असार १० गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुपर्ने कानूनी प्रावधान अनुसार अधिकांश स्थानीय तहले मंगलबार आगामी आर्थिक वर्ष ०७६/७७ को बजेट ल्याएका छन्।
केही स्थानीय तहले जनप्रतिनिधीबीचको विवाद तथा तयारी गर्न नभ्याएको भन्दै बजेट प्रस्तुत गर्न सकेनन्। रुपन्देहीका अधिकांश स्थानीय तहले मंगलबार नै बजेट प्रस्तुत गरेका छन्।
एक उपमहानगरपालिका, पाँच नगरपालिका र १० गाउँपालिका गरी १६ स्थानीय तह रहेको रुपन्देहीका लुम्बिनी सांस्कृतिक नगरपालिका र ओमसतिया गाउँपालिका बाहेकले मंगलबार बजेट प्रस्तुत गरे।
लुम्बिनी सांस्कृतिक नगरपालिकाले गत वर्ष पनि प्रमुख र उपप्रमुखबीचको विवादका कारण समयमा बजेट र नीति कार्यक्रम प्रस्तुत गर्न सकेको थिएन। ओमसतिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज आचार्यले पनि आफू केही दिनअघि मात्र गाउँपालिकामा आएको र तयारी नपुगेको कारण बजेट प्रस्तुत गर्ने मिति शुक्रबारका लागि सारिएको बताए।
तथ्याङ्क अनुसार आगामी वर्ष रुपन्देहीका सम्पूर्ण स्थानीय तहहरुको बजेट साढे ११ अर्ब भन्दा बढीको छ। सबैभन्दा धेरै बुटवल उपमहानगरपालिकाले १ अर्ब ९० करोडको बजेट प्रस्तुत गरेको छ। बुटवलले गत वर्ष १ अर्व ६६ करोड ५० लाखको बजेट प्रस्तुत गरेको थियो।
त्यसैगरी तिलोत्तमा नगरपालिकाले १ अर्ब ५४ करोड ३९ लाख १० हजारको बजेट प्रस्तुत गरेको छ। तिलोत्तमा नगरपालिकाले पनि चालु वर्ष भन्दा १९ करोड बढीको बजेट प्रस्तुत गरेको छ। तिलोत्तमाले गतवर्ष १ अर्ब ३५ करोड ३२ लाखको बजेट प्रस्तुत गरेको हो।
चालु वर्षका लागि २ अर्ब ४९ करोड ८१ लाखको बजेट ल्याएको सिद्धार्थनगर नगरपालिकाले भने आगामी वर्षको लागि आधाभन्दा कमको बजेट प्रस्तुत गरेको छ। आगामी वर्षको लागि सिद्धार्थनगर नगरपालिकाले १ अर्ब १८ करोडको बजेट प्रस्तुत गरेको हो।
चालु आर्थिक वर्षका लागि एसियाली विकास बैंक अन्तर्गत नगरमा संचालित आरयूडिपी र आइयूडिपी योजनामा अनुदान वापत करिब ५० करोड रुपैयाँ थप भएपछि सिद्धार्थनगरको बजेट धेरै आएको नगरपालिकाले जनाएको छ।
त्यस्तै चालु वर्षमा ५९ करोड ५९ लाखकै बजेट ल्याएको सैनामैना नगरपालिकाले आगामी वर्षको लागि ९० करोड ८५ लाख ५१ हजारको र देवदह नगरपालिकाले चालु वर्षको लागि ६० करोडको बजेट ल्याएकोमा आगामी वर्षको लागि ७५ करोड ८७ लाखको प्रस्तुत गरेको हो।
चालु वर्षका लागि ५२ करोड ८९ लाखको बजेट प्रस्तुत गरेको लुम्बिनी सांस्कृतिक नगरपालिकाले बजेटको सिलिङ बढाएर ल्याउने तयारी गरेको जनाएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले केही तयारी नपुगेका कारण ५७ करोडको हाराहारीमा बजेट ल्याउने तयारी भएको जानकारी दिए।
चालु वर्ष भन्दा आगामी वर्षका लागि गाउँपालिकाहरुले पनि बजेटको आकार बढाएर प्रस्तुत गरेका छन्। गाउंपालिकातर्फ सबैभन्दा धेरै मायाँदेवी गाउँपालिकाले ५९ करोड ९४ लाख ४७ हजारको बजेट ल्याएको छ। मायांदेवीले चालु वर्षका लागि ४७ करोड ८७ लाखको बजेट प्रस्तुत गरेको थियो।
त्यस्तै कञ्चन गाउँपालिकाले ५८ करोड ३२ लाख ९१ हजार, गैंडहवा गाउँपालिकाले ५६ करोड १५ लाख ३ हजार, सियारी गाउँपालिकाले ५३ करोड ६६ लाख ७९ हजार र सम्मरीमाई गाउँपालिकाले ४७ करोड ३१ लाख ८८ हजारको बजेट प्रस्तुत गरेका छन्।
शुद्धोधन गाउँपालिकाले ४६ करोड, कोटहीमाई गाउँपालिकाले ४५ करोड ४४ लाख २८ हजार र मर्चवारी गाउँपालिकाले ४५ करोडको बजेट प्रस्तुत गरेको छ। १३ गतेको लागि बजेट प्रस्तुत गर्ने तयारी गरेको ओमसतिया गाउँपालिकाले आगामी वर्षको लागि ४० करोड हाराहारीको बजेट ल्याउने प्रमुख प्रशासकीय अधिकृत आचार्यले जानकारी दिए।
स्थानीय तहहरुले आन्तरिक श्रोतहरुलाई बढाउँदै र प्रदेश सरकारबाट प्राप्तसशर्त अनुदान समेत बढेर आएकाले बजेटको आकार बढाएको बताएका छन्। सबैजसो स्थानीय तहले शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि र पूर्वाधार विकासलाई बजेटमा प्राथमिकता दिएका छन्।