मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल अहिले दैनिक १४ घण्टामात्र सञ्चालनमा छ। यसअघि दैनिक २२ घण्टा सञ्चालन हुँदै आएको विमानस्थलमा चार दशक पुरानो कालोपत्रे नयाँ राख्न भन्दै धमाधम निर्माण कार्य भइरहेको छ।
करिब साढे चार अर्ब लागतमा चिनियाँ कम्पनी चाइना नेसनल एरो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसनले काम गरिरहेको छ।
३ हजार ५० मिटर लामो धावनमार्गको पिच परिवर्तनको काम भइरहँदा उडान व्यवस्थान गर्न विमानस्थल प्रशासनलाई कठिन भइरहेको छ। राति १० बजे पछिका १० वटा अन्तर्राष्ट्रिय उडानलाई अघि सार्दा कयौं आन्तरिक उडान कटौति भएका छन्। त्यस्तै काठमाडौंबाट लुक्लाको लागि हुने उडान अहिले रामेछापको मन्थली विमानस्थलमा सारिएको छ।
यद्यपी विमानस्थल प्रशासनले सकेसम्म उडानमा अवरोध नहोस भनेर काम गरिरहेको बताएको छ।
एउटा जहाज आएर जानसक्ने न्यूनतम समय तालिकाभित्र काम गरिदिन एयरलाइन्स कम्पनीलाई आग्रह गरिएको र त्यहीअनुसार उनीहरुले मानेको विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिए।
‘हामीसँग पार्किङ वे पर्याप्त छैन, एउटा जहाज आएर जानलाई १ घण्टा लाग्छ। हामीले सकेसम्म यही समयतालिका कडाई गरेका छौं। यसमा एयरलाइन्सले सहयोग गरिरहेका छन्,’ क्षेत्रीले भने।
धावनमार्ग र ट्याक्सी वेमा अहिले भएको सबै कालोपत्रे हटाएर नयाँ राखिने छ। यसमा धावनमार्गको सेन्ट्रल भागमा लाईट पनि राखिने छ। ९० दिनभित्र सक्ने लक्ष लिइएको यो काममा अहिले ९० जनाभन्दा बढीले काम गरिरहेका छन्।