संघीय सरकारले बुधबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७६/०७७ को बजेटमा प्रदेश ५ को अस्थायी राजधानी रहेको रुपन्देही तथा आसपासका साना ठूला गरी दुई दर्जन बढी परियोजना समेटिएका छन्।
प्रस्तुत भएको बजेटमा राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको गौतमबुद्ध अन्तरर्राष्ट्रिय विमानस्थल, बुटवल मेडिकल कलेज, बृहत लुम्बिनी एकीकृत विकास गुरुयोजना, बुटवलमा निर्माणाधीन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र लगायतका आयोजनाहरू प्राथमिकतामा परेका छन्।
बुधबार अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा आगामी वर्षभित्रै निर्माण सम्पन्न हुने क्रममा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको लागि ३ अर्ब ३४ करोड बजेट विनियोजन गरिएको छ। पहिलो चरणको काम सम्पन्न गरी अन्तर्राष्ट्रिय उडान सुरू गर्नको लागि उक्त बजेट विनियोजन गरिएको हो।
त्यसैगरी तिलौराकोट, लुम्बिनी, देवदह र रामग्राम क्षेत्रलाई समेटी बृहत लुम्बिनी एकीकृत विकास गुरुयोजना तर्जुमाको लागि १ अर्ब बजेट विनियोजन गरिएको छ। उक्त बजेटले ५ नं प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्षलाई समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
त्यसैगरी तिलोत्तमा नगरपालिकामा दुईसय बिघा जग्गा छुट्टयाइ अगाडि बढाइएको बुटवल मेडिकल कलेजको गुरुयोजना निर्माणको लागि १० करोड बजेट विनियोजन गरिएको छ।
प्रस्तुत बजेटमा कालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्धेश्यीय आयोजना, राप्ती कपिलवस्तु डाइभर्सन बहुउद्धेश्यीय आयोजना, ५ नं प्रदेशमा नयाँ कृषि अनुसन्धान केन्द्र स्थापना, पाल्पा जिल्लामा मौसम मापन उपकरण (मौसमी राडार) जडान, ऐतिहासिक जितगढी किल्लाको संरक्षण, रुपन्देहीको मोतिपुर र बाँकेको नौवस्तामा औद्योगिक क्षेत्र निर्माणकार्यमा तीव्रता तथा बुटवल बेलहिया र कोहलपुर जमुनाहलाई औद्योगिक कोरिडोरको रूपमा विकास गर्ने योजना पनि बजेटमा समेटिएका छन्।
त्यस्तै, नवलपरासीको धौबादीबाट फलाम उत्पादन सुरू गरिने, भैरहवा र नेपालगञ्जमा अन्तराष्ट्रिय चेकपोस्ट स्थापना, नौमुरे बहुउद्धेश्यीय आयोजना सुरू, बुटवलदेखि गोरखपुर अन्तरदेशीय विद्युत प्रसारण लाइन निर्माण, बुटवल नारायण सडक खण्डको निर्माण कार्यमा तीव्रता दिँदै पूर्व र पश्चिम खण्डको डिपिआर सम्पन्न गरी निर्माण कार्य आरम्भ गरिने उल्लेख गरिएको छ।
त्यसैगरी, कालिगण्डकी कोरिडोरको निर्माणलाई तीव्र बनाइने, बुटवल पोखरा सडक (सिद्धार्थ राजमार्ग) लाई स्तरोन्नति गरी डेडिकेटेड डबल लेनको बनाइने छ।
त्यस्तै, कक्रहवा लुम्बिनी रामपुर सडक निर्माण, हुलाकी राजमार्गका बाँकी खण्ड निर्माणमा तीव्रता, रुपन्देहीसँग भारतीय सीमा जोड्ने प्रमुख व्यापारिक नाकाहरूलाई पूर्वपश्चिम राजमार्गसँग जोडी औद्योगिक कोरिडोर व्यापार मार्ग विस्तार, इटहरी निजगढ बुटवल कोहलपुर जोड्ने रेल लाइन निर्माण कार्य अगाडि बढाइने उल्लेख गरिएको छ।
प्रस्तुत बजेटमा प्रदेश राजधानीमा सवारी साधनको फिटनेस परीक्षण केन्द्र स्थापना, बुटवल सिद्धार्थनगर र नेपालगञ्ज कोहलपुरलाई मेघा सिटीमा विकसित गर्न गुरुयोजना बमोजिम पूर्वाधार निर्माणको कार्यलाई बजेटमा प्राथमिकता दिइएको छ।
बुटवलमा निर्माणाधीन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रको निर्माणमा तीव्रता, बुटवल स्मार्ट सिटी, सिद्धबाबा सुरुङ मार्ग निर्माणका लागि डिपीआर तयार गर्ने र तिनाउ नदीमा आकर्षक (डेकोरेटेड) ब्रिज निर्माणलाई पनि बजेटमा समेटिएको छ ।