विगत सात वर्षदेखि सडकलाई चौडा गरी ८२ फुट कायम गर्ने सरकारी योजना स्थानीयको अवरोध र पटक पटकको मुद्दा मामिलाका कारण अगाडि बढ्न सकेको छैन।
राजमार्ग चौराहदेखि गोलपार्क चिडिया चौकीसम्म सडक सीमा मिचिएका ३ सय १४ घर रहेकोमा झण्डै आधा घरधनीले घर भत्काएर सडक खाली गरिदिएका छन्।
तर, आर्थिक तथा राजनीतिक पहुँचको भरमा सडक विस्तार आयोजनालाई अटेर गर्दै आएका केही घरधनीहरूले भने अदालत, राजनीतिक दलका नेता तथा व्यवसायिक संघसंस्थाहरूलाई गुहार्दै आएका छन् ।