निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई आवश्यक माटो अभाव देखिएको छ।
धावनमार्गको छेउछाउ तथा ट्याक्सी वे, सडक वरिपरि पट्टाउने माटो अभाव भएको हो।
सार्वजनिक जमिनमा उत्खनन् गर्न जिल्ला समन्वय समिति र स्थानीय तहहरूले ठाउँ उपलब्ध नगराउँदा आयोजनालाई समस्या परेको छ।
सार्वजनिक जमिनमा उत्खनन् गर्ने ठाउँ नपाउँदा अहिले निजी जमिनबाट माटो लिएर काम चलाइरहेको आयोजना प्रमुख प्रवेश अधिकारीले बताए।
समन्वय समिति र स्थानीय तहसँग उत्खनन् गर्ने ठाउँ दिन आग्रह गरेकाले छिट्टै ठाउँ पाउने आशा रहेको उनले बताए।
विमानस्थल निर्माण आयोजनाका अनुसार चालू आर्थिक वर्षभित्रै चाहिने गरी ५ लाख घनमिटर अर्थात् ५० हजार टिपर माटो अपुग छ।
अहिलेसम्म ५० प्रतिशत माटोको काम सम्पन्न भए पनि मुख्य काम धावनमार्गको दुवै तर्फ डेढ–डेढ सय मिटर माटो पाट्न बाँकी छ।
यस्तै, विमानस्थलभित्र र वरिपरि बन्ने सडक, कार्गो भवन तथा ट्याक्सी–वे लगायतका संरचनाका लागि आवश्यक माटो उपलब्ध हुन सकेको छैन।
यी ठाउँका लागि आवश्यक माटोको आयोजनाले वैकल्पिक व्यवस्था गर्न सकेको छैन।
आयोजनाले सिद्धार्थनगर ११ मा रहेको निजी जमिनबाट अहिले भ्याटसहित २ रुपैयाँ २६ पैसामा प्रतिघनमिटर माटो लिइरहेको छ।
निर्माण कम्पनी नर्थ वेष्ट सिभिल एभिएसनले आवश्यक माटो उपलब्ध गराउन आयोजनालाई आग्रह समेत गरेको छ।
आयोजानले जनाएअनुसार अहिलेसम्म विमानस्थलको ७२ प्रतिशत काम सम्पन्न भइसकेको छ। बाँकी २८ प्रतिशत काम अबको करिब एक वर्षमा सकिने छ।
समयावधि ढिला भए पनि पछिल्लो समय द्रुत गतिमा अघि बढेको आयोजनामा पुनः माटो अभावको समस्या देखिएपछि यसले निराशा छाएको छ।
वर्षायाम सुरू हुन लागेकाले पनि चाँडो माटो निकाल्ने ठाउँ आवश्यक रहेको आयोजनाको भनाइ छ।
माटो समयमै उपलब्ध नभए अत्यावश्यक भौतिक संरचनाको काम करिब ६ महिनापछि धकेलिने छ।
अबको डेढ–दुई महिनापछि वर्षायाम सुरू हुने भएकाले पनि कात्तिकपछिसम्म महत्वपूर्ण संरचनामा माटो पाट्ने काम रोकिने छ।
अहिलेसम्म धावनमार्गको कालोपत्रे गर्ने काम ९५ प्रतिशत सकिएको छ।
यस्तै, कन्ट्रोल टावर अन्तिम चरणमा पुगेको छ भने टर्मिनल भवनको छाना राख्ने काम भइरहेको छ। यस्तै, ट्याक्सी–वेको ७५ प्रतिशत काम सकिएको छ भने जहाज पार्किङस्थल निर्माण सम्पन्न भइसकेको छ।