सगरमाथाको प्रवेश विन्दु मानिने तेन्जिङ हिलारी विमानस्थलमा आइतबार विहान हवाई दुर्घटना भयो। उक्त दुर्घटनामा परी ३ जनाको ज्यान गयो। चार जना घाइते भए। दुर्घटनामा समिट एयरको जहाज, मनाङ एयर र श्री एयरको हेलिकप्टरमा पनि क्षति भयो।
लुक्लाबाट रामेछापका लागि उड्नै लाग्दा धावनमार्गको बाँयातिर गयो। त्यहाँबाट गएर लगभग पचास मिटरको दुरीमा रहेको हेलिप्याडमा पुग्यो। जहाँ दुई हेलिकप्टर थिए। श्री एयरको हेलिकप्टर उड्ने तयारीमा थियो भने मनाङ एयरको हेलिकप्टर फाप्लुबाट भर्खरै ल्यान्ड गरेको थियो।
‘मनाङको हेलिकप्टरको फाप्लुबाट भर्खर आएको थियो भने श्रीको उडानको तयारीमा थियो, त्यही बेला समिटको जहाज टेकअफ रोल गरेर अलिकति अगाडि आउनेवित्तिकै धावनमार्गबाट बाँयातिर लागेर हेलिकप्टरमा ठोक्कियो’ विमानस्थल प्रमुख इमनाथ अधिकारीले भने।
यसरी जहाज ठोक्किंदा दुई हेलिकप्टरमा क्षति त भयो नै सँगै त्यहाँ रहेका दुईजना प्रहरी अधिकारी र समिट एयरकै को पाइलटको ज्यान गयो भने मनाङ एयरका पाइलट घाइते भए।
यसरी पार्किङमा राखेको हेलिकप्टर पनि दुर्घटनामा प¥यो। नेपाली आकाशमात्र होइन विमानस्थल पनि असुरक्षित भएको हो कि भनेर धेरैले प्रश्न गरेका छन्।
‘जसको जहाजको कुनै पनि प्राविधिक त्रुटी थिएन न त पाइलटको नै उनले त केबल विमानस्थले गरेको व्यवस्थाअनुसार काम गरेका थिए, तर पनि मनाङ एयरको हेलिकप्टर सुरक्षित भएन यसले गलत सन्देश जानसक्छ’ लुक्ला उडान गरिरहेका एक पाइलटले सेतोपाटीसँग भने।
उडानको धेरै चाप तर साँघुरो क्षेत्रका कारण व्यवास्थापनमा असहज भएको विमानस्थल प्रमुख अधिकारी पनि स्वीकार गर्छन्।
‘ठाउँ साँघुरो छ उडान धेरै हुन्छन्, मौसमका कारण समय पनि सिमित छ हामीले यसैमा अधिकतम सुरक्षाको प्रबन्ध मिलाएका छौं’ अधिकारीले भने।
करिब ८१ हजार वर्गमिटर क्षेत्रफलमा रहेको विमानस्थलको धावनमार्ग भने २० मिटर चौडा र ५२७ मिटर लामो छ। यही क्षेत्रफलमा धावनमार्गसँगै जोडिएको हेलिप्याड छ जहाँ चारवटा हेलिकप्टर राख्न मिल्छ।
यति साँघुरो विमानस्थलमा दैनिक पचास उडान हुन्छन्। मौसमअनुसार उडानको संख्या तलमाथि हुने अधिकारीको भनाइ छ। हेलिकप्टर उडान त झनै धेरै छ यो वर्ष एकदिनमा १८५ सम्म उडान भएका छन्। सगरमाथा जाने पर्यटकमात्र होइन त्यो क्षेत्रका लागि चाहिने सामान पनि हवाई मार्गबाट लिइन्छ।
सरकारले पूर्वाधार नबनाएर विमानमात्र थप्न दिने रणनीतिका कारण व्यवस्थापकीय कठिनता आएको एक पाइलटले बताए।
‘लुक्लामा ठाउँ साँघुरो भयो तर उडान धेरै भए। भएको त्यही हो। कतिबेला मौसम खराब हुन्छ थाहा हुन्न। त्यसैले उडानको समयमा टाइट सेड्युल हुन्छ। त्यहाँ कसैलाई पनि बिलम्बको सुविधा हुन्न’ उनभे भने,‘यस्तोमा फेरि हेलिप्याड र रनवे पनि सँगै जोडिएका छन्। जहाजको मिस एप्रोच कहिलेकाही हुन्छ। तर लुक्लामा त्यसो भएमा सिधै दुर्घटना हुन्छ। आज भएजस्तै।’
अकास वा मौसमको खराबीमात्र होइन साँघुरो पूर्वाधारका कारण पनि यस्तो हुने उनको भनाइ छ। ।
नागरिक उड्डयन प्राधिकरणले लुक्लामा छुट्टै हेलिप्याड बनाउने नेसोचेको पनि होइन। तर उक्त कामका लागि टेन्डर भएको सात महिनासम्म पनि काम शुरु हुन सकेको छैन। पूर्वाधार बनाउने भन्दा पनि प्राधिकरण लाइसेन्स बाँडेर जहाज पनि थपिरहने प्रवृत्तिमा अघि बढेको छ।
विमानस्थल प्रमुख अधिकारी भने हेलिप्याड बनाउने काम छिट्टै शुरु भएर सम्पन्न हुनेमा आशावादी छन्। त्यसपछि लुक्लाको उडान व्यवस्थापनमा केही सहज हुने उनको भनाइ छ।