सरकारले आगामी वर्षका लागि राष्ट्रिय गौरवका आयोजनाका लागि १ खर्ब १८ अर्ब बजेट विनियोजन प्रस्ताव गरेको छ। चालु वर्ष ९१ अर्ब ९९ करोड बजेट दिएको सरकारले आगामी वर्ष २६ अर्ब बढी बजेट छुट्याएको हो।
अघिल्लो वर्षको सूचीमा २ आयोजना थपेको सरकारले बजेट केही बढाएको छ।
यस्ता आयोजना सञ्चालन गर्न भन्दै छुट्टै ऐन प्रस्ताव गरेको सरकारले बजेटमा पनि प्राथमिकता दिएको छ।
१२ सय मेगावाटले जलाशययुक्त बुढी गण्डकी आयोजनाका लागि सरकारले आगामी वर्षका लागि १३ अर्ब ५७ करोड ५६ लाख बजेट विनियोजन गरेको छ।
कसलाई बनाउन दिने भनेर निश्चित नभएको यो आयोजनाका लागि चाहिने जग्गा अधिग्रहणका लागि सरकारले बजेट विनियोजन गरेको हो चालु वर्षका लागि १७ अर्ब ९९ करोड ९६ लाख बजेट विनियोजन गरिएको छ।
बबई सिचाइ आयोजनाका लागि आगामी वर्ष १ अर्ब ४९ करोड ८६ लाख रुपैयाँ विनियोजन गरिएको छ। जुन चालु वर्ष यो आयोजनालाई १ अर्ब २४ करोड थियो।
चालु वर्ष १ अर्ब ४९ करोड बजेट पाएको सिक्टा सिंचाइ आयोजनाले आगामी वर्ष भने १ अर्ब ५२ करोड रुपैयाँ बजेट पाउने भएको छ। निर्माणाधिन यो आयोजना समस्याग्रस्त छ।
रानी जमरा कुलरिया सिंचाइ आयोजनाका लागि आगामी वर्ष लागि २ अर्ब ४३ करोड बजेट विनियोजन गरिएको छ। यसमा चालु वर्ष भने २ अर्ब १५ करोड बजेट विनियोजन गरिएको थियो।
चालु वर्ष ६ अर्ब शुरुवाती विनियोजन पाएको भेरी बबई डाइभर्सन आयोजनाले रकमान्तरबाट समेत थप गरी सुरुङ खन्ने काम सकिएको छ। यसका लागि सरकारले आगामी वर्ष ४ अर्ब २० करोड बजेट विनियोजनको प्रस्ताव गरेको छ।
बीचमै ठेकेदार भागेपछि अलपत्र परेको मेलम्ची खानेपानी आयोजना अन्तिम चरणमा छ। यसका लागि सरकारले आगामी वर्ष ७ अर्ब ३८ करोड छुट्याएको छ। चालु वर्ष ७ अर्ब ६ करोड यसले पाएको छ।
आउने मंसिरमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको माथिल्लो तामाकोशी आयोजनाका लागि सरकारले १ अर्ब बजेट विनियोजन गरेको छ। चालु वर्ष यसका लागि सरकारले ५ अर्ब विनियोजन गरेको थियो।
यस्तै पशुपति क्षेत्र विकास कोषलागि सरकारले आगामी वर्ष ३५ करोड रुपैयाँ विनियोजन गरेको छ। यो आयोजनामा चालु वर्ष ३४ करोड ८७ लाख रुपैयाँ छ।
लुम्बिनी विकास कोषमा आगामी वर्षका लागि सरकारले १ अर्ब बजेट बिनियोजन गरेको छ। चालु वर्ष यसको बजेट ५७ करोड ७१ लाख रुपैयाँ छ।
दक्षिण एशिया पर्यटन पूर्वाधार विकास आयोजनाका लागि सरकारले आगामी वर्ष ३ अर्ब ३३ करोड विनियोजन गरेको छ। चालु वर्ष यसका लागि ६ अर्ब ८३ करोड बजेट छ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि आगामी वर्ष ८ अर्ब बजेट दिने प्रस्ताव गरिएको छ। चालु वर्ष यसमा ६ अर्ब ८० करोड बजेट रहेको छ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजनामा सरकारले आगामी वर्षका लागि १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको छ। यो वर्ष यसमा १ अर्ब ४३ करोड रुपैयाँ छ।
राष्ट्रपति चुरे-तराई मधेस संरक्षण विकास समितिका लागि आगामी वर्ष १ अर्ब ७३ करोड बिनियोजन प्रस्ताव गरिएको छ। चालु वर्षमा यसमा १ अर्ब ६९ करोड विनियोजन गरिएको छ।
मदन भण्डारी राजमार्गका लागि सरकारले आगामी वर्ष सरकारले ४ अर्ब ८२ करोड रुपैयाँ बजेट छुट्याएको छ। चालु वर्ष यसका लागि सरकारले ४ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको थियो । यद्यपी यसमा रकमान्तर भएर बजेट बढेको छ।
पुष्पलाल राजमार्ग सम्पन्न गर्न भन्दै सरकारले आगामी वर्ष यसका लागि १२ अर्ब १९ करोड रुपैयाँ बिनियोजन गरिएको छ। यसमा चालु वर्ष ५ अर्ब ५५ करोड रुपैयाँ छ।
काठमाडौं-तराई मधेस फास्ट ट्रयाकका लागि आगामी वर्ष १५ अर्ब बजेट प्रस्ताव गरिएको छ। चालु वर्षको तुलनामा केही घटाएर बजेट प्रस्ताव गरिएको छ। चालु वर्ष यसमा १५ अर्ब ३९ करोड बजेट रहेको छ।
उत्तर दक्षिण राजमार्गका लागि सरकारले आगामी वर्ष ५ अर्ब बिनियोजन गरेको छ। चालु वर्ष यसले २ अर्ब २ अर्ब ३० करोड बजेट पाएको थियो।
रेल,मनो र मेट्रो रेलका लागि सरकारले यो वर्ष ७ अर्ब ६९ करोड बिनियोजन गरेको छ। यो वर्ष यसले ४ अर्ब ५० करोड बजेट पाएको थियो
त्यस्तै सडककै अर्को आयोजना हुलाकी राजमार्गका लागि सरकारले आगामी वर्ष १३ अर्ब ६३ करोड बजेट छुट्याएको छ। यसमा चालु वर्ष ५ अर्ब ५० करोड बजेट छ।
त्यस्तै यही वर्षको बजेटबाट राष्ट्रिय गौरबको आयोजनामा थप भएको सुनसरी मरिन आयोजनाका लागि सरकारले २ अर्ब बजेट विनियोजन गरेको छ।
मिलेनियम च्यालेन्ज कर्पाोरेशनको सहयोगमा सञ्चालित सडक र प्रसारणलाइन आयोजनाका लागि सरकारले यो वर्ष १० अर्ब बजेट बजेटद बिनियोजन गरेको छ।