पोखराको लामाचौरस्थित पश्चिमाञ्चल इञ्जिनियरिङ क्याम्पसले नेपालमै पहिलो पटक टनेल (सुरुङ) को कोर्समा पढाइ सञ्चालनको तयारी गरेको छ।
गण्डकी प्रदेश सरकारको समन्वयमा नेपालमै पहिलो पटक क्याम्पसले स्नातकोत्तर तहमा टनेल एण्ड हाइड्रोपावर इञ्जिनियरिङ कोर्समा पढाइ सञ्चालन गर्न लागेको हो।
यसका लागि कलेजले पहिलो चरणको पाठ्यक्रम तयार गरिसकेको क्याम्पस प्रमुख रामप्रसाद पौडेलले बताए।
नेपालमा पहाड र हिमाल धेरै भएका कारण यो विषयका आवश्यकता रहेको उनले बताए। टनेल पढाइबाट जलविद्युत्, सडक र रेल मार्ग निर्माणका लागि अति आवश्यक रहेको उनले बताए।
विदेशबाट प्रोफेसर ल्याएर सुरूमा २० जना विद्यार्थीबाट पढाइ सुरू हुने क्याम्पसले जनाएको छ।
‘पहाडी मुलुक नेपाललाई विश्वबजारसँग कनेक्सन गराउन सुरुङ मार्ग अपरिहार्य छ। यसका लागि क्याम्पसले आउँदो आर्थिक वर्षको सुरूमै वर्कशप गरेर आगामी शैक्षिक सत्रदेखि पढाइ सुरू गर्न लागेको हो’, पौडेलले भने।
२०३८ सालमा स्थापना भएको कलेजमा हाल १ हजार ६ सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन्।
कलेजले स्नातक तहमा ७ वटा कार्यक्रम र स्नातकोत्तर तहमा ३ वटा कार्यक्रम चलाइरहेको छ। क्याम्पस ३ सय १२ रोपनी क्षेत्रफलमा फैलिएको छ।
पढाइ हुने विषयको प्रारम्भिक पाठ्यक्रम तयार गरेर क्याम्पसले प्रदेशको सामाजिक विकास मन्त्रालयमा पेश गरेको छ। सरकारले गण्डकी प्रदेशको आफ्नै प्राविधिक विश्वविद्यालय खोल्ने र पोखरामा टलेन इन्जिनियरिङको पढाइ सञ्चालन गर्ने पहिलेदेखि नै निर्णय गरेर काम अघि बढाएको छ।