काठमाडौं उपत्पकामा वर्षेनी सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या उच्च छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाको अनुसार आर्थिक वर्ष २०७१/७२ पछि सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढ्दो छ।
आर्थिक वर्ष २०७१/७२ मा सवारी दुर्घटनाले १ सय ३३ जानले ज्यान गुमाएमा थिए भने २०७२/७३ मा १ सय ६६ को मृत्यु भयो।
त्यस्तै, २०७३/७४ मा १ सय ८२ जनाको ज्यान गयो भने २०७४/७५ मा १ सय ९४ जनाको मृत्यु भयो।
त्यसैगरी आर्थिक वर्ष २०७५/७६ को वैशाखसम्ममा २ सय ११ जनाको मृत्यु भइसकेको छ।
बढ्दो सवारी चाप र सडकको जीर्ण स्थितिले वर्षेनी सवारी साधन दुर्घटना र मृत्यु बढेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जयराज सापकोटाले जानकारी दिए।
‘११ लाखभन्दा धेरै सवारी साधन बाग्मती अञ्चलमामात्र दर्ता छन्। सडकको स्तरोन्नति हुन सकेको छैन। त्यही भएर दुर्घटना बढेको हो,’ सापकोटाले सेतोपाटीसगँ भने।
सवारी साधन दुर्घटनामा सबभन्दा धेरै मोटरसाइकल तथा स्कुटर परेको देखिन्छ।
आर्थिक वर्ष २०७५/०७६ वैशाखसम्म सवारी दुर्घटनामा मोटरसाइकल र स्कुटर २ हजार ३ सय २० वटा मोटरसाइकल तथा स्कुटरको संलग्नता रहेको देखिन्छ।
त्यस्तै ४१०९ ओटा कार/जिप/भ्यान, १५५२ ओटा बस, १४२३ ट्रक/टिपर, ३१८ ओटा माइक्रो, १०६ ओटा टेम्पो/ट्याक्टर र ९६ ओटा शारीरिक शक्तिबाट चल्ने सवारी साधन सवारी साधन दुर्घटनामा संलग्नता देखिन्छ।
दुई पांग्रे सवारी साधन आफैंमा सुरक्षित नहुने र कतिपय स्थितिमा चालकको लापरबाहीले पनि दुई पांग्रे सवारी साधनको दुर्घटना धेरै हुने गरेको सापकोटाले जानकारी दिए।
सवारी दुर्घटनामा मृत्यु हुनेमध्ये ४५ प्रतिशतभन्दा धेरै दुई पांग्रे सवारी साधन रहेको उनले बताए।
आर्थिक वर्ष २०७५/०७६ वैशाखसम्म सवारी दुर्घटनामा मृत्यु हुनेमध्ये ४५.४९ प्रतिशत मोटरसाइकल तथा स्कुटर यात्रु छन्। २०७५/०७६ वैशाखसम्ममा सवारी दुर्घटनामा मृत्यु हुने २ सय ११ मध्ये ९६ जना मोटरसाइकल/स्कुटर यात्री, ७० जना पैदल यात्रु, १६ जना ट्रक सवार, १६ जना कार, ४ जना साइकल र १ जना माइक्रो सवार व्यक्ति रहेका उपत्यका ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
सवारी दुर्घटनामा मृत्यु हुनेमध्ये ७८.६७ प्रतिशत पुरुष रहेका छन्। २०७५/०७६ वैशाखसम्म सवारी दुर्घटनामा मृत्यु हुने २ सय ११ जनामध्ये १ सय ६६ जना पुरुष छन् भने ४५ जनामात्र महिलाको ज्यान गएको छ।
उपत्यका ट्राफिक प्रहरी महाशाखाको अनुसार दिउँसो १२ देखि बेलुका ६ बजेसम्म सवारी दुर्घटनाको उच्च जोखिम छ।
दिउँसो १२ बजेदेखि बेलुका ६ बजेसम्म ४१ प्रतिशत, बेलुका ६ बजेदेखि राति १२ बजेसम्म २४ प्रतिशत, राति १२ बजेदेखि बिहान ६ बजेसम्म ५ प्रतिशत र बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म ३० प्रतिशत दुर्घटना हुने गरेको महाशाखाले जनाएको छ।
दिउँसो १२ देखि बेलुका ६ बजेसम्म ‘रस आवरमा’ सवारी साधनको अत्यधिक चाप हुने भएकोले दुर्घटनाको सम्भावना उच्च भएको उनले जानकारी दिए।
यस्ता दुर्घटना हटाउन उपत्यका ट्राफिक प्रहरी महाशाखाले ३ महिने कार्ययोजना नै बनाएर अगाडि बढिरहेको सापकोटाले दिए।
‘ट्राफिक प्रहरीको एकल प्रयासले केही हुँदैन। पूर्वाधार राम्रो हुनुपर्यो, लाइसेन्स प्रणाली वैज्ञानिक हुनुपर्यो, सजाय शुल्क बढाउनु पर्यो, चालकमा जनचेतना हुनुपर्यो,’ उनले भने।