कर्णाली प्रदेशको राजधानीका रूपमा रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष ०७६/७७ को लागि एक अर्ब २० करोड ७९ लाख ३० हजार ४ सय रुपैयाँ बराबरको बजेट ल्याएको छ।
नगरपालिकको पाँचौं नगरसभामा उपमेयर मोहनमाया ढकालले प्रस्तुत गरेको बजेट अनुसार जम्मा बजेटमध्ये चालूतर्फ ७४ करोड ९३ लाख ३८ हजार ४ सय रुपैयाँ रहेको छ भने पुँजीगततर्फ ४५ करोड ३ लाख १२ हजार रुपैयाँ रहेको छ ।
बजेटमध्ये आन्तरिक आयतर्फ १३ करोड ९० लाख ९२ हजार रुपैयाँ रहेको छ। यस्तै, संघीय सरकारको समानीकरण अनुदान २४ करोड २३ लाख संघीय सरकारको राजस्व बाँडफाँटतर्फ १८ करोड २१ लाख सशर्त अनुदान ३५ करोड ९ लाख रहेको छ।
वीरेन्द्रनगरका लागि प्रदेश सरकारको वित्तीय सामानीकरणतर्फ १ करोड १९ लाख ६७ हजार, सवारी कर बाँडफाँटतर्फ ३० लाख १३ हजार रुपैयाँ प्राप्त भएको छ।
नेपाल सरकारबाट सामाजिक सुरक्षाअन्तर्गत प्राप्त हुने २० करोड ४२ लाख ७८ हजार ४ सय, साझेदारी कोषतर्फको ८२ लाख ८० हजार, चालू आर्थिक वर्षको मौज्दात ६ करोड ६० लाख रुपैयाँ ०७६/७७ को बजेटमा समावेश गरिएको उपमेयर ढकालले जानकारी दिइन्।
पूर्वाधारहरूको विकास तथा विस्तारबाट सेवासुविधा, बजारमा पहुँच र उपयोग वृद्धि भई जीवनयापनमा सहजता ल्याउने, स्वच्छ खानेपानी तथा सरसफाइमा नगरवासीको सहज पहुँचमा वृद्धि गर्ने, कृषि तथा पशुपालन पेशा व्यवसायिक रोजगारमूलकतर्फ उन्मुख गर्ने, उद्योग तथा व्यवसायको सिर्जना, वृद्धि र विस्तार गर्ने, वीरेन्द्रनगर शैक्षिक पर्यटनको गन्तव्य बन्ने आधार तयार गर्ने, शिक्षा तथा खेलकुद सर्वसुलभ, गुणस्तरीय, व्यवसायिक र समावेशी गराउन योजनावद्ध विकासको सुरूवात गर्नेलगायतका योजनासहित बजेट ल्याइएको ढकालले जानकारी दिइन्।
आर्थिक बर्ष ०७६/७७ को बजेटमध्येबाट वडास्तरीय योजनाका लागि २४ करोड विनियोजन गरेको छ भने नगर महत्वको योजना मुख्य बजार पूर्वाधार विकास र म्याचिङ फण्डसतिका लागि २ करोड ४० लाख रुपैयाँ विनियोजन गरेको छ।
महिला स्वरोजगार कार्यक्रमतर्फ १ करोड, नगरस्तरीय गुरुयोजना निर्माण तथा अध्ययन अनुसन्धानतर्फ १० लाख, महिलालाई सेनेटरी प्याड वितरणका लागि २० लाख, सहरी नापी कार्यक्रमतर्फ ४० लाख, ल्याण्डफिल्ड साइट निर्माणका लागि ५० लाख, विपत व्यवस्थापनतर्फ २५ लाख, महिला स्वयमसेवक प्रोत्साहनतर्फ १५ लाख, शैक्षिक तथा पूर्वाधार सुधार कार्यक्रमतर्फ १ करोड ५० लाख, नगर कृषि प्रवर्द्धनका लागि ३५ लाख रुपैयाँ विनियोजन गरिएको छ।
यस्तै, डकर्मी, सिकर्मी तालिमलगायतका क्षमता विकास कार्यक्रमका लागि १० लाख, ४८ अध्ययन अवलोकन भ्रमणका लागि ५ लाख, लागुऔषध नियन्त्रण तथा सडक बालबालिका व्यवस्थापनका लागि १० लाख, बजार व्यवस्थापन तथा नियमनका लागि ५ लाख रुपैयाँ विनियोजन गरिएको छ।
वीरेन्द्रनगर नगरपालिकाको पाँचौं नगरसभा। तस्विरः दिपकजंग शाही/सेतोपाटी